जेष्ठ २४, २०८२ शुक्रबार

साउनमा सुकुम्बासीलाई धनीपूर्जा दिन्छौँ : मेयर बुढाथोकी

नापजाँच सुरु
मेचीनगर । मेचीनगर नगरपालिकाले सुकुम्बासीहरुलाई धनीपूर्जा दिनका लागि आजदेखि नापजाँच सुरु गरेको छ । मेचीनगर नगरपालिका अन्तरगतको भूमि समस्या समाधान आयोगले आज वडा नम्बर १३ को फुलबारी टोलका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जग्गाको नापजाँचको उद्घाटन गरेर सुरुवात गरेका छन् । निस्सा दिइएकाहरुको मेसिनबाट जग्गा नापजाँच गरेर धनीपूर्जा दिने गरी तयारी गरिएको उनले बताए । आगामी साउन सम्ममा यकिन गरिएकालाई धनीपूर्जा वितरण गरिने योजना रहेको उनको दावी छ ।

कार्यक्रममा नगरपालिकाका भूमि समस्या समाधान आयोगका फोकल पर्सन अनन्तप्रकाश वस्तीले स्वागतसहित पन्ध्र वटै वडामा कन्ट्रोल प्वाइन्ट राखिएको र सबैमा नापजाँच सकेर आगामी साउनमा धनीपूर्जा वितरण गर्ने गरी लागिएको जानकारी दिए ।

मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य रिता परियार, निवर्तमान कार्यपालिका सदस्य निरु परियार, वडा सदस्य, कर्मचारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव पवित्रा बस्नेतले गरेकी थिइन् ।

वडा नम्बर १३ का २३६ जनाको निवेदन नगरपालिकामा प्रविष्ट गरिएको छ । जसमा भूमिहिन दलित १३ जना, भूमिहिन सुकुम्बासी १६० जना तथा अव्यवस्थित बसोबासी ६३ जना रहेका छन् । त्यसमध्ये फुलबारी टोलका २२ वटा घर परिवारको ७ कठ्ठा जग्गामा बुधबारदेखि नापजाँच सुरु गरिएको छ । २२ जना मध्ये ९ जनाको कागजात पूरा नभएको बताइएको छ ।
भूमि समस्या समाधान आयोग शाखा प्रमुख सर्वेक्षक रामनारायण कुमार शर्मा, अमिनहरु सन्तोष रम्तेल र वेदकुमार यादव नापजाँचका लागि प्राविधिक रुपमा खटिएका छन् । सर्वेक्षक शर्माले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको हकमा शहरी क्षेत्रमा १३० र ग्रामीण क्षेत्रमा ३४० वर्गमिटर तथा अव्यवस्थित बसोबासीहरुले शहरी क्षेत्रमा १३० र ग्रामिण क्षेत्रमा एक हजार वर्गमिटर क्षेत्रफल पाउने बताए ।

उनका अनुसार आवासका लागि १३० र ३४० वर्गमिटर भन्दाबढी जग्गा ओगटेमा राजश्व लाग्ने छ । १३० र १००० वर्गमिटर ओगटेकाले आवास वा कृषि सबैमा राजश्व तिर्नु पर्नेछ ।

मेचीनगरमा ५ हजार १७१ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको निवेदन प्रविष्ट भएको छ । जसमा भूमिहिन दलित ३१० जना, भूमिहिन सुकुम्बासी १८६८ जना तथा अव्यवस्थित बसोबासीहरु २९९३ जना रहेका छन् ।

यसैगरी एक हजार १४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको कागजात अपुरो रहेको नगरपालिकाले जनाएको छ । कार्यालयमा आएका निवेदनमा प्रविष्ट हुन बाँकी रहेका एक हजार १४ जनामा भूमिहिन दलित १५६ जना, भूमिहिन सुकुम्बासी २४१ जना तथा अव्यवस्थित बसोबासीहरु ६१७ जना रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बुधबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]