स्वास्थ्य सेवासँगै नसर्ने रोग विरुद्ध शिवसताक्षीको अभियान तीब्र
शिवसताक्षी सेरोफेरो
मनकुमार गदाल
नगरवासीको स्वास्थ्य समस्याप्रति संवेदनशील रहेको शिवसताक्षीले सामान्य तय सर्ने, नसर्ने, मौसमी, जटिल प्रकृतिको रोगहरुको शुरुवाती चरणको परीक्षण र जनचेतना फैलाउने लगायतका कामलाई तीब्रता दिदैं आएको छ । झापाको शिवसताक्षी नगर सरकारले प्राथमिक स्वास्थ्य केन्द्र ,स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्र मार्फत स्थानीयवासीको घर गाउँमा पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा दिइरहेका छन् । शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष ०८१÷८२ मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा आङ खस्ने समस्या पहिचान शिविर सम्पन्न गरिसकेको छ । गत फागुन २६ र २७ गते शिवसताक्षी ९ को शहरी स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न गरेको जनाएको छ ।
स्थानीय स्रोत साधान प्रयोग, स्वास्थ्य संस्थामा भएको जनशक्ति परिचालन गरेर, सिटी सफारीबाट माइकिङ, सामाजिक सञ्जाल , महिला समुह लगायतका सूचना विधिबाट प्रचार गर्दै शिविर सम्पन्न गरेको थियो । ९ महिनाभित्रका सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण, सरकारी र सामुदायिक विधालयका विधार्थीहरुलाई जुकाको औषधी खुवाउने, डेगु नियन्त्रण सम्बन्धी विधालय शिक्षा, क्षयरोग मुक्त पालिका अभियान, नवजात शिशु तथा बाल्यकालिन पोषण सेवा र कुष्ठरोग नियन्त्रण सेवा लगायतका गतिविधि नगरपालिकाको स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थाले गरेको स्वास्थ्य शाखा प्रमुख रोशन अधिकारीले जानकारी दिनुभयो ।
शिवसताक्षी ९ मा भएको महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा आङ खस्ने समस्या पहिचान शिविरमा परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सर शंका लागेको ४ जना, शिवसताक्षी वडा नं.४ को स्वास्थ्य चौकी पाँचगाछीमा ८६ जना, महिलाको आङ खस्ने समस्या वडा नं.९ मा ४ जना भेटिएको थियो । सोही शिविरमा परीक्षण गर्दा महिलाको पाठेघरमा संक्रमण भएका महिलाहरु वडा नं.९ मा २० जना र वडा नं.४ मा ७ जना भेटिएको नगरपालिकाको स्वास्थ्य शाखाको नर्सिङ निरीक्षक निर्मला सिग्देलले जानकारी दिनुभयो । शिवसताक्षी ९ कै ४ जना महिलाहरुको आङ खस्ने समस्या शिविरमा परीक्षण गर्न सहभागी चिकित्सकको टोलीले पहिचान गरेपछि उनीहरुको आङ खस्ने समस्याको निराकरण गर्न रिङ पेसरी राखी उपचार गरिएको नर्सिङ निरीक्षक सिग्देलले बताउनुभयो ।
महिला दिदी बहिनीहरुको पाठेघरको संक्रमण हँुदा तल्लो पेट दुख्ने, घाउ हुने ,सेतो पानी बग्ने र गन्हाउने लक्षण देखिएको शिविरमा स्वास्थ्य परीक्षणमा सहभागी चिकित्सकहरुले जनाएका छन् । शिविरमा कुल १ सय ६ जना महिला तथा किशोरीहरुको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरभित्रका स्वास्थ्य संस्थामा उपचार हुन सम्भव नभएका ती संक्रमित महिलाहरुलाई थप उपचारका लागि दमक अस्पताल रेफर गरिएको नर्सिङ निरीक्षक सिग्देलले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा गर्भवती महिलाको भिडियो एक्सरे सेवा जाँच सेवा पनि निशुल्क गरिदै आएको छ । विपन्न गर्भवती महिलाको आवश्यकतालार्ई ध्यानमा राखेर ४ पटक भिडियो एक्सरे सेवा दिइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । भिडियो एक्सरे गर्नुको कारणहरु महिलाको सुरक्षित गर्भपतन सेवा दिन, पहिलो पटक १२ हप्ताभित्र बच्चा बसेको स्थान थाहा पाउन, मुटुको गतिविधि थाहा पाउन, दोस्रो पटक १२ ह्प्तादेखि १८ हप्ता सम्म मुख्य अंगको विकास भए नभएको जानकारी राख्न, मुख्य जन्मजात हुने समस्या पहिचान गर्न आवश्यकता रहेको छ । यसैगरी २८ हप्तामा बच्चाको सालको अवस्था ,बच्चाको चाल थाहा पाउन ,बच्चाको वरपरको पानीको मात्राको थाहा पाउन, ३६ देखि ३८ हप्ता सम्म बच्चाको बसाई सुल्टो उल्टो र प्रसुतिको तयारी बारेमा बुझ्न बुझाउन भिडियो एक्सरे ४ पटक गर्नुपर्ने नर्सिङ निरीक्षक सिग्देलले बताउनु भयो । झापाको शिवसताक्षीलाई क्षयरोग मुक्त पालिका बनाउने उद्देश्यले नगरपालिकाले क्षयरोग मुक्त कार्यक्रम दुई वर्षअघि देखि सञ्चालन गर्दै आएको छ ।
सन् २०३५सम्म मुलुकबाट क्षयरोग निवारण गर्ने योजनाका साथ झापाको ३ नगरपालिकामा कार्यक्रम सञ्चालन गरी रहेको शिवसताक्षी नगरपालिकाको क्षयरोग मुक्त कार्यक्रम अधिकृत साहारा सेन्चेउरी बताउनु भयो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र काठमाण्डौको सहयोगमा सञ्चालित कार्यक्रम मेचीनगर र विर्तामोडमा चौथो वर्षमा चलिरहेको छ । क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत गएका महिनाहरुमा क्षयरोग मुक्त कार्यक्रमको सुक्ष्म योजना विश्लेषण गरिएको थियो । गत जेठ १९ गते क्षयरोग मुक्त कार्यक्रमको योजना निर्माण वडा नं. १ देखि ११ वडा सम्मकै सकिएको कार्यक्रम अधिकृत सेन्चेउरीले बताउनु भयो ।
क्षयरोग मुक्त कार्यक्रम मार्फत क्षयरोगका विरामी पहिचान, व्यवस्थापन, आर्थिक समस्या पहिचान, रोगको निदानका लागि सेवा सहयोग गरिने परियोजनाले जनाएको छ । जेठको अन्तिम सातासम्म घरदैलो कार्यक्रम गरी क्षयरोगका विरामी पहिचान गर्ने स्वास्थ्य शाखाले जनाएको छ । प्रत्येक वडा–वडामा क्षयरोग निवारण सम्वन्धी अभिमुखीकरण गर्ने कार्यक्रम अधिकृतको भनाई छ । क्षयरोग एक सरुवा रोग हो । विरामीले एक पटक हाछ्यू गर्दा, खोक्दा निस्किएको थुकले २५ जना निरोगी व्यक्तिलाई रोग सार्न सक्ने क्षमता रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । क्षयरोगका विरामीले जथाभावी थुक्न, खकार फाल्न नहुने, स्वास्थ्य ब्यक्ति भन्दा टाढा रहनुपर्ने स्वास्थ्यकर्मीको सल्लाह छ ।
्रत्येक वडामा वडा अध्यक्षको अध्यक्षतामा क्षयरोग मुक्त वडा अभियान सफल पार्न वडा समिति गठन गरी सकेको छ । यस समितिमा सदस्यहरु वडा समिति सदस्यहरु,सो वडाको महिला स्वयसेविका,सोही स्थानमा रहेको विधालयको प्रधानध्यापक ,बजार ब्यवस्थापन समितिका प्रतिनिधि,निजी स्वास्थ्य संस्थाका प्रतिनिधि र सोही वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रको इन्चार्ज सदस्य सचिव रहने ब्यवस्था रहेको छ ।
शिवसताक्षी १ देखि ११ वडासम्म नै वडा स्तरीय समिति गठन भइसकेको नगरको स्वास्थ्य शाखाले जनाएको छ । आउँदो असारको पहिलो सातासम्ममा क्षयरोग मुक्त नगर अभियान सफल पार्न नगर स्तरीय समिति गठन गरी सक्ने कार्यक्रम अधिकृत सेन्चेउरीले जानकारी दिनुभयो । नगरस्तरीय समिति गठन गर्दा नगर प्रमुख संयोजक, उपप्रमुख सहसंयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य, वडाध्यक्ष ज्यूहरु, शिक्षा शाखा प्रमुख, आधारभूत स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाको प्रमुख सदस्य रहने ब्यवस्था रहेको छ ।
शिवसताक्षी ४ स्थित जनता बजारमा रहेको स्वास्थ्य चौकी पाँचगाछीले सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण, विधार्थीहरुलाई जुकाको औषधी खुवाएको छ । मौसमी रोगको उपचार, गाउँघर क्लिनिक र नवजात शिशुको अपाङ्गता जाँच लगायतका सेवा दिइरहेको स्वास्थ्य चौकी पाँचगाछीकी प्रमुख रेशिका श्रेष्ठले बताउनु भयो । ९ महिनाभित्रका सुत्केरी आमाहरुलाई गत बैशाखमा पोषण सामग्री वितरण गरेको छ । वडा नं.४ का ३२ जना सुत्केरी आमाहरुलाई एक सुत्केरीलाई घ्यू, मह र राजमा लगायतका सामग्री प्रदान गरेको स्वास्थ्य चौकी पाँचगाछीले जनाएको छ ।
नवजात शिशु र सुत्केरी आमाको जाँच गर्नुको साथै नवजात शिशुमा हुने जन्मजात अपाङताको जाँच गरिन्छ । टाउँको ठूलो हुने, खोडे भएको ,जिब्रो,ओठ काटिएको, दिशा घरको पहिचान गरी त्यस्तो समस्या आएमा नगरपालिकाको अपाङता शाखा समक्ष सिफारिस गर्ने गरेको प्रमुख श्रेष्ठले बताउनु भयो । शिशु र आमाको अकालमा मृत्यु नहोस भनेर सुत्केरी महिलाहरुको घरैमा गएर घाउ सफा गरिदिने, टाका खोली दिने र भिटामिन ए क्याप्सुल खुवाउने गरेको अभिलेख पल्टाउदै प्रमुख श्रेष्ठले बताउनु भयो । हरेक गर्भवती महिलाको गर्भ जाँच गरिने गरेको छ । जन्मजात बच्चामा भएको समस्या बेलैमा पहिचान हुन सके उनीहरुको उपचार हुन सक्ने भएकोले आमा र नवजात शिशुको जाँचमा जादा ती समस्या पहिचान गर्ने गरेको उहाँले बताउनुभयो ।
सोही वडामा रहेको सरकारी ६ वटा र निजी २ वटा विधालयका विधार्थीहरुलाई गत मंसिर महिनामा १ हजार १० विधार्थीलाई जुकाको औषधी खुवाएको विवरण रहेको छ । मौसम अनुसारका विरामीहरु उपचारका लागि आउने गरेको छन् । सिहदरवारको सेवा गाउँ–गाउँमा भन्ने नारालाई आत्मसात गर्दै हिलोले हात खुट्टा खाएको जस्ता समस्या लिएर स्वास्थ्य चौकीमा उपचारको लागि आउनुहुन्छ । उनीहरुको निशुल्क उपचार गर्ने र निशुल्क औषधी दिने गरेको श्रेष्ठले विरामी जाँच गर्दै बताउनु भयो ।
पखला लागेका, पेट दुखेको, बान्ता आउने, उच्च ज्वरो आउने र रगत पिसावको संक्रमण जस्ता समस्या सामधान गरि पठाउने गरेको, उपचार हुन नसके प्राथमिक स्वास्थ्य केन्द्र, दमक अस्पताल आदिमा रेफर गर्ने गरेको जानकारी प्राप्त भएको छ । क्षयरोग निवारण सम्वन्धी वडा नं. ४ को त्रिभुवन माध्यमिक विधालय र पाथिभारा आधारभूत विधालयमा विधार्थीहरुलाई जनचेतना मुलक कार्यक्रम गरेको थियो । गाउँघर क्लिनिक कार्यक्रम पनि गरिएको जनाइएको छ ।
स्वास्थ्य सेवा दिई रहदा स्वास्थ्य चौकी पाँचगाछीमा फर्निचरको अभाव, शुद्ध खानेपानीको अभाव आदि रहे पनि सम्वन्धी वडा सरकार र नगर सरकारले ध्यान नदिएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।
साविक शिवगञ्ज गाविस हालको शिवसताक्षी ६ न.वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउनेहरुमा शिवसताक्षी नगरका मात्रै नभएर गौरीगञ्ज ,गौरादहका केही भूभागका र कमल गाउँपालिकाका केही भूभागका विरामीहरु सेवा लिन आउने गरेका छन् । क्षयरोगको खकार परीक्षणका लागि दमक लगायतका ठाउँबाट विरामीहरु सेवा लिन आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज शिवलाल सिंह राजंवंशीले जानकारी दिनु भयो ।
विरामीको खकार परीक्षण गरेपछि क्षयरोग (टिबी ) भएको पुष्टी भएमा प्रत्यक्ष स्वास्थ्यकर्मी ,चिकित्सकको निगरानीमा औषधी खुवाउन सरकारी स्वास्थ्य संस्थालाई सिफारिस गर्ने पनि जनाइएको छ । यसलाई डस विधि भनिन्छ ।
दुइ मेडिकल अधिकृत रहेको यस स्वास्थ्य केन्द्रमा ४ पारामेडिक्स लगायतका जनशक्तिले विरामीलाई सेवा दिइरहेका छन् । स्वास्थ्य केन्द्रले दैनिक ओपीडी, ल्याव सेवा, वीमा सेवा, क्षयरोग निवारण, कुष्ठरोग नियन्त्रण ,परिवार योेजना कार्यक्रम, निशुल्क औषधी वितरण, प्रसुति सेवा (२४ घण्टे), गर्भवती जाँच, बाल स्वास्थ्य कार्यक्रम, नियमित खोप, गाउँघर क्लिनिक, झाडापखाला नियन्त्रण , पोषण कार्यक्रम, औलो तथा कालाज्वार नियन्त्रण, निमोनिया, झाडा पखला, कुपोषण,जडिस र एकीकृत बाल रोग लगायतका सेवा दिइने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज शिवलालले जानकारी दिनुभयो ।
यस केन्द्रमा मेडिकल अधिकृतहरु डाक्टर देवशंकर पासवान र डाक्टर पंकज कुमार रामले विरामीलाई सेवा दिइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
उमेर अनुसारको तौल नबढ्नु उचाई अनुसारका तौल नहुँदा बच्चामा कुपोषण हुने गर्छन् । कुपोषणको शिकार गरीव, विपन्न र पिछडी पारिएको समुदायको बालबालिका भएको प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङमा उल्लेख रहेको इन्चार्ज राजवंशीले बताउनु भयो । शिवसताक्षी नगरपालिकामा कडा कुपोषणको समस्या सामधान गर्न विशेष कार्यक्रम सञ्चालन गरिएको छ । नगरमा कुपोषण न्यूनीकरण प्रयास सम्भव भएन भने प्रादेशिक अस्पताल भद्रपुरसँग समन्वय र सहकार्य गरी आमा र कुपोषित बच्चालाई उपचार गर्ने बताइएको छ ।
शिवसताक्षी ६ कै विमला माझीले २ वर्षीया विविसा माझीलाई ६ महिनाको क्षयरोग (टिबी) को औषधी स्वास्थ्यकर्मीको निगरानीमा खुवाएपछि वच्चाको स्वास्थ्यमा सुधार आएको बताउनुभयो । बच्चालाई टिभीसँगै कुपोषण भएको रहेछ । पोषण आहारा खुवाएको पछि बच्चा नमोटाए पनि तन्दुरुत भएको विमलाले जानकारी दिनुभयो । औषधी लिन धेरै समय कुर्नपर्ने , स्वास्थ्यकर्मीको सेवा लिन आउने प्रति सन्तोष पूर्ण ब्यवहार नभएको विमलाको गुनासो छ ।
व्यवस्थित इर्मेरजेसी कक्ष, टिभी,कुष्ठरोग निवारण कक्ष, नहुदाँ कठिनाईकाबीच विरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले बताएका छन् । प्रत्येक साताको आइतवार र शुक्रवार सरदर २ सय ५० बढी विरामीलाई सेवा दिनुपर्छ ।
अन्य दिन १ सय ५० जति विरामीले सेवा लिन आउने गरेको स्वास्थ्य केन्द्रका सिनियर अहेव नन्द केशर ताजपुरियाले जानकारी दिनुभयो । सुगर,प्रेस,दम,मुटुका रोगी ,थाइराइड र मानसिक रोगका विरामीहरु सेवा लिन आउने गरेको अहेव ताजपुरियाले बताउनु भयो ।
शिवसताक्षीको यस स्वास्थ्य केन्द्रमा अत्याधिक विरामीको चाप रहेको छ । सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञय सेवाको माग धेरै छ । यसै परिसरमा निर्माणधिन शिवसताक्षाी नगर अस्पताल शिवसताक्षी ६ मा रहेको छ ।
शिवसताक्षी नगर अस्पताल २ विगाहा क्षेत्रफल जतिमा निर्माण सम्पन्न भएको छ । यो १५ शैयाको सुविधा सम्पन्न पक्की भवन सहितको अस्पताल निर्माणको काम सकिएको नगरपालिकाले जनाएको छ । ०७८ असार १३ गतेवाट निर्माण शुरु भएको अस्पतालको भवन निर्माण ओमसाइराम – सतासी जेभीले १० करोड ६६ लाख ९३ हजार ६ सय ३८ रुपैयाँको लागतमा निर्माण गरी सकेको शिवसताक्षी नगरपालिकाका इन्जीनियर उत्तम बरालले जानकारी दिनुभयो । निर्माण व्यवसायी ओमसाइरामले असार मसान्तसम्म हस्तान्तरण गरिसक्ने बुझिएको छ ।
अहिले सो भवनमा रङरोगन, विजुली वायरिङ लगायतका काम भइरहेको छ । आउदो आर्थिक वर्ष ०८२-८३ बाट चिकित्सक सहितको शिवसताक्षी नगर अस्पतालको सेवा सञ्चालन हुने जानकारी प्राप्त भएको सव इन्जीनियर पेरिस घिमिरेले बताउनुभयो । गत ०८१ असारमा भवन निर्माणको म्याद सकिएपछि ०८२ असार २५ गते सम्मको म्याद थपिएको नगरपालिकाको योजना शाखाले जनाएको छ । नगर अस्पतालको भवन निर्माणका लागि १५ करोड ५८ लाख ३८ हजार १ सय ७० रुपैयाँको स्टमेन्ट पेश गरिएको थियो । निर्माण सम्पन्न भएको पक्की भवनको भुइतलामा ४० कोठा र माथिल्लो तलामा १८ कोठा र एक कर्मचारी आवास गृह रहेको घिमिरेले बताउनुभयो । अस्पताल सुचारु भएपछि मेडिकल अधिकृत (डाक्टर) नर्स तथा स्वास्थ्यकर्मीहरु सहितका जनशक्तिले अन्तरंग र बहिरंग सेवा दिने छन् ।
यस अस्पतालले शिवसताक्षी, छिमेकी पालिकाहरु गौरादह, गौरीगञ्ज, झापा गा.पाका बासिन्दाहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने छ । शिवसताक्षी नगरभित्रका बासिन्दाहरु जो क्यान्सर रोगबाट पीडितहरुलाई क्यान्सरको डाइलोसिस गर्न मासिक ५ हजार रुपैयाँ प्रदान गर्ने गरेको स्वास्थ्य शाखाले जनाएको छ । चालु आर्थिक वर्ष ०८१-८२ को पुस सम्मको १ सय ९१ जना विरामीलाई आर्थिक सहायता प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख रोशन अधिकारीले जानकारी दिनुभयो । बाँकी महिनाहरुको सहायता रकम संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएपछि प्रदान गर्ने बताइएको छ ।