कृषि सामग्री वितरणमा एक कदम अगाडि कनकाई, आत्मनिर्भरता तर्फ लम्कदै
कनकाई सेरोफेरो
झापाको कनकाई नगरपालिकाले सुरुदेखि कृषि क्षेत्रमा प्राथमिकता दिएपछि अहिले आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नगरपालिकाले कृषकलाई विभिन्न कृषि सम्बन्धी तालिम दिदैं प्रोत्साहन स्वरुप निःशुल्क तथा अनुदानमा कृषि सामग्री उपलब्ध गराउँदै आएको छ ।
नेपाल कृषि प्रधान देश भएकाले पनि कृषिलाई प्राथमिकताका साथ पालिकाको स्रोत र साधनले भ्याएसम्म किसानलाई कृषिका लागि उपकरण, तालिम, बिउबिजन, मल बितरण लगायतका कार्यक्रम गर्दै आएको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
२०७४ सालमा कनकाई नगर धान उत्पादनमा मात्र आत्मनिर्भर रहेको बताउँदै अहिले धानसँगै, मकैै, तोरी, जैविक तरकारी, दूध उत्पादन जस्ता कुरामा क्रमशः आत्मनिर्भर बन्दै गएको नगर प्रमुख पोखरेलले बताए ।
‘हाम्रो देशमा रोजगार छ भने कृषिमा मात्र हो’ नगर प्रमुख पोखरेलले भने ‘रोजगार प्रवद्र्धन गर्ने र कृषक र नागरिक समृद्ध हुने कृषि नै आधार भएकाले नगरले कृषिलाई प्राथमिकतामा राखेका छ ।’ उनका अनुसार कृषिलाई व्यवसायिक बनाउन सके मात्र स्वरोजगार बन्न सकिन्छ ।
नगरमा कृषि मात्र नभएर स्वास्थ्य, शिक्षा, भौतिक निर्माण योजना विकास लगायत सवै क्षेत्रलाई समेटेर जनप्रतिनिधिहरुले काम गर्नुपर्ने भएपनि नगरले कृषिलाई प्राथमिकता दिइरहेको उनको भनाई छ ।
नगरमा रहेका ९ वटा वडामा त्यहाँको माटो अनुरुप बालीका लागि पकेट क्षेत्र घोषणा गरेर धानखेती, मकैखेती, तोरी खेती, तरकारी खेती भइरहेको उनले जानकारी दिए । आगामी दिनमा गहुँखेतीलाई पनि पकेट क्षेत्रका रुपमा उत्पादन गरिने उनले बताए । ‘कृषकले उत्पादन गर्ने प्रायः सबै क्षेत्रलाई समेटेर कृषि प्रवद्र्धनमा लागेको छौं’ नगर प्रमुख पाखेरलले भने तर, ती उपकरणहरुले कृषकलाई फाइदा नहुने भए त्यस्तालाई हटाउँदै लगिएको छ ।’ अघिल्ला बर्षहरु सिंचाईका लागि वितरण गरिएका मोटरहरु राम्रो नभएकोले यस बर्ष नगरबाट अहिलेसम्म कुनै पनि कृषि उपकरणहरु नलगेकालाई अझ सहज ढङ्गले अलिक मूल्य बढी नै भए पनि राम्रो, गुणस्तरीय सामग्री उपलब्ध गराउने कोशिस गरेको उनको भनाई थियो ।
कृषिलाई व्यवस्थित गर्न सके पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाहरु क्रमशः घट्दै जाने भएकाले पनि कृषिलाई प्राथमिकतामा राखेर नगरले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यस्ता छन्, कृषि कार्यक्रम
कनकाई नगरपालिकाको कृषि शाखाले कृषकलाई तालिम, साझेदारीमा उपकरण, बिउबिजनमा अनुदानलगायतका कार्यहरु गर्दै आएको छ । नगरपालिकाको कृषि शाखाले नगरभित्रका कृषकलाई प्रोत्साहन गर्न बिभिन्न कृषिमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो । त्यसैगरी बिभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
नगरले यस चालु आर्थिक बर्षमा कृषि शाखा अन्तरगत च्याउ र मौरी प्रवद्र्धन कार्यक्रम, सानासतह सिंचाई प्रवद्र्धन तथा मर्मत, नगरस्तरीय तरकारी उत्पादन सहयोग कार्यक्रम, माग र औचित्यका आधारमा कार्यक्रम, नगरस्तरीय तरकारी उत्पादन सहयोग कार्यक्रम, कारिताससँगको कृषि साझेदारी कार्यक्रम, धान रोप्ने नविनतम प्रबिधिको औजार वितरण, साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम, अन्न बैंक प्रयोजनका लागि प्रगति पथ कृषि सहकारीको निर्मित गोदाम मर्मतजस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त बजेट अन्तरगत मकैबाली प्रवद्र्धन कार्यक्रमसमेत हुँदै गरेको कनकाई नगरपालिका कृषि शाखा प्रमुख समिता सोतीले जानकारी दिइन् ।
च्याउ र मौरी प्रवद्र्धन कार्यक्रमका लागि तीन लाख रुपैयाँ छुट्याएर दुई वटा मौरी पालन उद्योगलाई ५० प्रतिशत अनुदानमा मौरी पालन सामाग्री दिएको छ । कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा २२ जना कृषकलाई एक दिने व्यवसायी च्याउ खेती प्रविधि सम्बन्धी तालिमसमेत दिइएको कनकाई नगर कृषि शाखाले जानकारी दिएको छ ।
सानासतह सिंचाई प्रवद्र्धन तथा मर्मतका लागि ४ लाख रुपैयाँ छुट्याएर बिरिङ मुल पैनी जल उपभोक्ता संस्थासँग सम्झौता गरी ५ प्रतिशत लागत साझेदारीमा सिंचाई कुलो मर्मत भइरहेको छ ।
माग र औचित्यका आधारमा कार्यक्रमका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । बिउविजन खुद्रा बिक्रेतालाई इजाजत पत्र सम्बन्धी तालिम अन्तरगत सहकारीका प्रतिनिधि तथा व्यवसायीहरु गरी ३२ जना सहभागीहरुलाई बिउबिजन बिक्री बितरणका लागि इजाजत पत्र सम्बन्धी तालिम दिइएको थियो । मागको आधारमा सञ्चालन गरिने कार्यक्रम अन्तरगत कोटीहवन कृषि सहकारी कनकाई–४ लाई छनौट गरी काम अघि बढाइएको छ ।
नगरस्तरीय तरकारी उत्पादन सहयोग कार्यक्रमका लागि १० लाख छुट्याएर कनकाई–१ मा जैविक तथा प्राङ्गारिक तरकारी उत्पादन नगरस्तरीय कृषक समुहलाई आलुको बिउ, मल्चिङ प्लाष्टिक, तरकारीको बिउबिजन, खाद्यत्व ५० प्रतिशत अनुदानमा सहयोग गरिएको छ ।
कारिताससँगको कृषि साझेदारी कार्यक्रमका लागि १४ लाख छुट्याएर जैविक तथा आईपिएम खेती प्रवद्र्धन एवम् प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत प्रत्येक वडामा रहेको आइपीएम समुहका ३६ जना कृषकहरुलाई तालिम दिइएको छ । ९ वटै वडाका ३९६ कृषकहरुलाई समावेश गरी कृषि मेला प्रदर्शनीसमेत सम्पन्न गरिएको छ ।
यस्तै धान रोप्ने नविनतम प्रबिधिको औजार वितरणका लागि ५ लाख रुपैयाँ नगरको कृषि शाखाले छुट्टाएको छ । जसमा ९ वटै वडामा १३ जना कृषकहरुलाई धानको बिउ बितरण गरिएको छ ।
साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमका लागि ६० लाख छुट्याइएको छ । चैते धानको बिउ हर्दीनाथ–१ तीन हजार आठसय ८५.५० केजी र हर्दीनाथ–१ मूल बिउ २७० केजी ११३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा बितरण गरिएको छ भने बाँकी बजेटबाट नेपाल सरकारको सुचिकृत धानको बिउ बितरण गर्ने गरी कनकाई कृषि प्रवद्र्धन समितिसँग सम्झौता गरिएको शाखा प्रमुख सोतीले बताइन् ।
बिउ उत्पादन कार्यक्रम अन्तरगत ७५ प्रतिशत अनुदानमा २ हजार ६०० केजी गहुँको बिउ १९ जना बिउ उत्पादक किसानलाई वितरण गरिनेछ । यसैगरी ५० प्रतिशत अनुदानमा जिङ्क र झारनासक बिषादी र बिउको तयारीका लागि चुटानीको खर्च पनि उपलब्ध गराइएको छ । जैविक प्राङ्गारिक खेती ब्वयस्थापन क्रियाकलाप पनि गरिने बताइएको छ ।
अन्न वैंक प्रयोजनका लागि प्रगति पथ कृषि सहकारीको निर्मित गोदाम मर्मतका लागि ६ लाख ५० हजार रुपैयाँ बिनियोजन गरी अन्न बैंक प्रयोजनका लागि काम सम्पन्न भइसकेको कृषि शाखाका कृषि प्राविधिक शितल अर्यालले जानकारी दिए । ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त बजेट अन्तरगत मकैबाली प्रवद्र्धन कार्यक्रमका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ । जस अन्तरगत पालिका भरी नै सञ्चालित रामपूर कम्पोजिट जातको मकैको बिउ सहयोग क्रियाकलाप अन्तरगत १३० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा मकैको बिउ बितरण गरिएको छ ।
सुक्ष्म खाद्यत्व (जिङ्क र बोरोन) सहयोग क्रियाकलाप अन्तरगत ५० जना कृषकलाई जिङ्क र बोरोनको प्याकेट बितरण गरिएको छ । बिउ अन्न बजारीकरणको लागि भण्डारण, ग्रेडिङ सम्बन्धी सहयोग क्रियाकलाप अन्तरगत ७५ प्रतिशत नगद अनुदानमा कनकाई कृषि प्रवद्र्धन समिति कनकाई–३ सँग सम्झौता गरी काम भइरहेको बताइएको छ ।
त्यस्तै संघीय सरकारबाट प्राप्त सशर्त कार्यक्रम बजेट अन्तरगत कृषि, पशुपंक्षी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रमका लागि ६० हजार रुपैयाँ छुट्याएको भए पनि कार्यक्रम भने हुन नसकेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
किसानको जीवनस्तर उकास्न कृषि साझेदारी कार्यक्रम
कनकाई नगरमा परापूर्वकालदेखि हिउँदे र बर्षे धान खेती मात्र हुने गरेको भए पनि हाल नगरपालिका भएसँगै किसानहरुको जीवनस्तर उकास्न कृषिका लागि साझेदारी साथै पूर्ण निःशुल्क रुपमा कृषकलाई बिभिन्न उपकरण बितरण गरिदै आएको कनकाई–४ का वडाध्यक्ष युवराज चम्लागाईले बताए । उनका अनुसार बोरिङ गरेका कृषकलाई सिंचाई मोटर, गाईभैसी पालन गर्ने किसानलाई कुटी काट्ने मेसिन, करेसाबारी सब्जी खेती गर्नेलाई स्प्रे ट्याङ्कीलगायतका कृषि उपकरणहरु वितरण गरिएको छ । नगरपालिकासँगै वडा कार्यालयले पनि बजेट बिनियोजन गरेर छुट्टै कृषि उपकरणहरु बितरण गरिरहेको वडाध्यक्ष चम्लागाईले बताएका छन् ।
‘अर्गानिक खेती प्रणालीलाई विशेष जोड दिइएको छ’ वडाध्यक्ष चम्लागाईले भने ‘अर्गानिक कृषि उपजहरुलाई सहज बनाउन बजारीकरणकोसमेत ब्यवस्थापन गरिएको छ ।’
कृषिका लागि वडाहरुलाई कृषि जोनका रुपमा परिभाषित गरिएको बताउँदै वडाध्यक्ष चम्लागाईले कनकाई–३ लाई तरकारी जोनको रुपमा परिभाषित गरिएको बताए । उनका अनुसार माटोको परीक्षण गरेर धान जोन, मकै जोन, तरकारी जोन, माछापालन जोनलगायतमा छुट्टाइएको छ । नगरपालिकाको कुल बजेटमा करिव ३ देखि ५ प्रतिशत कृषिका लागि छुट्याइने गरिएको उनको भनाई छ ।
माग र आवश्यकताका आधारमा सिंचाईका लागि मोटर र स्प्रे ट्याङ्की उपकरणहरु वितरण गरिने
कनकाई–७ का वडा सदस्य भगन टुडुले करिव एक वर्ष अघि आएको असिना पानीले कृषकको बालिनालीमा क्षति गरेको र पालिका अन्तरगत वडाले निःशुल्क रुपमा धानको बिउ बितरण गरेको बताए । उक्त प्राकृति प्रकोपका बेला घरमा क्षति पुगेका कृषकलाई अवस्था अनुसार ५ हजार र १० हजारका दरले समेत नगद सहयोग गरेको उनले जानकारी दिए ।
वडाका तर्फबाट कृषकको माग र आवश्यकता हेरेर सिंचाईका लागि मोटर, स्प्रे ट्याङ्की जस्ता उपकरणहरु वितरण गरिने वडा सदस्य टुडुले बताएका छन् ।
वडाले दियो तरकारी खेतीका लागि मल्चिङ
कनकाई नगरपालिका–७ मा जग्गा भाडामा लिएर वि.स. २०५२ सालदेखि लालबहादुर तामाङ (एलवी) र उनका भाई भक्तबहादुर तामाङ मौसमी तरकारी खेती गर्दै आएका छन् । तामाङ दाजुभाईले २ बिगाहा १४ कठ्ठा जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेका छन् ।
उनीहरुले काक्रा, टमाटर, सब्जी खाने खोर्सानी जस्ता तरकारी उत्पादन गर्ने गरेका छन् । भाडाको जग्गामा तरकारी खेती गरेकाले हालसम्म पालिकाले खासै कृषि उपकरणहरु नदिएको उनको गुनासो छ । आगामी दिनमा लिजमा खेती गर्नेहरुलाई पनि सिंचाईका लागि मोटरलगायतका सामाग्री दिने भन्ने सुनेको बताउँदै एलवीले अहिलेसम्ममा वडाले मल्चिङ (जमिनमा बिछ्याउने प्लाष्ट्रिक ) मात्र उपलब्ध गराएको बताए ।
एलबीका अनुसार केही बर्ष अघि नगरपालिकाले उत्कृष्ट तरकारी कृषकका रुपमा दाजुभाईलाई नै ५०÷५० हजार नगद रुपैयाँसहित सम्मान गरेको थियो । आफ्नै लगानी र बिउबिजन साथै जग्गा भाडामा लिएर खेतीपानी गर्नेलाई पनि नगरपालिकाले सिंचाईको लागि मोटर, स्प्रे ट्याङ्की र खनजोत गर्ने उपकरणहरु र बिउबिजन उपलब्ध गराएर सहज हुने उनको भनाई छ । अघिल्ले बर्ष आएको असिना पानीले आफुले गरेको तरकारी खेतीमा ठूलो क्षति भएको बताउँदै यसपाली ४ कठ्ठा जग्गामा काक्रा खेती गरेको ९० कुइटेल काक्रा फलाउन सफल भएको उनले बताए । ९० कुइटेल काक्रा एक लाख ५० हजार रुपैयाँमा बिक्री गरेको र ५० हजार रुपैयाँ खर्च भएको उनको भनाई छ ।
उपकरणका साथमा तालिमको खाँचो
यस्तै कनकाई–३ का नारायण अधिकारीले पहिलो पटक सिंचाईको लागि नगरले ५० प्रतिशत साझेदारीमा मोटर उपलब्ध गराएको बताए । एक बिगाहा १० कठ्ठा जग्गामा धान, मकै, फापर र तोरी खेती गर्दै आएको बताउँदै कृषक अधिकारीले नगरले उपकरणका साथमा खेती गर्ने सीपमूलक तालिम र बिउबिजन उपलब्ध गराएर खेती गर्न सहज हुने बताएका छन् । किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
नगरबाट तालिम लिएपछि उत्पादनमा बृद्धि
कृषक कनकाई–३ राजकुमार उप्रेती
अर्का कनकाई–३ कै कृषक नगरपालिकाबाट दुई वटा तालिममा सहभागी भएको बताए । उनका अनुसार धानको बिउ उत्पादन सम्बन्धी तालिम र मकै रोप्ने तरिकाको तालिम लिएका छन् ।
तालिम लिएसँगै मकै खेतीमा उल्लेखनीय प्रगति भएको उनको भनाई छ । तालिमबाट मकै रोप्दा मल, सिंचाई र रोप्ने तरिका सिकेपछि उत्पादन बृद्धिसँगै काम गर्न पनि सहज भएको उनले बताएका छन् ।
उनले नगरले बिउबिजन उपलब्ध गराउनु पर्ने, कृषिका लागि सहज रुपमा मल उपलब्ध गराउनु पर्ने, अन्य खेतीपातीका लागि पनि सीपमूलक तालिम निरन्तर रुपमा सञ्चालन गर्नु पर्ने, कृषिका लागि उपकरण र प्रयोग गर्ने तरिका निरन्तर रुपमा दिनुपर्ने बताएका छन् । यसै क्रममा नगरले नगरका कृषकलाई सिंचाईका लागि मोटर र मकै छोड्याउने मेशिन बितरण गरेको छ । नगरले ५० प्रतिशत लागत साझेदारीमा माग अनुसार ७६ वटा मोटर र ७२ वटा मकै छोड्याउने मेसिन बितरण गरेको हो ।
कृषकलाई निःशुल्क सिंचाई मोटर वितरण
कनकाई–१ ले पनि कृषकलाई विद्युतीय सिँचाइ निःशुल्क मोटर वितरण गरेको छ । वडाका कृषकलाई सिँचाई सुविधा पु¥याउने उद्देश्यले २३ जना कृषकलाई मोटर वितरण गरेको थियो । वडाध्यक्ष सुशीलकुमार पोखरेलले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदै कृषिमा आत्मनिर्भर बनाउने नीति अनुसार मटर वितरण गरेको बताए ।
उनले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै कृषिको माध्यमबाट आत्मनिर्भर र दिगोपना हुने युवालाई स्वदेशमै टिकाउन र कृषि क्षेत्रको प्रवद्र्धन गर्न जोड दिइएको बताए । वडाध्यक्ष पोखरेलले यस पटक मागको करिब ४० प्रतिशत अर्थात वडाका २३ परिवारलाई मात्रै आवश्यकताका अनुसार उपलब्ध गराएको भन्दै अबको चरणमा सबैलाई पुर्याउन प्रयास गर्ने प्रतिबद्धता जनाए । कृषिका लागि मल, बिउसँगै सिँचाइको समेत उत्तिकै भूमिका हुने भएकाले सिँचाइ मोटर वितरण गरिएको उनले बताए ।
कृषकलाई मल्चिङ्ग पलाष्ट्रिक वितरण
कनकाई नगरपालिका–७ ले पनि वडामा तरकारी खेती गर्ने कृषकलाई मल्चिङ्ग पलाष्ट्रिक वितरण गरेको छ ।
तरकारी खेती गर्ने तीन जना कृषकलाई मल्चिङ्ग प्लाष्ट्रिक वितरण गरिएको वडाध्यक्ष भीष्मभूषण सिटौलाले बताए । व्यवसायीक तरकारी खेती गर्दै आएका नरहरी शिवाकोटी, लाखबहादुर तामाङ र भक्त तामाङलाई तरकारी खेती गर्न पुग्ने गरी ३-३ रोलका दरले मल्चिङ्ग प्लाष्टिक वितरण गरिएको थियो ।
एक रोलले ३ कठ्ठासम्म माटोलाई कबर गर्न सक्ने मल्चिङ्ग प्लाष्टिक प्रयोग गर्नाले उत्पादन बढ्नुका साथै लागत घटाउने, घाम–पानीबाट बचाई माटो चिसियान राख्न मद्दत पुग्ने आवश्यक बस्तु भएकाले कृषकलाई वितरण गरेको उनको भनाई छ ।