जेष्ठ २४, २०८२ शुक्रबार

बालनिकुञ्ज माविमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा ५५५५५५ रुपैयाँको अक्षयकोष स्थापना

शिवसताक्षी –  झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा
स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा बिहीवार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

दाता विष्णुमाया कार्की र परिवारको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापालाई हस्तान्तरण गरिएको छ।

दाता परिवारको तर्फबाट बोल्दै देवराज कार्कीले कोषको व्याजबाट आउने १० प्रतिशत रकम हरेक वर्ष मुलकोषमा थप गरिने बताउनु भयो । उहाँले कोषलाई हरेक वर्ष वृद्धि गर्दै लैजाने उदेश्य रहेको जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले अक्षयकोष स्थापना गर्नु कार्की परिवारको तर्फबाट महत्वपुर्ण काम भएको बताउनु भयो । उहाँले कोषको ९० प्रतिशत व्याज रकमले छात्रवृतिको साथै दिर्घरोगी विद्यार्थीलाई समेत सघाउ पुर्याउने भन्दै प्रशंसा गर्नु भयो । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको मेहनतले नै सामुदायिक विद्यालयमा सुधार आउने उहाँको धारणा थियो ।

अक्षयकोष स्थापना तथा घोषणा कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, शिवसताक्षी नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रकुमार शेर्मा र बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अक्षयकोष स्थापनाको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भयो । बालनिकुञ्ज माध्यमिक विद्यालयमा योसंगै अक्षयकोष स्थापनाको संख्या नौ पुगेको जनाईएको छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शुक्रबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]