बिर्तामोडमा आजदेखि कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी
बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु हुदैछ । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गर्ने प्रदर्शनी तीन दिनसम्म चल्ने छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रवार साँझ बिर्तामोड आइसक्नु भएको छ । उहाँलाई बिर्तामोडस्थित सिद्धार्थ होटलमा भव्य स्वागत गरिएको थियो ।
आजदेखि सुरु हुन गइरहेको विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा उहाँ बिर्तामोड आउनुभएको विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।
विज्ञान तथा प्रविधि विभागका अनुसार प्रतियोगितात्मक प्रदर्शनी २६ गतेसम्म विर्तामोडको देवी माध्यमिक विद्यालयमा चल्ने छ । प्रदर्शनी प्रतियोगितात्मक हुने र विद्यार्थीले बनाएका विज्ञानका सामग्रीलाई प्रदर्शनीमा राखिनेछ । अहिलेसम्ममा १२ जिल्लाका ७० वटा विद्यालयले प्रदर्शनीमा भाग लिने टुंगो गरिसकेको पोखरेलले बताउनुभयो ।
प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।