झापा इनर्जी अवलोकन गरेर पूर्वराष्ट्रपति भण्डारी हुलाकी मार्ग हुँदै विराटनगर प्रस्थान
बिर्तामोड । झापाको दुई दिनको बसाई सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर फर्किनु भएको छ । झापाको औपचारिक दुई वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई भण्डारी आज विराटनगर फर्कनु भएको हो ।
शुक्रवार साँझ विराटनगर हुँदै बिर्तामोड आउनुभएको पूर्व राष्ट्रपति दुवै रात सिद्धार्थ होटलमा बस्नुभयो । झापामा एमाले नेता एवम् झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बू लगायतको नेतृत्वमा सञ्चालित सौर्य उर्जा परियोजनाको अवलोकन गरेर आज विराटनगर फर्किनुभएको हो । सौर्य उर्जाका बारेमा सांसद लिम्बूले जानकारी गराउनु भएको थियो ।
शिवसताक्षी– ४ मा सञ्चालित झापा इनर्जीको अवलोकन गर्दै पूर्वराष्ट्रपतिको टोली हुलाकी मार्गबाट विराटनगर प्रस्थान गरेको मोरङका एमाले नेता सोमराज थापाले जानकारी दिनुभयो । कुन्जिबारीबाट गौरीगञ्ज हुँदै हुलाकी सडक समेत हेर्ने गरी विराटनगर लागेको उहाँको भनाई छ ।
पूर्वराष्ट्रपति भण्डारी बिर्तामोडमा नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको विज्ञान प्रदर्शनीमा शनिवार र आइतवार नारी सञ्चार गृहको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई फर्किनुभएको हो ।
उहाँको भ्रमण झापाका केहि पार्टी नेतृत्व, जनप्रतिनिधिहरुसँग अनौपचारिक भेटघाट बाहेक राजनीतिक उद्देश्य नरहेको बुझिएको छ । विज्ञान प्रदर्शनीमा बोल्ने क्रममा उहाँले सामाजिक काममा सहयोग गर्ने उद्देश्यले झापा आएको धारणा व्यक्त गर्नुभएको थियो ।