जेष्ठ २६, २०८२ आईतबार

‘एमाले पहिचान बिरोधी हैन्, पहिचान दिने पार्टी हो’

बिर्तामोड । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले वास्तविक पहिचान दिने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आयोजित महासंघ झापाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले एमालेलाई बिरोधीहरुले पहिचान बिरोधी दलको रुपमा झुटो प्रचार गरिरहेको भन्दै त्यसको खण्डन गर्नुभयो ।

पूर्वमा सबैभन्दा बढी उठेको पहिचानको मुद्दाका विषयमा धारणा राख्दै शेर्पाले एमाले कहिले पनि पहिचान विरोधी नभएको जिकिर गर्नुभयो । उहाँले आदिवासी जनजाति लगायत उपेक्षित वर्गको हितका लागि नेकपा एमालेले नै नीति निर्माणमा अग्रणी भूमिका निर्वाह गरेको स्मरण गराउनुभयो । अहिले आएर केही विकास विरोधी तत्वहरूले जनतामाझ एमाले पहिचान विरोधी भएको भन्दैमा नेकपा एमाले कदापी पहिचानको विरोधी नहुने शेर्पाको भनाइ थियो । उहाँले एमालेले कहिले पनि पहिचान विरोधी र जनता विरोधी काम नगरेको र नगर्ने समेत जिकेर गर्नुभयो ।

संबिधानसभाका सदस्य समेत रहेका महासंघका केन्द्रीय अध्यक्ष शेर्पाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको आन्दोलनले नै नेपालमा आदिवासी जनजातिहरुका लागि आरक्षणको व्यवस्था सुनिश्चित गराएको स्मरण गराउनुभयो । नेपालमा आदिवासी जनजाति, दलित र उत्पीडित वर्गको पहिचानका लागि एमाले जति योगदान अन्य दलले गर्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले एमालेमाथि विभिन्न खाले आक्रमणहरु भइरहेको भन्दै अब पार्टीको रक्षाका निमित्त आदिवासी जनजाति महासंघ अग्रणी मोर्चामा आउनुपर्ने बताउनुभयो । मुलुकका हितका लागि काम गरिरहेको राष्ट्रवादी दल नेकपा एमालेमाथि विभिन्न आक्रमणहरू भइरहेको भन्दै पार्टीको रक्षाका लागि आदिवासी जनजाति महासंघ हमेशा तयार रहेको शेर्पाको भनाई थियो । उहाँले एमालेले हाल गरिरहेको र विगतमा गरेका कामहरू देखेर विरोधीहरू आत्तिएको धारणा राख्नुभयो । २०८४ मा एकल बहुमत ल्याउने लक्ष्यकासाथ जनतामाझ गइरहेको एमालेलाई असफल बनाउन विरोधीहरूले विभिन्न आक्रमण गरेको उहाँको भनाइ थियो ।

झापामा एमालेको मतले चुनाव जितेका राजेन्द्र लिङ्देनले अहिले सबैभन्दा बढी एमालेको विरोध गरिरहेको भन्दै शेर्पाले आम झापालीले लिङ्गदेनलाई पाठ सिकाउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले दुर्गा प्रसाईले समेत आदिवासी जनजातिकै प्रयोग गरेर एमालेको विरोध गरिरहेको भन्दै त्यस्ता अराजक व्यक्तिकोपछि नलाग्न आग्रह गर्नुभयो । आदिवासी जनजातिको बाक्लो बसोबास रहेको पूर्वमा मुलुक निर्माण र पहिचान रक्षाका निमित्त एमालेले गरेको योग्दानको चर्चा हुन नसकिरहेको धारणा राख्नुभयो ।

शेर्पाले नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको गृह जिल्ला झापा भएकाले पनि झापामा एमालेको धेरै नै विरोध हुने गरेको बताउनुभयो । एमालेको भिजन र योग्दानलाई बुझ्न नसक्दा केहि अज्ञानी तत्वहरुले विरोध गर्ने गरेको उहाँको भनाई छ । उहाँले नेकपा एमालेलाई खुइल्याउन लागि परेका तत्वहरूको विरोध गर्न समेत महासंघमा आबद्ध नेता कार्यकर्ता तथा तमाम पार्टी पंक्तिलाई आग्रह गर्नुभयो । एमालेले गरेका जनतामुखी र राष्ट्रहितका कामहरूलाई आम जनतामाझ पु¥याएर पार्टीको पक्षमा बहस गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शेर्पाले न्यायप्रेमी आम नेपाली जनताको पार्टी नेकपा एमाले मात्रै भएको भन्दै एमालेको संगठन मजबुत बनाउन र नयाँ सदस्यहरुलाई समेत संगठनमा आबद्ध गराउन आग्रह गर्नुभएको थियो ।

सम्बोधनका क्रममा शेर्पाले असोज मसान्तभित्र बाँकी रहेका सबै पालिकामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कमिटी विस्तार र वडा तहमा समेत कमिटी निर्माण गर्न निर्देशन दिनुभयो।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटी झापाका अध्यक्ष विरेन्द्र राजवंशीको अध्यक्षतामा जिल्ला पार्टी कार्यालयको सभाहलमा भएको विस्तारित बैठक तथा प्रशिक्षणलाई महासंघका केन्द्रीय महासचिव देवराज राई, उपमहासचिव प्रेमकुमार श्रेष्ठ, सचिव सोनाम लामा, सचिवालय सदस्य रोशनी मेचे, महासंघका कोशी प्रदेश कमिटीका सचिव नुहाङ राई, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य हरि राजवंशी र नेकपा एमाले झापाका अध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरीले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ आईतबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]