जेष्ठ २७, २०८२ सोमबार

अर्गानिकमा अडान : आफ्नै तरकारी बजार

बिर्तामोड सेरोफेरो

झापाको बिर्तामोड नगरपालिका जिल्लाको मुख्य शहरका रुपका विकास भएको नगरपालिका हो । शिक्षा, स्वास्थ्य, व्यापारको सुविधाले यहाँ नागरिकको चाप बढ्दै गइरहेको छ । पूर्व पहाडको केन्द्रको रुपमा रहेको बिर्तामोड पछिल्लो समय बसाई सराईको मुख्य गन्तव्य पनि बन्दै गइरहेको छ । विशेष गरी स्वास्थ्य उपचारको राम्रो प्रवन्ध र नर्सरीदेखि स्नातोकोत्तरसम्मको अध्ययन गर्न पाइने शिक्षालयको सुविधाले यहाँ आम नागरिकहरुको आकर्षण बढ्दो छ ।
विकासको सबै पूर्वाधारमध्येको एक मानिएको छ, कृषि क्षेत्र । स्थानीय तहको पहिलो निर्वाचन देखि यहाँ कृषिलाई विशेष प्राथमिकतासहित लगानी गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउने योजनासहित ०७४ पछि सुरु भएका कार्यक्रमलाई निरन्तरता समेत दिइराखिएको छ । जसका कारण कृषिमा सकारात्मक परिणामहरु समेत प्राप्त भइरहेको पाइन्छ । कृषिमा बिर्तामोड नगरपालिकाले किसानको आवश्यकतालाई मध्यनजर गर्दै सेवा दिइरहेको छ । किसानलाई मल, विउदेखि कृषि उपकरण समेत वितरण गर्दै आएको नगरपालिकाले हरेक वर्ष कृषिमा बजेटको पनि राम्रो प्रवन्ध गरिरहेको छ ।

साना सिंचाई कार्यक्रम
बिर्तामोड नगरपालिकाल आर्थिक वर्ष २०७४-०७५ देखि हालसम्म ८०७ वटा मोटर बोरिङ्ग स्थापना गरि २४२१ विघा जमिनमा सिंचाई सुविधा उपलव्ध गराइएको छ । यस कार्यक्रमका लागि आवश्यक बजेट संघीय तथा प्रदेश सरकार, सहारा नेपाल र नगरपालिकाद्धारा लगानी गरेको छ । प्रति सिंचाई रु ६३,००० खर्च हुने यस कार्यक्रमकामा नगरपालिकाले रु. ४०,००० र कृषकहरुबाट बाँकी रकम लागत साझेदारी गर्दै आएको छ । यस नगरक्षेत्र भित्र रहेका कृषक समुह, कृषि फर्म तथा कृषि सहकारीहरु मार्पmत यो कार्यक्रम संचालन गरिएको कृषि शाखाले जनाएको छ । कृषिमा सिँचाई सुविधा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भइरहेको छ ।

३ हजार हेक्टर भन्दा बढी कृषि क्षेत्र रहेको यस बिर्तामोड नगरपालिकामा विभिन्न निकायहरुको सहयोगमा संचालनमा आएका सिंचाई कार्यक्रमहरुद्धारा ७५ प्रतिशत बढी क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध भएको छ । सिंचाईको सुविधाका कारण कृषकहरुको बाली पद्धतिमा परिवर्तन आएको छ । पहिला एक बाली मात्र लगाउने खेतहरुमा किसानले विभिन्न उत्पादनहरु थप गरिहरेका छन् ।

सिँचाई सुविधापछि किसानले तोरी – मकै (पहिलो), आलु – मकै (दोस्रो), तरकारी (तेस्रो), हरियो घाँस र तरकारीबाली लगाउन थालेका छन् । कृषि शाखाका अनुसार बाली सधनता १५० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

कृषिमा यान्त्रिकिकरण

बिर्तामोड नगरपालिकाले कृषि शाखा मार्फत हालसम्म १६ वटा पावर टिलर, १८ वटा मिनि टिलर, १५२ वटा मकै छोडाउने मेसिन र २८ वटा धान काट्ने मेसिन ७० देखि ८५ प्रतिशत लागत साझेदारीमा समुहहरुलाई प्रदान गरिसकेको छ । तराईमा बढ्दो ट्याक्टरको प्रयोग र कम गुणस्तरका कारण प्रभावकारी बन्न नसक्दा पावर टिलरमा अनुदानको कार्यक्रम आ.ब. २०७६-०७७ बाट स्थगित गरिएको छ । कृषकहरुलाई कृषि औजारहरु ५० देखि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको शाखाका राजेन्द्र कडरियाले जानकारी दिए ।

सिँचाईको क्षेत्र विस्तारसँगै मकै उत्पादनको क्षेत्र र प्रविधि विकास हुदै गएको छ । उत्पादन क्षेत्रहरुमा धानको थ्रेसर जस्तो मकैको थे्रसरको सहज उपलब्धता नहुँदा कृषक समुहहरुमा मकै छोडाउने मेसिन सबैभन्दा बढी प्रभावकारी रहेको छ । हालसम्म पनि यस क्षेत्रमा धान काट्ने ठुलो मेसिनको सहज उपलब्ध हुन नसक्दा धान काट्ने साना मेसिन प्रभावकारी बन्न पुग्यो । हाल स्थानीय व्यवसायी, ट्याक्टर चालक तथा समुहहरुले धान काट्ने मेसिन आपैm खरिद गरि संचालन गर्न थालेका छन् ।

मझौला तथा ठुला व्यवसायिक तरकारी उत्पादक कृषकहरुमा टनेल भित्र खनजोत गर्न, गोड्न, उकेरा लगाउन र ड्याङ्ग बनाउन मिनि टिलर प्रभावकारी रहेको हुँदा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका तरकारी पकेट कार्यक्रम मार्पmत यसलाई निरन्तरता दिइएको छ ।

एक समुह एक उत्पादन कार्यक्रम
बिर्तामोडमा हालसम्म ३२ समुहहरुमा तोरी खेति र ४० वटा समुहहरुमा आलु खेतिको एक समुह एक उत्पादन कार्यक्रम संचालन गरिएको छ । प्रत्येक समुहहरुलाई समुहको माग अनुसार एक बाली लक्षित गरि बजारमुखी उत्पादन गर्न यो कार्यक्रम संचालनमा ल्याइएको छ । कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइने छ । यस कार्यक्रममा संलग्न कृषक समुहहरुलाई उन्नत विउ खरिदमा ५० प्रतिशत अनुदान दिइएको छ र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराईएको जनाइएको छ ।

समुहभित्रका सबै कृषकको उत्पादन एकै प्रकारको भएको हुँदा बजारीबरणमा सहज भएको छ भने तोरी र आलुको उत्पादन नगदेबालीको रुपमा विकास भई व्यवसायिक उत्पादन हुन थालेको छ । स्थानीय तोरी मिलहरुको आवश्यक माग स्थानीय स्तरबाट नै पुरा हुन थालेको छ । धान र मकैबाली विचको खाली समयमा आलु तथा तोरी उत्पादन हुने हुँदा बाली सधनतामा बृद्धि भएको छ ।

बिर्तामोडमा हाल १५५ विगाह क्षेत्रफलमा आलु र ४३० विगाह क्षेत्रफलमा तोरीको व्यवसायिक उत्पादन भइरहेको शाखाकी अनु मोतेले जानकारी दिइन् । तोरी खेतिको क्षेत्र विस्तारसँगै मौरी पालन व्यवसायको बृद्धि भएको छ । हाल नगरक्षेत्र भित्र १२ जना कृषकहरु व्यवसायिक मौरी पालनमा संलग्न रहेका छन् ।

विउ उत्पादन कार्यक्रम
कृषिका अनुसार धान र आलुको उन्नत विउमा नगर आत्मानिर्भर भएको छ । नगरभित्रका कृषकहरद्धारा उत्पादित विउ जिल्ला भित्रका अन्य पालिकाहरुमा समेत बिक्रि वितरण भैरहेको छ । स्थानीय विउ उत्पादन कम्पनी र प्रदेश सरकारको लागत साझेदारीमा विउ प्रशोधन तथा भण्डार गृह निर्माण भई संचालनमा आएको छ । सहज नेपालसँगको लागत साझेदारीमा ७० टन क्षमताको आलुको शीत भण्डार निर्माण यसै आर्थिक वर्षभित्र संचालन हुने छ ।

मेयर विषादी मुक्त नगर कार्यक्रम
बिर्तामोड नगरपालिकाभित्र विषादि न्यूनिकरण गरि व्यवसायिक तरकारी उत्पादन कार्यक्रमका लागि यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अनुसार कृषकहरुको माग अनुसार प्रत्येक वर्ष ४० देखि ५० जना कृषकहरुलाई व्यवसायिक तरकारी उत्पादन तालिम दिई यस कार्यक्रममा संलग्न गरिरहेको अवस्था छ । कार्यक्रममा आवद्ध कृषकहरुलाई तालिम, प्रविधि र कृषि औजार तथा उत्पादन सामग्रीहरु सहयोग गरिएको छ ।

उक्त कार्यक्रममा हालसम्म १४२ जना कृषकहरु संलग्न भई विषादि न्यूनिकरण गरिएका तरकारीहरुको व्यवसायिक उत्पादन गरिरहेका छन् । संलग्न कृषकहरु मध्ये ६२ जना कृषकहरु हिउँदे तरकारी उत्पादनमा संलग्न रहेका छन् भने ८० जना कृषकहरु हिउँदे बर्षे दुबै सिजनमा व्यवसायिक तरकारी उत्पादन गरिरहेका छन् । गड्यौले मल तथा झोल मलको प्रयोगमा बृद्धि भएको जनाइएको छ । हालसम्म कृषकहरुद्धारा उत्पादित तरकारीहरुको विषादि अवशेष प्रतिशत १५ भन्दा तल रहेको छ ।

पकेट तथा व्लक कार्यक्रम
बिर्तामोड नगरभित्र प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत ५ वटा तरकारी पकेट र १ वटा च्याउको व्लक कार्यक्रमहरु संचालन भइरहेको छ । यस कार्यक्रम अन्तर्गत कृषकहरुले आवश्यकता अनुसार कृषि औजार तथा उत्पादन सामाग्रीहरुमा ५० प्रतिशत अनुदान प्राप्त गर्ने छन् । यस पकेट कार्यक्रम मार्पmत कृषि यान्त्रिकिकरणमा बृद्धि भएको छ । व्यवसायिक तरकारी उत्पादनका लागि आवश्यक साना र मझौला यन्त्रहरुको प्रयोगमा बृद्धि भएको छ । च्याउ उत्पादनमा नगर आत्मानिर्भर भइसकेको छ ।

तरकारीको बजारीकरण
बिर्तामोडको मेयर विषादिमुक्त कार्यक्रममा आवद्ध कृषकहरुद्धारा उत्पादित विषादि न्यूनिकरण गरिएका तरकारीहरुको बजारीकरण यसै आर्थिक वर्षबाट शुरु भएको छ । यसका लागि १ वटा मुख्य संकलन केन्द्र र ७ वटा बिक्रि केन्द्रहरु संचालनमा आएको छ । कृषकहरुद्धारा उत्पादित तरकारीको सहज बजारीकरण भएको छ । कृषकहरुले उत्पादित तरकारीको उचित मूल्य प्राप्त गरेका छन् । साना देखि ठुला सबै कृषकहरुका लागि संकलन केन्द्र तरकारी बजारीकरणका निम्ति सहज भएको छ । न्यूनतम समर्थन मूल्य कार्यान्वयनका लागि मुख्य संकलन केन्द्रले प्रमुख भूमिका खेलिरहेको छ ।

बाली संरक्षण कार्यक्रम
नेपालको मुख्य खाद्यान्न बालीहरुको उत्पादनमा बृद्धि गर्नका लागि नगरक्षेत्र भित्र लगाइएका धान तथा मकै बालीहरुमा लाग्ने रोग तथा किराहरुको नियन्त्रणका लागि नगरपालिकाले कृषकहरुलाई पूर्ण अनुदानमा सुरक्षित विषादिहरु उपलब्ध गराउदै आएको छ । यसबाट कृषकहरुलाई रोगको पहिचान र नियन्त्रण गर्न सहयोग पुगेको छ । यसले कृषकहरु कृषि शाखामा नियमित रुपमा सम्पर्कमा रहेका छन् ।

न्यूनतम समर्थन मूल्य
नगरपालिकाले यसै आर्थिक वर्षबाट शुरु गरिएको कार्यक्रमले कृषकहरुद्धारा उत्पादित विभिन्न १६ प्रकारका तरकारीहरुको बजार मूल्य ग्यारेन्टि गरेको छ । नगरपालिकाद्धारा निर्धारित मूल्य भन्दा थोक मूल्य कम भएमा उक्त कम रकम नगरपालिकाले कृषकहरुलाई मूख्य संकलन केन्द्र मार्पmत भूक्तानी गर्ने भएको हुँदा कृषकहरु ढुक्कसँग व्यवसायिक उत्पादनमा आवद्ध हुन पाएका छन् ।

कृषक पाठशाला
हालसम्म १४ वटा कृषक समुहहरुमा कृषक पाठशाला कार्यक्रम संचालन गरिएको छ । यसबाट २८० भन्दा बढी कृषकहरु लावान्वित भएका छन् । किसानलाई नगरपालिकाको कृषि शाखा मार्फत विभिन्न कृषि ज्ञान दिने उद्देश्यले पाठशालाहरु सञ्चालन गर्ने गरिएको छ । नगरमा हालसम्म २४१ वटा कृषक समुहहरु दर्ता भई संचालनमा आएका छन् ।

माछा पालक किसानलाई तालिम
बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले भारतबाट आयात हुने मरेका माछाको विक्री वितरण रोक्न कठिनाई भएको दुखेसो गर्नुभएको छ । नगरपालिकाले आयोजना गरेको माछापालन तथा व्यवस्थापन तालिममा बोल्दै उहाँले जिल्लाका अन्यपालिकाले मरेका माछाको आयात तथा विक्री वितरणलाई खुला छोडेका कारण बिर्तामोडमा नियन्त्रण गर्न समस्या भएको बताउनुभयो ।

बिर्तामोडमा २०७९ साल असोज ६ गते बसेको कार्यपालिकाको बैठकले भारतबाट आयात हुने अस्वस्थकर माछा विक्री वितरण गर्न निषेध गरेको थियो । स्थानीय किसानलाई प्रोत्साहन गर्ने र विषादियुक्त माछाको व्यापार रोक्ने उद्देश्यले गरिएको निर्णय केहि समय कार्यान्यवन भएको थियो ।

बिर्तामोडमा अहिले विषादी हालिएका मरेका माछा पर्याप्त पाउने थालेको छ । उपभोक्ताले समेत स्वास्थ्यको कुनै ख्याल नगरी विषाक्त फर्मालिन हालिएका माछा खरिद गरेर खाने गरेका छन् । स्थानीय ताजा माछाको बजार भने खुम्चिएको छ । नगर प्रमुख प्रसाईले स्थानीय माछाको बजारीकरणमा जोड दिँदै आवश्यक अनुगमन गर्ने बताउनु भयो ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मत्स्य पालन व्यवसायमा विद्युतमा ठुलो खर्च आउने भएकाले यसमा सहुलियतका लागि सम्बन्धित निकायमा छलफल गर्ने बताउदै आउनु भएको छ ।

बिर्तामोड वडा नम्बर ३ स्थित हरियाली कृषि फर्मका सञ्चालक हरिप्रसाद मैनालीले सरकारले सहुलियत प्रदान गरे बिर्तामोडलाई माछाको हव बनाउने बताउनु भयो । जिल्लामात्र नभइ कोशी प्रदेशलाई नै पुग्ने गरी माछा उत्पादन गर्न सकिने भन्दै उहाँले सिँचाईमा सहयोगको लागि आग्रह गर्नुभयो ।

नगरपालिकाले नगरका २५ जना कृषकलाई तालिम दिएको छ । तालिममा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीबाट आउनु भएका सुरज कुमार सिंहले माछामा लाग्ने रोग, आवश्यक औषधी, माछाको वृद्धि विकास, गुणस्तरिय माछा उत्पादन लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

वर्षेनी किसानलाई अनुदानमा उपकरण
बिर्तामोड नगरपालिकाले जेठको पहिलो साता किसानलाई विभिन्न प्रकारका मेसिन वितरण गरेको छ । कृषि विकास शाखा मार्फत ७० प्रतिशत अनुदानमा ११ थान चिया टिप्ने मेसिन, २४ थान मकै छोडाउने मेसिन र ५० प्रतिशत अनुदानमा ६२ वटा इलेक्ट्रिक स्पेयर वितरण गरिएको हो ।

९ लाख २४ हजार मुल्य बराबरको कृषि सामग्रीमा किसानले ३ लाख ४५ हजार ५ सय रुपैयाँ लगानी गरेका छन् भने नगरपालिकाले ५ लाख ७८ हजार ५ सय रुपैयाँ लगानी गरेको कृषि विकास शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले जानकारी दिनुभयो ।

नगरपालिकाले हरेक वर्ष आधुनिक कृषि प्रविधि वितरण गर्दै आएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषि क्षेत्रमा काम गर्न सहयोग गर्ने उद्देश्यले यो वर्ष पनि छनौटमा परेका किसानहरुलाई कृषि मेसिन वितरण गरिएको बताउनु भयो । परम्परागत कृषि प्रणालीले जीवन धान्न कठिन हुने बताउँदै उहाँले आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक बन्नु पर्नेमा जोड दिनुभएको छ । कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको भन्दै नगरप्रमुख प्रसाईले आधुनिक र सृजनात्मक योजना बनाउन पनि आग्रह गर्नुभयो ।

नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बिर्तामोड नगरपालिका किसानको हितमा काम गर्दै आएको र आगामी दिनमा पनि थप व्यवस्थित रुपमा काम गर्न तयार भएको धारणा राख्नुभएको छ । मेहनत गर्ने किसानलाई स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्दै जाने उहाँको धारणा छ । उहाँले कृषि सामग्रीको अधिकतम प्रयोगबाट उत्पादन र आम्दानी वृद्धि गर्न सूझाव दिनुभयो ।

बिर्तामोड नगरपालिकाले २०७४ सालदेखिने यस प्रकारका मेसिन तथा औजारहरु वितरण गर्दै आएको छ । अहिलेसम्ममा मकै छोडाउने मेसिन १८० वटा , चिया टिप्ने मेसिन २५ वटा, कृषि चुन, मल्चिङ, टनेल, विषादी, विउविजन, रेफ्री फ्रिज लगायतका सामाग्री सहयोग गर्दै आएको छ ।

बिर्तामोड नगरपालिकाले नगरभित्र किसानलाई मेयर बाख्रा साटासाट कार्यक्रम मार्फत आर्थिक जीवन उकास्न सहयोग गर्दै आएको छ । यहि वर्ष वडा नम्बर ७ मा रहेको सिताराम मन्दिर टोल कषक समूहलाई बाख्रा वितरण गरेको छ । मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरिएको थियो । प्रतिकृषक ३ वटाका दरले विमा गरिएका बाख्रा वितरण गरिएको हो । उक्त समूहलाई एउटा उन्नत जातको विउ बोकासमेत वितरण गरिएको छ ।

बाख्रा साटासाट कार्यक्रम बिर्तामोडमा २०७४ सालदेखि सञ्चालनमा छ । बिर्तामोडमा १८ वटा बाख्रा कृषक समूह छन् । कार्यक्रम सुरुभएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनु भयो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले थोरै भएपनि आय स्रोतको लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी रहेको बताउनुभएको छ । यो कार्यक्रमले जीवनस्तर उकास्न सघाउ पुर्याउने बताउनु भयो । नगर प्रमुख प्रसाईले बाख्रा पालनलाई उपलव्धीमुलक बनाउन जोड दिदैं आउनु भएको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८२ सोमबार  १२ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]