विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श मावि प्रथम
बिर्तामोड । कोशी प्रदेशस्तरी विज्ञान तथा प्रविधि प्रदर्शनीमा झापाको बुद्धशान्ति–२ को आदर्श मावि प्रथम भएको छ । प्रथम भएको सो विद्यालयलाई नगद ४ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
विज्ञान तथा प्रविधि प्रदर्शनीमा बिर्तामोडको देवी मावि द्वितीय र तेह्रथुमको सिंहदेवी मावि तृतीय भएको छ । उनीहरुले क्रमश : ३ लाख र २ लाख नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागको आयोजनामा भएको प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा ७० वटा विद्यालयहरु सहभागी भएका थिए । प्रतियोगितात्मक प्रदर्शनीमा कोशी प्रदेशका विभिन्न जिल्लाहरुबाट विद्यालयहरुले सहभागिता जनाएका हुन् ।
प्रथम भएको विद्यालय आदर्श माविका कक्षा ८ का विद्यार्थी विशाल सहनीले प्रदर्शनमा राखेको प्रोजेक्ट प्रथम भएको हो । उनले ताप्लेजुङमा पाथीभरा मन्दिर जाँदै गरेको ट्याक्सीमा करेन्ट लागेर भक्तालुहरुको मृत्यू भएपछि उक्त प्रोजेक्टको परिकल्पना गरेका थिए । सहनीले ट्रान्समिसन लाइनलाई सुरक्षित बनाउने तरिका विज्ञान प्रदर्शनीमा प्रदर्शनमा राखेका थिए ।
जेठ २४ देखि सुरु भएको तीन दिवसीय प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले पुरस्कार वितरण गर्नुभएको विभागका प्रमुख गणेश पोखरलले जानकारी दिनुभयो ।