जेष्ठ २७, २०८२ सोमबार

मेचीनगरमा अटिजम तथा बौद्विक अपाङ्गता सम्बन्धी बहस

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन के गर्न सकिन्छ भनेर बहस चलाएको छ ।

सोमबार नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुका लागि समावेशी शिक्षा प्रवर्द्धन सम्बन्धी प्यानल छलफल कार्यक्रम भएको छ ।
प्यानल छलफल कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, बाल विकास विशेषज्ञ तथा मनोविद प्रिसिमा थापा (आशिषा) र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा।रुपक आचार्य सहभागी रहेका थिए ।

प्यानल छलफल कार्यक्रमको सहजीकरण लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले गरेकी थिइन् ।
छलफलमा उपप्रमुख उप्रेतीले अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुको डेटा संकलन, व्यवस्थापनको स्थिति कस्तो छ, पहिचान, आवश्यकता, मुल्याङ्कन, सेवा प्रवाहको सुनिश्चिता गर्न, डेटा प्रणालीलाई प्रभावकारी बनाउन, थेरापी, विद्यालय निर्माण लगायतका योजना र सम्भावनाका विषयमा धारणा राखेकी थिइन् ।

शिक्षा शाखा प्रमुख भण्डारीले सामुदायिक विद्यालयका शिक्षकहरुलाई समावेशी शिक्षा, अपाङ्गता मैत्री आवश्यक सीप विकासका लागि दीर्घकालीन तालिमहरु, विद्यालयमा सहभागी गराउन अभिभावक र विद्यालयको भूमिका लगायतका योजनाहरुका बारेमा आफ्नो विचार राखेका थिए ।

बाल विकास विशेषज्ञ तथा मनोविद थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४, अवस्था, प्रकारका बारेमा व्याख्या गरिएको बताइन् ।

उनले सामाजिक समावेशीकरण, शिक्षा र अन्य क्षेत्रमा पहुँच पुर्याउन स्थानीय सरकार र समुदायसँग समन्वय गरेर अघि बढ्न अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुलाई सुझाव दिएकी थिइन् । त्यस्तै नवजात शिशु तथा बालरोग विशेषज्ञ डा।आचार्यले अस्पतालमा उपचार गर्न अपाङ्गता भएका बालबालिकाको चाँप बढीरहेको जानकारी दिएका छन् ।

यस्ता बच्चाहरुको प्रारम्भिक पहिचान, लक्षणहरु सुरुवाती चरणमा नै थाहा हुने भएकाले सोही अनुसार अभिभावक, डाक्टरहरुले समयमा नै उपचारका विधि अपनाउनु पर्ने उनको जोड छ ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासाहरु समेत प्यानल छलफलमा सहभागी उपप्रमुख उप्रेती, शिक्षा शाखा प्रमुख भण्डारी र बाल विकास विशेषज्ञ तथा मनोविद थापाले सहजरुपमा जवाफ दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अपाङ्गता भएका बालबालिकाहरुकाका अभिभावक, शिक्षक, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न प्यानल छलफल कार्यक्रमको स्वागत करुणा फाउण्डेशनका मेचीनगर संयोजक पदम बराइली र सञ्चालन महिला, बालबालिका तथा नगरपालिका समाज कल्याण शाखाकी अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०८२ सोमबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]