सडक पूर्वाधारमा काँचुली फेर्दै बिर्तामोड
बिर्तामोड सेरोफेरो
झापाको बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै काम भएको छ भने त्यो तुलानात्मक हिसावले भौतिक पूर्वाधारको क्षेत्रमा भएको छ । स्थानीय तह बन्नु भन्दा पहिलेको बिर्तामोड नगरपालिकाका सडकहरुको अवस्था दयनीय थियो । धुलाम्मे सडक, खाल्डाखुल्डी र अस्तव्यस्त ग्रोभेल सडकका कारण बिर्तामोड कुरुप नै थियो । स्थानीय तहको निर्वाचनपछि सडक पूर्वाधारमा काँचुली नै फेरेको छ ।
पूर्वको व्यापारिक शहरका रुपमा परिचित बिर्तामोडमा ०७४ अघिको अवस्थालाई फेर्कर हेर्दा आज पत्याउन गाह्रो नै पर्छ । तर, यहाँका जनप्रतिनिधिहरुले सडक पूर्वाधार नै विकासको आधारमा मानेर गरेको कामले आज बिर्तामोडलाई सडक पूर्वाधारमा सम्पन्न बनाएको छ । विकास निरन्तर चलिरहने प्रक्रिया भए पनि हालसम्मको विकासलाई हेर्दा सन्तोषजनक नै छ । तथापि, अझै कतिपय ठाउँमा काम गर्न बाँकी रहेको छ । अधिकांश सडक पूर्वाधार निर्माण गरिसकेको बिर्तामोडले नागरिकलाई सडककै कारण दुख हुने अवस्थाबाट अन्त्य गरिसकेको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईल बिर्तामोडको पूर्वाधार विकास विगत र वर्तमान तुलना गरेर हेर्दा असाध्यै धेरै परिवर्तन आइसकेको बताउनुहुन्छ । क्रमिक रुपमा बिर्तामोडमा कालोपत्रे गर्ने, डे«ेन बनाउने, पेवर्स लगाउने काम भइरहेको छ । बिर्तामोडको दशै वटा वडामा विकासको गति अघि बढेको उहाँको भनाई छ । बिर्तामोड ५ को मुख्य सडकहरु कनकाई रोड, शनिश्चरे रोड, धर्मकाटा रोड निर्माण सम्पन्न गरिएको छ भने हर्कलाल मार्ग बनाउने काम भइरहेको छ । अन्य वडाहरुमा समेत दु्रत गतिमा काम भइरहेको छ । ०८२-८३ मा अझै धेरै काम हुने वडाध्यक्ष प्रसाईको भनाई छ ।
वडाध्यक्ष प्रसाईका अनुसार हर्कलाल मार्गको काम अहिले तीब्र रुपमा अघि बढिरहेको छ । वडा नं. १ मा पनि सघन शहरी मार्फत धेरै सडक पूर्वाधार निर्माणको काम भइरहेको छ । सबै वडामा पूर्वाधार निर्माणका कारण विगतभन्दा धेरै नै परिवर्तन आइसकेको प्रसाईको धारणा छ ।
बिर्तामोड नगरपालिकाले रिङ रोडको अवधारणा पनि ल्याइसकेको हुँदा त्यसलाई पनि अघि बढाउने उहाँको भनाई छ । ०८२-८३ को बजेटले रिङ रोडको काम अघि बढाउने जानकारी दिनुभयो । रिङ रोड निर्माण भएपछि नगरबासीहरुलाई थप फाइदा पुग्ने छ । विकासको गति विस्तारै अघि बढ्ने भदै उहाँले सामाजिक सञ्जालमा अहिले नकारात्मक विचारहरु मात्र आइरहेको पाइन्छ । नकारात्मक धारणालाई छोड्ने हो भने विकास मज्जाले देखिन्छ, वडाध्यक्ष प्रसाईले भन्नुभयो ।
आफ्नो घर अगाडिको फोहोर डस्टपिनमा नहाल्ने, फोटो खिचेर फेसबुकमा हाल्ने काम हुन्छ । त्यसैले सोचमै बदल्न सक्यौं भने मात्रै विकास देखिने र काममा सहयोग पुग्ने उहाँको धारणा छ ।
बिर्तामोडका लक्ष्मीप्रसाद खरेल भन्छन्, ‘बिर्तामोड नगरपालिका साच्चिकै पूर्वाधार विकासमा झापाका अरु पालिका भन्दा अब्बल बन्दै गएको छ । नगर प्रमुख महिला भएको फाइदा पनि हामि नगरवासीलाई छ । मज्जाले बिकास हुदैछ ।’
बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे गरिसकेको छ । कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय ५३ मिटर खण्डमा कालोपत्रे गरेको छ । कालोपत्रे सम्पन्न गर्ने ठेक्केदार कम्पनी जय लक्ष्मी निर्माण सेवाका दिनेश मैनालीले सम्झौता बमोजिमको काम सम्पन्न गरेको जानकारी दिनुभयो । यस खण्डमा सडक डिभिजन कार्यालय दमकको १ करोड ६४ लाख रुपैयाँ बजेटमा सडक स्तरोनन्तिको भएको हो ।
यस मार्गमा विभिन्न ३ खण्डमा ठेक्का लागेर काम भईरहेको छ । दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ४४ लाख रुपैयाँ समपुरक बजेटबाट काम भईरहेको छ ।
यस्तै चारपाने–घैलाडुवा सडक खण्डदेखि पश्चिम घाग्रा पुलसम्मको १ किलोमिटर खण्डमा भौतिक योजना मन्त्रालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रा.लिले काम गर्दैछ । यस क्षेत्रमा अलि गहिरो भाग रहेकोले प्लम निर्माणको काम द्रुत गतिमा भईरहेकोले यो महिना भरिमा कालोपत्रेको चरणमा पुग्ने वडाअध्यक्ष किशोर पौडेलले बताउनुभयो । सडक कालोपत्रे भएसँगै स्थानीय खुशी छन् ।
बिर्तामोड नगरपालिकामा विभिन्न चार वटा ठुला सडक योजनाहरुको काम तिव्र गतिमा भईरहेको छ । संघ, प्रदेश र नगरपालिकाको लगानीमा मुख्य सडकहरुको स्तरोन्नति कार्य धमाधम भईरहेको हो । हर्कलाल मार्ग, बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गको विभिन्न खण्डमा स्तरोन्नति कार्य भईरहेको छ ।
बिर्तामोडको पूर्व पश्चिम राजमार्गस्थित देउराली होटल देखि धौलापुल आदर्श चोकसम्म पर्ने हर्कलाल मार्गको स्तरोनन्ति कार्य धमाधम भईरहेको छ । भद्रपुर रोडको बैकल्पिक मार्गको रुपमा रहेको यस सडकमा विभिन्न ३ खण्डमा काम भईरहेको हो ।
राजमार्गसँगै जोडिएको देउराली पछाडिको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड १३ लाख ४६ हजार ७०६ रुपैयाँमा ठेक्का लिएर धनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्सले धमाधम काम गर्दै छ । अहिले ड्रेन तथा नाला निर्माणको काम भईरहेको जनाईएको छ ।
यस्तै सडकको विच खण्डमा १ हजार ९५ मिटर क्षेत्रमा पनि धमाधम काम हुँदैछ । ६ करोड रुपैयाँमा ठेक्का लिएर सरोज निर्माण सेवाले काम गरिरहेको हो । सडकको तल्लो ४ सय ५० मिटर क्षेत्रमा कौशल्या विल्डर्सले कालोपत्रे सम्पन्न गरेको छ । १ करोड ११ लाख २१ हजार ३९४ रुपैयाँमा ठेक्का पाएको कौशल्याले कालोपत्रेको काम सम्पन्न गरेको सडक डिभिजन दमकका सव–ईन्जिनियर मदन शाहले जानकारी दिनुभयो । यि दुवै बजेट भौतिक पूर्वाधार र सघन शहरी विकास कार्यालयकोबाट प्राप्त भएको हो ।
सडकको अन्तिम भागमा भने गएको आर्थिक वर्षमा नै कालोपत्रे सम्पन्न भएको थियो । वडा नम्बर ३ को आदर्श चोकदेखि वडा नम्बर ४ को आनन्द चोकसम्मको १ हजार ५६ मिटर सडक स्तरोन्नति भएको हो । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको थियो ।
वडा नम्बर ६ देखि ७ हुँदै वडा नम्बर ८ प्याकुरेल चोकसम्म ६ हजार २ सय ५८ मिटर लामो यो सडकको निर्माण कार्य धमाधम भईरहेको छ । अन्तराष्ट्रिय स्तरको बन्ने यस सडकको हालसम्मको प्रगति ६० प्रतिशत छ । हाल कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माणको काम भईरहेको र जेठको तेश्रो सातासम्ममा काम सुरु हुने ठेकेदार मनोज उप्रेतीले जानकारी दिनु भयो । विश्व बैंकको लगानी रहेको यस सडकमा आरपी साप समता जेभीले ५८ करोड रुपैयाँमा ठेक्का लिएर काम गर्दै आएको छ ।
वडा नम्बर ३ को सिमानादेखि वडा नम्बर २ हुँदै कनकाई नगरपालिका जोड्ने यस सडकको स्तरोन्नती ३ खण्डमा विभाजन गरेर धमाधम भईरहेको छ । चारपाने–घैलाडुवा सडक खण्डदेखि पश्चिम घाग्रा पुलसम्मको १ किलोमिटर सडक खण्डमा सडक डिभिजन कार्यालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रा.लिले धमाधम ड्रेन निर्मणको काम गरिरहेको वडा अध्यक्ष किशोर पौडेलले जानकारी दिनु भयो ।
यस्तै सडक डिभिजन कार्यालय दमकको १ करोड ४४ लाख रुपैयाँमा कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय मिटरमा जय लक्ष्मी निर्माण सेवाले काम गर्दैछ । यहाँ ड्रेन निर्माणसँगै सडकको बिच भागमा डिभाइडर निर्माणको काम भईरहेको छ ।
यस्तै कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ६० लाख रुपैयाँ समपुरक बजेटबाट दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा काम भईरहेको छ । यहाँ कालो पत्रेका लागि प्राइम लगाउने काम सम्पन्न भएको र केहि दिनभित्रमा कालोपत्रे गरिने निर्माण कम्पनीका दिनेश मैनालीले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्रमार्ग सडक पनि स्तरोनन्तीको क्रममा छ । वडा नम्बर ३ देखि वडा नम्बर ९ नडियाबारी हुँदै जाने यस सडकमा ड्रेन तथा नाला निर्माणको काम धमाधम भईरहेको छ । यहाँ पनि विभिन्न ३ खण्डमा काम भईरहेको छ ।
५ करोड ६० लाख रुपैयाँ बजेटमा १ हजार ९ सय ६० मिटर सडकमा सिद्दीथुम्का एभरग्रिन जेभीले काम गरिरहेको छ । यस खण्डमा हालसम्मको प्रगति ४० प्रतिशत भएको ठेकेदार नविन खरेलले जानकारी दिनुभयो । उहाँले अवको १५ दिनमा कालोपत्रेको काम हुने जानकारी दिनुभयो । यस्तै अर्को खण्डमा ट्रस्ना निर्माण सेवा २८५ मिटर क्षेत्रमा काम गर्दै छ । ६८ लाख ९३ हजार ३३५ रुपैयाँमा ठेक्का लिएर ट्रस्नाले काम गर्दै आएको हो । यस्तै अर्को ४ सय ७० मिटर खण्डमा १ करोड ५ लाख रुपैयाँमा ठेक्का लिएर नाम्लाक निर्माण सेवाले काम गर्दैछ । यस खण्डमा दुवैपट्टी डेमोक्रेसन वालसमेत रहेको यस खण्डमा कालोपत्रे गरिने ठेकेदार कम्पनीका केशव लिम्बुले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरमा सडक स्तरोन्नकीका धेरै वटा काम भईरहेको बताउनु भयो । निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिँदै उहाँले आवश्यक अनुगमनसमेत गर्दै आएको जानकारी दिनुभयो । नगर प्रमुख प्रसाईले चालुआर्थिक वर्षमा साना ठुला गरेर करिब २ अर्ब रुपैयाँ भन्दा बढीका योजना सञ्चालन भईरहेको बताउनु भयो ।
यस्तै, बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित अदुवा खोलामा धमाधम तटबन्धन भईरहेको छ । बिर्ताबजार पश्चिम पुलको उत्तर भागमा ४४ मिटर क्षेत्रफलमा तटवन्धन कार्य भईरहेको हो ।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत काम भईरहेको वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । यसमा ५ प्रतिशत उपभोक्ताको समेत श्रमदान रहनेछ ।
तटवन्धनले कटानको समस्या हलहुनकासाथै छठ पुजास्थलसमेत व्यवस्थित हुने वडाअध्यक्ष मदन बुढाथोकीले बताउनु भयो । वडा नम्बर १ र ५ को सिमानामा रहेको धिमाल टोल नजिकैको अदुवा खोला किनारमा पनि तटवन्धन कार्य धमाधम भईरहेको छ । ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत नै ६६ मिटर क्षेत्रमा तटवन्धन भईरहेको हो । उक्त योजनाको गत बैशाख २४ गते नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गर्नु भएको थियो । बिर्तामोड नगरपालिकामा संघ, प्रदेश र नगरको गरि २ अर्ब भन्दा बढिका विभिन्न योजनाहरु सञ्चालमा छन् ।
बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । भर्खरै, एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपूर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको थियो ।
सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो ।
सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर चिन्ह प्राप्त पेवर्स लगाईने छ । योसँगै विजुलीको पोलको व्यवस्थापनसमेत गरिने सघन शहरी तथा भवन निर्माण कार्यालय झापाका ईन्जिनियर सुरेश चौधरीले जानकारी दिनुभयो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले धेरै पटकको प्रयासपछि शिर्षक संशोधन गरेर भएपनि यो सडक निर्माण गर्न लागिएको बताउनु भयो । उहाँले समयमा नै काम सम्पन्न गर्नका लागि जनप्रतिनिधि र स्थानीयले सहजीकरण गर्न आग्रह गर्नुभयो । औद्योगिक र व्यवसायिक नगरको रुपमा रहेको बिर्तामोडमा ठेक्का लागेका, सम्झौता भएका योजनाहरुको धमाधम काम भईरहेको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।
वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रसाई, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर उप–सभापति तथा वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कार्यपालिका सदस्य सिता ढुंगाना विक, एमाले नेता रोमणि भट्टराई, छवि गहतराज लगायत टोलविकास समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।
२०८२ साल बैशाख ८ गते ठेक्का सम्झौता भएको यस योजनाको आगामी असार २० गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने छ ।
बिर्तामोड नगरपालिका–७ स्थित हर्चना खोलामा बाढीजन्य जोखिम न्यूनीकरणका लागि तटबन्धन कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । मुन्ना खतिवडाको घरको उत्तरतर्फ तीन खण्डमा फैलिएको १२१ मिटर क्षेत्रमा तटबन्धनको काम भएको छ ।
यो तटबन्धन कार्य कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीको पहलमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट १७ लाख र बिर्तामोड नगरपालिकाबाट फोहोर व्यवस्थापन स्थलको नाममा थप ३ लाख रुपैयाँ विनियोजन गरी उपभोक्ता समितिमार्फत सञ्चालनमा ल्याइएको हो ।
स्थानीयवासीको दीर्घकालीन मागलाई सम्बोधन गर्दै बाढी नियन्त्रणको यो प्रयासमा सहयोग पुर्याउनुहुने प्रदेश सरकारका मन्त्री एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, र वडा नं. ७ का अध्यक्ष अविरल कृष्ण खरेललाई धन्यवाद व्यक्त गरेका छन् ।
बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित जगतबस्ती मस्टोमाण्डु चोकदेखि मुसी चोकसम्मको ४ सय ३५ मिटर सडक कालोपत्रे गरिएको छ । सघन शहरी विकास अन्तर्गतको भ्याटसहित ७४ लाख रुपैयाँमा पृथ्वी निर्माण सेवाले कालोपत्रे निर्माणको काम सम्पन्न गरेको हो । सडकको चौडाई ७ मिटर छ ।
२०१५ साल भन्दा अघिको यो सडक बल्ल कालोपत्रे गर्न सफल भएको वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर १ मा यस वर्ष मात्रै ५ किलो मिटर भन्दा बढी सडक कालोपत्रे भएको जानकारी दिनुभयो ।
…