स्वास्थ्य सेवामा अब्बल कनकाई : प्रभावकारी स्वास्थ्य सेवाले नगरबासीको आयु बढ्यो
कनकाई सेरोफेरो
शिक्षा, स्वास्थ्य, कृषिमा प्राथमिकता नदिएसम्म नगर समृद्ध बन्न सक्दैन भन्ने उदेश्यले झापाको कनकाई नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिदैं आएको छ । कनकाई नगर आधारभूत हस्पिटलसहित नगरका नौ वटै वडामा आधारभूत स्वास्थ्य चौकीबाट नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । नगरमा स्वास्थ्यको विकास भएसँगै मानवको औसत आयुमा समेत प्रभाव परेको छ । केही वर्ष मानवको औसत आयु ५८ थियो भने हाल ७२ वर्ष पुगेको नगरले जनाएको छ ।
कनकाई नगर स्वास्थ्य शाखा मार्फत सञ्चालि कार्यक्रम
कनकाई नगरले स्वास्थ्य शाखा अन्तरगत विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ । स्वास्थ्य शाखाले स्वास्थ्य सम्बन्धी बिभिन्न तालिम, स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम, विभिन्न रोगका बिषयमा जानकारी समेत दिदै आएको छ ।
स्वास्थ्य शाखा मार्फत डेङ्गी रोग नियन्त्रण, राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन, पोषण कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी, उत्तर प्रसुति घरभेट कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी, उप–प्रमुख सुत्केरी पोषण वितरण, कोभिड– १९ विरुद्धको फाईजर खोप सञ्चालन कार्यक्रम भइरहेको नगरपालिका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिए ।
साथै महिला स्वास्थ्य स्वयंसेविका दिवस, स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण तथा व्यवस्थापन, विपन्न नागरिक औषधि उपचार निर्देशिका–२०८० बमोजिम सिफारिस, एच.पि.भि.खोप अभियान, प्रजनन् रुग्णता, जन्मदोषको शिघ्र पहिचान तथा व्यवस्थापन, पूर्णखोप सुनिश्चितताको दीगोपना घोषणा, विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह, स्तनपान कक्ष तथा पोषण कर्नरको स्थापनालगायतका स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जनस्वास्थ्य निरीक्षक अधिकारीले बताए ।
नगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षण नारायण अधिकारीले दिएको तथ्याङ्क अनुसार नगरका ९ वटै वडामा डेङ्गी रोग नियन्त्रण कार्यक्रम अन्तरगत ४ सय ३७ जनालाई अभिमुखिकरण गराइएको छ ।
आर्थिक वर्ष २०८१-०८२ साउन महिनादेखि हालसम्म नगरको स्वास्थ्य शाखा अन्तरगत भएका कार्य सम्पादन अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेर ४ हजार ३ सय ५६ जना बालबालिकाहरुलाई भिटामिन ए तथा ३ हजार ९ सय ६३ जनालाई भिटामिन ए र जुकाको औषधि सेवन गराएको छ ।
यसैगरी स्वास्थ्य संस्थाका ९ जना कार्यक्रम फोकल पर्सनलाई एक पटक पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी गराइएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग १६ जना कर्मचारीलाई उत्तर प्रसुति घरभेट कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी भएको, उपप्रमुख सुत्केरी पोषण वितरण कार्यक्रम अन्तरगत २०३ जना सुत्केरी आमाहरुलाई ३ हजार रुपैयाँका दरले पोषण वापतको रकम वितरण गरिएको, ६ वर्षदेखि ११ वर्ष सम्मका १ सय ५६ जना र १२ वर्षमाथिका ८९७ जनालाई कोभिड १९ बिरुद्धको फाईजर खोप दिइएको नगरले जनाएको छ । कनकाई नगरका ९ वटा वडा अन्तरगत २२ जना स्वयंसेविकाहरु रहेका छन् ।
कनकाई नगरपालिका अन्तर्गतका ९ वटै वडाका २२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका बताइएको छ । नेपाल सरकारले दिएको प्रोटोकल अनुसारका विभिन्न ७९ प्रकारका औषधी तथा सामग्रीहरु कनकाई नगरपालिका अन्तर्गतका ९ वटै सरकारी स्वास्थ्य संस्थाहरुमा वितरण गरिदै आएको छ । निर्देशिका अनुसार ७२ जनालाई विपन्न नागरिकहरुलाई सूचिकृत अस्पतालहरुमा सिफारिस गरिएको छ ।
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएकाहरुलाई औषधि उपचार खर्च उपलव्ध गराउने निर्देशिका – २०७८ बमोजिम ११० जना मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएका बिरामीहरुलाई मासिक ५ हजारका दरले भुक्तानी भइसकेको, एचपिभि खोप अभियानमार्फत गत माघ २२ देखि २८ गतेसम्म विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिका र समुदायका १० देखि १४ वर्षका किशोरीहरु २ हजार ५ सय ८१ जनालाई खोप सेवा प्रदान गरेको, प्रजनन रुग्णता कार्यक्रम अन्तरगत नगरपालिकाका ५ सय ७७ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच र २८ जना महिलाहरुको आङ्ग खस्ने समस्याको पहिचान र ब्यवस्थापन भएको स्वास्थ्य शाखाले जनाएको छ ।
जन्मदोषको शिघ्र पहिचान तथा व्यवस्थापन अन्तरगत कनकाई नगरपालिकाको ९ वटै वडामा रहेका जन्मेदेखि छ वर्ष मूनिका बालबालिकाहरुको जन्मदोषको शिघ्र पहिचान तथा व्यवस्थापनका लागि शिविर सञ्चालनमा ६ सय ४५ जनाको स्क्रिनिङ्ग गरी १९ जना समस्या भएका बालबालिकाहरुको पहिचान भई समस्याको व्यवस्थापन तथा प्रेशण गरिएको छ ।
पूर्णखोप सुनिश्चितताको दीगोपना घोषणा कार्यक्रम अन्तरगत कनकाई नगरपपालिका भित्रका १६ महिनादेखि २३ महिनासम्मका ७ सय ८२ जना बालबालिकाहरु तथा २ वर्षदेखि नेपाल सबै खोप समयमा पूरा गरी यस नगरपालिकालाई मिति २०८१ बैशाख २५ मा पूर्णखोप सुनिश्चितताको दीगोपना घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह अन्तरगत जेठ महिनाको पहिलो हप्तालाई विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउन नगरपालिकाका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट पोषण सम्वन्धी बिभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयहरुमा छ वर्ष माथिका सबै बालबालिकाहरुलाई जुका विरुद्धको औषधि खुवाएर कार्यक्रम सञ्चालन गरिएको साथै स्तनपान कक्ष तथा पोषण कर्नरको स्थापना कार्यक्रम अन्तरगत पोषण कार्यक्रमलाई प्रवद्र्धन गर्न यस आर्थिक बर्ष २०८१-०८२ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र कनकाई–४ ईलुवावारीमा स्तनपान कक्ष र घैलाडुव्वा स्वास्थ्य चौकीमा पोषण कर्नरको स्थापनाका लागि निर्माणाधिन अवस्थामा रहेको बताइएको छ ।
त्यसैगरी पहिलोपटक एक हजार ४ सय ७४ जना गर्भवती महिलाहरु ८ पटक नेपाल सरकारको प्रोटोकल अनुसार ३ सय ७१ जनाको गर्भजाँच भएको छ भने नगर अस्पतालवाट साउन महिनादेखि हालसम्म ४९ जना महिलाहरुलाई सामान्य सुत्केरी गराइएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
स्थानीय सरकार हुनुअघि स्वास्थ्य उपचारका लागि बिभिन्न अस्पताल धाउने बिरामीहरु कनकाई आधारभूत नगर अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचारमा सहज बन्दै गएको छ ।
स्वास्थ्य क्षेत्रको विकाससँगै सरदर मानव आयुमा वृद्धि : कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल
नेपालको संविधान २०७२ ले तय गरेको स्वास्थ्य सम्बन्धी ऐन अनुसार कनकाई नगरले पनि नागरिकलाई स्वास्थ्य सेवा दिदै आएको छ । संघीय सरकार, प्रदेश सरकारले निर्दिष्ट गरेको स्वास्थ्य सेवासँगै कनकाई नगरपालिकाले पनि स्थानीय छुट्टै नीति बनाएर नागरिकहरुलाई सेवा प्रवाह गरिरहेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
नगर प्रमुख पोखरेलका अनुसार २५ बर्ष अघि मानिसको सरदर आयु ५८ वर्ष थियो भने हाल ७२ बर्ष भएको छ । सरदर आयुको अन्तर हेर्ने हो भने पनि स्वास्थ्य क्षेत्रमा निकै प्रगतिको भएको देखिएको छ । त्यस्तै शिशु र बालबालिकाको मृत्यु दरसमेत घटेको नगर प्रमुख पोखरेलको भनाई छ ।
महिला गर्भवती भएदेखि डेलिभरी भएसम्म र शिशु तथा बालबालिकालाई जनचेतना साथै विभिन्न खोप पालिकाका आधारभूत स्वास्थ्य केन्द्र आधारभूत नगर हस्पिटलले दिन थालेसँगै सरदर मानव आयु वृद्धि र बालबालिका मृत्यु दर घटेको पोखरेलले बताए ।
‘म कनकाई नगरमा निर्वाचित भएर आउँदा कनकाई–३ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमार्फत एक जना चिकित्सकले सेवा दिनुहुन्थ्यो’ नगर प्रमुख पोखरेलले थपे ‘त्यहाँ सामान्य औषधी उपचार मात्र हन्थ्यो ।’
नगर प्रमुख पोखरेलका अनुसार हाल उक्त प्राथमिक स्वास्थ्य चौकी कनकाई आधारभूत नगर अस्पतालमा परिणत भएको छ, उक्त अस्पतालबाट दैनिक धेरैले स्वास्थ्य सेवा लिइरहेका छन् । ‘अहिले कनकाई–३ मा नगर अस्पताल, कनकाई–९ स्थित घैलाडुब्वामा स्वास्थ्य चौकी र अन्य ७ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट नागरिकले स्वास्थ्य सेवा लिइरहेका छन्’, नगर प्रमुख पोखरेलले भने ।
कनकाईको स्वास्थ्य क्षेत्रमा आगामी योजना
नगर प्रमुख पोखरेलले कनकाई आधारभूत नगर अस्पतालबाट अहिलेसम्ममा सर्जिकल सेवा दिने सोच भएको बताउँदै अस्पताल भवन समयमा निर्माण सम्पन्न नभएकै कारण दिन नसकेको बताए । ‘अस्पतालको भवन निर्माण भएसँगै आफ्नै कार्यकालमा सर्जिकलसहितको सेवा दिने योजनामा छु ।’ उनले आफ्नै कार्यकालमा नीति, नियम र बिधिले दिने खालका स्वास्थ्य सेवा आफ्नै कार्यकालमा दिने प्रतिवद्धतासमेत गरेका छन् । उनले समयमै स्वास्थ्य वीमावापतको रकम भुक्तानी गरिदिन समेत सरकार समक्ष माग गरेका छन् ।
बीमाको रकम समयमै भुक्तानी गरिदिन माग
नेपाल सरकारले कनकाई आधारभूत नगर अस्पताललाई स्वास्थ्य वीमा कार्यक्रम दिएको बताउँदै नगर प्रमुख पोखरेलले अस्पताललाई आत्मनिर्भर बन्न सहज भएको बताए । तर, स्वास्थ्य बीमा बापतको रकम सरकारले समयमा भुक्तानी नगर्दा समस्या हुने गरेको उनको भनाई छ । ‘समयमा स्वास्थ्य बीमाको रकम भुक्तानी नहुँदा औषधीहरु पनि दिन सक्ने अवस्था छैन ।’ उनले भने ‘बीमाका बिरामी ७ प्रकारका औषधि लिन आउँदा एउटा औषधी मात्र दिनुपर्ने बाध्यता छ ।’
नगरका आधारभूत अस्पतालमा स्वास्थ्य बीमामा आवश्यक भन्दा बढी टेष्ट र औषधी नदिने भएकाले त्यस्ता अस्पताललाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । उनले प्राइभेट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम दिदा आवश्यक भन्दा बढी चेकजाँच र औषधी दिने गरेको बताउँदै अतिआवश्यक भन्दा बढी औषधी नदिनसमेत आग्रह गरे । प्राइभेट अस्पतालमा नदिई नहुने ठाउँहरुमा समय–समयमा अनुगमन गर्नुपर्ने उनले बताए । नगर प्रमुख पोखरेलले प्राइवेट अस्पतालमा पनि मानवीय भाव राखेर आवश्यक भन्दा बढी औषधी र टेष्ट नगराउन उनले आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने
कनकाई नगरपालिकाका नगर आधारभूत हस्पिटल र सबै आधारभूत स्वास्थ्य केन्द्रहरुबाट संघीय संरचना अनुसारका आधारभूत स्वास्थ्य केन्द्रहरु सञ्चालनमा छन् । ०७४ अघि स्वास्थ्य चौकी भएका ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन छन् भने अन्य वडाहरुमा पनि नयाँ आधारभूत स्वास्थ्य केन्द्रबाट नागरिकले सेवा लिइरहेका छन् ।
नगर हस्पिटलले उल्लेखीय सेवा प्रदान गर्दै आएको कनकाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानले जानकारी दिए । ‘१५ शैयाको अस्पतालका रुपमा चालु आर्थिक बर्षको असार मसान्तसम्ममा सक्ने गरी नगर अस्पतालको सम्झौता भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ‘नगरले समय–समयमा अनुगमन गर्ने गरेको छ ।’ नगरले आवश्यकता अनुसार पूर्वाधार तयार गर्ने, औषधी उपलब्ध गराउने, कर्मचारी व्यवस्थापनलगायतका कार्य गर्दै आएको उनले बताए । आधारभूत अस्पतालमा नेपाल सरकारले तोकेका ९७ प्रकार मध्ये प्राय धेरै प्रकारका औषधी अस्पतालले उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
नगरमा स्वास्थ्य क्षेत्रमा त्यति ठूलो समस्या नभएपनि औषधी समय–समयमा नपुग्ने, नपाइने, स्वास्थ्य बीमाको रकम समयमा नआउने भएकाले नगर अस्पताल सञ्चालनमा केही कठिनाई भयो भन्ने गुनासो आउने गरेको उनको भनाई छ । आगामी दिनमा नगरका नागरिकको माग अनुसार आवश्यकता र नगरको क्षमता अनुसार स्वास्थ्य सम्बन्धी योजना बनाएर अघि बढ्ने योजना रहेको उनले जानकारी दिए ।
स्वास्थ्यको क्षेत्रमा बजेटको कमी
कनकाई नगरपालिकामा हाल ५७ हजार १९५ जनसंख्या भए पनि बार्षिक रुपमा एक लाख ५० हजार बढीले कनकाई नगर आधारभूत हस्पिटल र आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिने गरेका छन् ।
राज्यबाट स्वास्थ्य सेवाका लागि बजेट विनियोजित हुँदा लक्षित जनसंख्यालाई आधार मानेर व्यवस्थापन हुने गरेको बताउँदै कनकाई नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नारायण न्यौपानेले भने ‘दुई गुणा बढी सेवाग्राही हुने भएकाले प्रयाप्त औषधी पुर्याउन नसक्नु समस्या हो ।’
उनका अनुसार योसँगै औषधीवापत खर्च, अन्य विभिन्न स्वास्थ्य सम्बन्धी तालिम, गोष्ठि र कार्यक्रम हुने भएकाले पनि बजेट कम हुने गरेको छ । यस कारण पनि लक्ष्य अनुसारको प्रतिफल नदेखिएको उनले बताए ।
यो आर्थिक वर्षको बजेट बिनियोजनमा हाल नेपालमा युवा वर्गमा देखा परेका प्रेसर, सुगर, मुटुरोग जस्ता नसर्ने रोगहरुबाट हुने विरामी र मृत्यु दरलाई कम गराउन समुदायमा युवा लक्षित कार्यक्रमहरु र शिविर गरिने स्वास्थ्य निरीक्षक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरी उक्त समस्यालाई न्यूनिकरणको पहल गरिनेछ । त्यस्तै जेष्ठ नागरिकलाई आँखा जाँच, क्षयरोग सम्बन्धी शिविर तथा जनचेतनामूलक कार्यक्रम, स्क्रीन शिविर र बालबालिकाका लागि पोषण सम्बन्धी कार्यक्रम अन्तरगत उप–प्रमुख सुत्केरी पोषण कार्यक्रम, सुनौलो १००० दिनलगायतका कार्यक्रम गरिने स्वास्थ्य निरीक्षक अधिकारीले बताएका छन् ।
नगर अस्पतालको सेवा
हाल नगर अस्पतालमा ओपिडी सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, आमा तथा नवजात शिशु सेवा अन्तरगत २४ सै घण्टा प्रसुति सेवा, गर्भवती जाँच सेवा, सुत्केरी पश्चातको सेवा इमरजेन्सी सेवा अन्तरगत २४ सै घण्टा सेवा, बिशेषज्ञ चिकित्सक सेवा, बीमा फार्मेसी सेवा, प्रसुतिका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क अक्सिजन वितरण सेवालगायका सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन प्रमुख खगेन्द्र दंगालले जानकारी दिए ।
उनका अनुसार पूर्णकालिन रुपमा ५ जना चिकित्सक रहेका छन् । जसमा कार्यालय प्रमुखका रुपमा डा. रामनरेश सिंहसहित डा. रामकुमार धौगोडा, डा. सुसम पाठक, डा. अन्जीला पौडेल र डा. धमेन्द्र मण्डल पूर्णकालीन हुन् ।
यसैगरी अल्पकालीन विशेषज्ञ चिकित्सकहरुमा भिडियो एक्सरे डा. योग बिजय महत, इन्डोक्राइन सर्भिस डा. करण पोखरेल, स्त्री तथा प्रसुति बिशेषज्ञ डा. सोनु भारती, बालरोग बिशेषज्ञ डा. विकास पौडेल, मानसिक बिशेषज्ञ डा. श्रद्धा भण्डारी, नाक, कान, घाटी बिशेषज्ञ डा. कुशेश्वर साह र न्यूरो सर्जन बिशेषज्ञ डा. बिनोद भट्टराई रहेका प्रशासन प्रमुख दंगालले बताए ।
हाल अस्पतालमा दैनिक ५०० देखि ७०० सम्म बिरामीहरु आउने गरेका कार्यालय प्रमुख डा. रामनरेश सिंहले जानकारी दिए । उनका अनुसार नगर अस्पतालमा सामान्यदेखि लिएर जटिल खालका बिरामी पनि आउने गरेका छन् । अस्पतालमा वार्षिक रुपमा एक लाख ५० हजार बढी बिरामीलाई सेवा दिइदै आएको डा. सिंहले बताए । हाल अस्पतालमा चिकित्सक र कर्मचारी गरेर ७२ जना रहेका छन् ।