जेष्ठ ३०, २०८२ बिहीबार

धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकासमा शिवसताक्षीको प्राथमिकता

शिवसताक्षी नगरपालिका

मनकुमार गदाल

झापाको स्थानीय तहहरुमध्ये शिवसताक्षी नगरपालिका धार्मिक एवम् पर्यटकीय दृष्टिले सम्पन्न छ । दर्जनौं धार्मिक एवम् पर्यटकीय स्थल रहेको शिवसताक्षी आन्तरिक एवम् बाह्य पर्यटहहरुको हरेक दिन स्वागत गरिरहेको हुन्छ । नगरभित्र रहेको दोमुखा पर्यटकीय स्थल झापाको शिवसताक्षी नगरपालिकाको मात्र आकर्षणको केन्द्र नभई कोशी प्रदेशकै आकर्षणको केन्द्र बन्दै गएको छ ।

शिवसताक्षीको धार्मिक तथा अन्य पर्यटन प्रवद्र्धन अहिले तीव्र गतिमा विकास भइरहेको छ । शिवसताक्षी ११ को दोमुखा अहिले स्वदेशी र विदेशी पयर्टकको गन्तव्य स्थल बन्दै गएको छ । दोमुखा पर्यटकीय स्थलसँगै ऐतिहासिक धार्मिक तिर्थ स्थल सताक्षी धाम, चिल्लागढ धाम, माईधार (कन्काई माई धाम) तिर्थस्थल, सताक्षी धाम स्थित गोलोक गोवर्धन गौशाला, अग्लो शिवलिङ्ग, किराँत माङ हिम मन्दिर, मठ मन्दिर, गुम्वा,पोखरी ,सिमसार क्षेत्र तथा हरियाली वन सम्पदाले सजिएको छ । ति सम्पत्तिहरु नगरपालिकाको आकर्षक र रमणीय स्थलका रुपमा स्थापित भइरहेका छन् । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन घोषणासँगै आन्तरिक पर्यटकीय क्षेत्रलाई थप मद्दत पुगेको छ ।

धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक र वाह्य पर्यटक आगमनलाई बृद्धि गर्ने उद्धेश्यका साथ भौतिक पूर्वाधार निर्माणमा लगायतका क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको शिवसताक्षी नगरपालिकाको प्राविधिक शाखाका इन्जिनियर उत्तम बरालले जानकारी दिनुभयो । झापाको शिवसताक्षी नगरपालिकाले वडा नं. ११ मै सतासीधामको अधुरो पाकशाला भवन निर्माण, तेमेनलुम किराँत माङहिम,पराशर क्रषी मक्ष्यगन्धा देवीको मुर्ति सहितको डुङगा र मन्दिर निर्माण, सताक्षीधाम गौशालामा प्राङ्गरिक मल उत्पादनसँगै पूर्वाधार निर्माणमा नगरपालिकाले आर्थिक सहयोग गरेको प्राविधिक शाखाका असिसेन्ट सव इन्जिनियर राम कुमार खतिवडाले बताउनुभयो ।

वडा नं. ११ मा सनातन धर्मालम्वी प्राकृति र आध्यामिक आनन्दको मुख्य थलो वा तिर्थस्थल सताक्षी धाम रहेको छ । सो तिर्थस्थलको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिको अधुरो कार्यालय भवन अर्थात पाकशाला (खाना पकाउने ठाउँ) निर्माण जेठ मसान्तमा सकिने नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

पाकशाला निर्माणको लागि शिवसताक्षी नगरपालिकाको १० लाख रुपैया र उपभोक्ता समितिको ५५ हजार २ सय ८८ रुपैयाँ जम्मा गरी १० लाख ५५ हजार २ सय ८८ रुपैयाँ लगानीमा निर्माण सकिएको अध्यक्ष तुलाराम बोखिमले बताउनुभयो । पाकशालाको रंगरोकन भइरहेको छ । सतासीधाम परिसरमा किराँत समुदायको तेमेनलुम किरात माङहिम (मन्दिर), नेपाल माझी उत्थान संघ झापाले पराशर क्रषी मक्ष्यगन्धा देवीको मुर्ति सहितको डुङगा र मन्दिर निर्माण सम्पन्न गरी सकेको छ । एउटै परिसरमा माङ र शिवको मन्दिरको भवन निर्माण सनातन धर्मालम्वी हिन्दु र किराँत धर्म बीचको धार्मिक सहिष्णुताको परिचय हो ।

तेमेनलुम किराँत माङहिमको पिलर तयार भइसकेको छ । एक तल्ला ढलाइ जेठ मसान्तसम्म सकिने मन्दिर निर्माण समिति अध्यक्ष अर्जुन लावतीले बताउनुभयो । मन्दिर निर्माण स्थलमा भेटिनु भएका अध्यक्ष लावतीले भन्नुभयो, ३ तल्लाको माङहिम बनाउने योजना हो । अरु बाँकी २ तल्ला निर्माण पुरा गर्ने बजेट निरन्तर दिनुहोला । सताक्षीधाममा शिव पार्वती विश्राम स्थल,विरेनुन (औषधी) पानी, तातोपानी, सहस्र गौधारा, नाग गुफा हेर्न लायक सम्पदाहरु रहेको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समिति शिवसताक्षीका सचिव काली प्रसाद रिजालले बताउनुभयो ।

झिलझिले बजारबाट ५ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेको प्राकृति मुर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकार प्रतिकहरु, सताक्षी खोलाको एक स्थानमा बीचभागमा लगभग २० वर्ग मिटर भित्र मात्र निस्कने गन्धक पानी, फेदीमा रहेका अन्य मुर्तिहरुले यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले र मान्चकारी रहेको छ ।

यहाँ जाने भक्तजनहरु आफनो मनोकाक्षा पुरा हुने विश्वासले पुजाआराधन गर्दछन् । सताक्षीधाममा द्रौपदी तलाउ, शिव झरना, आकाश गंगा र पाण्डप बगैचा रहेका छन् । किराँत समुदायको तेमेनलुम किरात माङहिम (मन्दिर) देखि अलिकति उत्तरमा,नेपाल माझी उत्थान संघ झापाले पराशर क्रषी मक्ष्यगन्धा देवीको मुर्ति सहितको डुङगा र मन्दिरभित्र पोखरी पनि निर्माण सम्पन्न गरी सकेको बुझिएको छ । यस संरचना निर्माणको लागि नगरको ५ लाख रुपैयाँ लगानी रहेको प्राविधिक शाखाले जनाएको छ ।

सनातन धर्मालम्वीहरुको लागि आर्कषक स्थल सताक्षीधाम स्थित गोलोक गोवर्धन गौशाला क्षेत्रमा बनाएकोे सवा करोड रुद्राक्ष दाना जडित ५१ फिट अल्गो शिवलिङ्ग छ । यो शिवलिङ्गको लागि मुलुकका ५१ वटा जिल्लाबाट रुद्राक्ष दाना सङ्कलन गरिएको थियो । ५१ दिनमा निर्माण सम्पन्न भएको हो । यो शिवलिङ्ग १ सय५१ जनाले निर्माण गरेको बताइएको छ ।

सतासी धामको गोलोक गोवर्धन गौशाला क्षेत्रमा गौशालामा रहेका गाईको मुत्रसहितको गोबर प्रयोग गरी प्राङ्गरिक मल उत्पादन गर्न पक्की भवनको छत ढलाईको तयारी भएको रिपोटिङ्गमा पुगेको इजलासकर्मीलाई गौशालाका संरक्षक घनश्याम खनालले बताउनु भयो । शिवसताक्षी मार्फत कोशी प्रदेश सरकारको ३० लाख रुपैया सशर्त अनुदानबाट सो पक्की भवन निर्माण हुने प्राविधिक शाखाले जनाएको छ । उपभोक्ताको १ लाख ५८ हजार ६ सय ३८ रुपैयाँ गरी ३१ लाख ५८ हजार ६ सय ३८ रुपैयाँको लगानीमा निर्माण आउँदो असार समान्त सम्पन्न सकिने इन्जीनियहरु बताउछन् । सताक्षीधाम भित्रको केही भौतिक संरचना निमार्णको क्रम पनि जारी रहेको छ ।

निर्माण सम्पन्न पछि बर्खा सकेपछि पूर्व तयारीका साथ प्रचार प्रसारलाई तीव्रता दिने सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति शिवसताक्षीको अध्यक्ष बोखिम र कोषध्यक्ष झमक गौतम भनाई रहेको छ । सताक्षी धामदेखि उत्तर माई नदीको किनारै किनार डाडोमा गएपछि अप्ठायारो भीरमा एउटा गुफा रहेको छ । गुफा भित्र शिव लिङ्ग जस्तो देखिने स्थान पनि छ । पाण्डवहरु गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाउँ बनाएको विश्वास गरिने यस स्थानमा हतपत्त जो कोही पनि नपुग्ने भएकोले कहिलेकाही साधु सन्त बस्ने गरेको पाइन्छ । हिमालय पर्वतले उनको छोरी पार्वतीको विवाह भगवान विष्णुसँग गरीदिन आटेपछि भागेर लुकेको ठाउँ भनी सताक्षीधामलाई लिने गरिन्छ ।

साथै पृथ्वीमा सुख्खा लागेपछि सताक्षी देवीले आफनो सय वटा आँखाबाट एकै चोटी खोला बगाउदा तिनै देवीको नामबाट सताक्षी हुदै सतासी धाम रहेको भन्ने धार्मिक विश्वास पनि रहेको छ । सताक्षी धाम क्षेत्रमा सताक्षी देवी, डिगम्वेशर महादेव, हनुमान गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ ।

कन्काई ७ दुर्गापुरबाट सताक्षीधामको दर्शन गर्न आउनु भएकी ज्येष्ठ नागरिक सुमित्रा शाहले सुख शान्तिको होस भनेर दर्शन गर्न आएको बताउनुभयो । यसैगरी मोरङको झोराहटको लखनतरी गाउँपालिका वडा नं.१ बाट एक समुहमा थारु महिलाहरु धामको दर्शन गर्न आएका हुन् । थारु भेषभुषामा सजिएर आउनु भएकी समुहकी एक सदस्य बोधन कुमारी माझी (थारु) लाई सताक्षीधामको दर्शन गर्न पाउदा धेरै आनन्द मिलेको बताउनु भयो । सताक्षी देवीको दर्शन गरी आफ्नो शरीर, घर परिवारमा सुख शान्ति होस भनी आराधन गरेको बोधन कुमारीको भनाई रहेको छ । पितृ शान्तिको कामना गर्दै यो ठाउँमा सत्विउ छर्ने चलन रहेको स्थानीय बुढापाकाहरुको भनाइ रहेको छ । विशेष गरेर बालाचतुर्दशीको रातमा दियो बालेर जागराम बस्ने परम्परा चलेको कुरा पनि छ ।

साधु सन्यासी जोगी आएर तपस्या गरी बस्ने मुख्य शान्त सितल धार्मिक गन्तव्य बनिसकेको थियो । यसैगरी यही बसी डिगम्वर भएका साधु सन्तको स्मृतिमा समाधी शालिकहरु बनाइएका छन् ।

सूर्य पञ्चाकको पात्रोमा सतासीधाममा बालाचतुदर्शीमा मेला लाग्ने गरेको उल्लेख छ । त्यस बाहेक यहाँको मुख्य विशेषता नागाबाको धुनी पनि हो । जुन अहिलेसम्म पनि निरन्तर रुपमा उत्पति अवस्थामा देखि नै प्रज्जवनशील रहेको छ । यहाँ मंसिर महिनामा बालाचतुदर्शीको अवसरमा ३ दिन र माघे संक्रान्तिको अवसरमा एक दिन मेला लाग्ने गरेको छ ।
यस स्थानमा अन्य समयमा भने मंगलवार र शनिवार भक्तजनको भीड लाग्ने गरेको छ । यस मन्दिर क्षेत्रमा हाल पनि बनभोज खाने समुहहरु आउने गरेका छन् । ऐतिहासिक महत्व बोकेको धार्मिक पर्यटन स्थल सताक्षीधाममा आउने भक्तजनहरुलाई एक छाक खान र एक रात विश्राम गराउने सामुदायिक भवन (धर्मशाला), साधुसन्त आएर बस्ने आवास र पिउने पानीको आवश्यकता रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति शिवसताक्षीका सचिव कालि प्रसाद रिजालले बताउनु भयो ।

पूर्वको पशुपति नाथ मानिने यस धामलाई र अन्य पर्यटकीय क्षेत्रलाई अहिले प्रविधिलाई उपयोग गर्दै तीव्र रुपमा प्रचार गर्नुपर्ने सताक्षीधाम दर्शन गर्न आउनु भएका कन्काई ६ बस्ने युवा उज्ज्वल खतिवडाको सुझाव छ ।

इलाम हँुदै झापा भएर बग्ने कनकाई नदीको पश्चिम क्षेत्रमा चुरे पहाडको फेदको काखमा दोमुखा पर्यटकीय स्थल रहेको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं.१० मा रहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास ब्यवस्थापन संस्थाको क्षेत्रभित्र सुबिधा सम्पन्न वनभोजस्थल, बालउद्यान, बहुसांस्कृतिक संग्रहालय पार्क, स्वीमिङ पुल, पुजा स्नान स्थल, बैष्णुेदेवी मन्दिर, राष्ट्रिय विभूति तथा किराँत धर्मका संस्थापक फाल्गुनन्दको शालिक ,पर्यटन कायालय, झोलुङ्गे पुल, बुद्ध पार्क, फोटो खिच्ने स्थल, पर्यटन प्रहरी विट, बलि पुजा गर्ने स्थान र होटल लजहरू रहेका छन् । नगरपालिकाले पूर्वाधार विकासमा सहयोग गरेपछि यहाँको धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकासमा ठुलो सहयोग पुगेको छ ।

पूर्व पश्चिम राजमार्ग (एसियन हाइवे) माईधार चोकदेखि दोमुखासम्म सडक कालोपत्रे भइ सकेको छ । ३ किलोमिटर २ सय मिटर सडक कालोपत्रे आर्थिक वर्ष ०७९-०८० मा ४ करोड २४ लाख ८३ हजारको लगानीमा निर्माण सम्पन्न भएको शिवसताक्षी नगरपालिकाको प्राविधिक शाखाका इन्जीनियर उत्तम बरालले बताउनु भयो । धेरै वर्षपछि उक्त बाटोमा कालोपत्रे गरिएको हो । पर्यटन क्षेत्रको विकासमा सडक निर्माणले ठुलो सहयोग पुगेको छ ।

दोमुखाको मुख देखि स्वीमिङ्घ पुल जाने बाटो ६० एम,एम थिगनेसको हाइड्रोलिक इन्टरलक ब्लक तथा माइधारको प्रवेशद्धार ८१ लाख ४७ हजारको लगानीमा चालु आर्थिक वर्षको बैशाख मसान्तमा निर्माण सकिएको योजना शाखाले जनाएको छ । यसको लम्वाई ७ सय ३० मिटर रहेको छ । दोमुखाको चमेना गृह तथा रंगरोगन लाइटीङको काम भइरहेको छ । ८१ लाख ४७ हजारको लगानी निमार्ण भइरहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले जनाएको छ ।

आर्थिक वर्ष ०७९-०८० मा ५५ लाख ८ हजार सहारा नेपाल र शिवसताक्षी नगरपालिकाको साझेदारीमा फलामे पुल निर्माण गरिएको छ । दोमुखा क्षेत्रमा ५२ वटा सडक बत्ती, दोमुखाको झोलुंगे पुललाई झिलीमिली पार्ने बत्ती जडान, एउटा कार्यक्रम स्टेज र केही भागमा हाइडोलिक इन्टर ब्लक लगाउने साथै दोमुखामा एक जोडी असला माछाको मुर्ति बनाउने काम भइरहेको समितिले जनाएको छ ।

माइधारमा रहेको प्रवेशद्धारमा शिव पार्वती एवम् सिलाम साक्माको मुर्ति राख्ने काम भइरहेको छ । यो निर्माणको काम असार मसान्तसम्म सकिने नगरपालिकाको योजना शाखाले जनाएको छ । यसको लागत १ करोड २१ लाख ६९ हजार रहेको इन्जिनियर बरालले जानकारी दिनुभयो । पूर्व पश्चिम राजमार्ग (एसियन हाइवे) माईधार चोकदेखि दोमुखासम्म ३ किलोमिटर रहेको बताइएको छ ।

दोमुखा परिसरभित्र हेर्न लायक ३ सय रंगीन छाताको सजावटले पनि सबैको मन लोभ्याउने गरेको छ । वनभोज टोली प्रतिदिन २०–३० सम्म आउने, मुख्य कात्तिकदेखि चैत्रसम्म सिजन रहेको छ । नेपालका झापा, मोरङ, इलाम जिल्ला मात्र नभएर दोमुखाले भारतको सिक्कीम, मिरिक,कालेपुङ्घ लगायतका शहरको पर्यटकलाई आकर्षित गरेको दोमुखा धार्मिक तथा पर्यटकीय संस्थाका उपाध्यक्ष रमेश तिम्सिनाले बताउनु भयो । थोरै भए पनि अमेरिकन पर्यटकहरु पनि बेलाबेलामा आउने गरेको तिम्सिनाले बताउनुभयो ।

हिजोभन्दा आज दोमुखाले धेरै पर्यटक आर्कषण गरिरहेको छ । अझै धेरै पर्यटक आर्कषण गर्न रात्रीकालिन पर्यटक बस्न रमाउन मिल्ने वातावरण बनाउनु पर्ने दोमुखामा भेटिनु भएका शिवसताक्षी १० स्थित टेक्राको दिपेन्द्र आधारभूत विधालयका शिक्षक नारायण प्रसाद ढकालको सुझाव रहेको छ ।

ऐतिहासिक साँस्कृतिक क्षेत्र चिल्लागढधाम शिवसताक्षी ९ मा पर्छ । समतल ठाउँको बीच भागमा उपत्यका जस्तो देखिने भुभागमा पोखरी रहेकोे छ । पोखरीमा कमलका फुलहरु ढकमक फुली रहेको देखिन्छ । पोखरी पसिरको पूर्वमा किराँत माङहिमको मन्दिर ,पश्चिममा महारानी माताको मन्दिर रहेको देखिन्छ । पोखरी वरीपरी इन्टरलक ब्लक विछाएको छ । पोखरीको वरीपरी फलामको रेलिङ र सोभित्र आउने जाने फलामको ३ सिढी बनाएको नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

पोखरी सौन्दर्यकरणका लागि नगरपालिकाको १० लाख लगानी पछि निर्माण कार्य सम्पन्न भएको प्राविधिक शाखाका असिसेन्ट सव इन्जीनियर खतिवडाले बताउनु भयो । चिल्लागढ धाम परिसरमा किरात माङहिम,भगवती माता, सिताराम,शिव मन्दिर,भिमेश्वर शिवालय ,दुर्गा मन्दिर र राष्ट्रिय विभूति फाल्गुनन्दको शालिक रहेको मन्दिर ब्यवस्थापन समिति अध्यक्ष शिशिर तुम्वापोले बताउनु भयो ।

ओझेलमा परी रहेको चिल्लागढ धामलाई अगाडी बढाउने मन्दिर समितिको योजना के छ भन्ने प्रश्नमा समिति अध्यक्ष तुम्वापो स्थानीय सरकारसँग समन्वय सहकार्य गरी धाम परिसरमा भौतिक पूर्वाधार निर्माण गरिरहेको बताउनु भयो । यहाँसम्म आइपुग्ने सडकको स्तरउन्नति, पूर्व पश्चिम राजमार्गको सडकमा प्रवेशद्धारहरु राख्ने र प्रचार प्रसारका लागिपर्ने बताउनु भयो । सम्वन्धित सरोकारवालाहरुले प्रचारमा सहयोग गर्न अध्यक्ष तुम्वापोको आग्रह छ ।

शिवसताक्षी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले स्थानीय पर्यटकीय स्थलहरुको विषय समेटेर पाठ्यक्रम बनाएर अध्यापन गराउनुपर्ने नेपाल इनभेष्टमेन मेघा बैक शिवसताक्षी शाखा प्रवन्धक पुजा अधिकारीको धारणा रहेको छ । पर्यटकीय र धार्मिक स्थलको उत्पत्ति, महत्व, विशेषता र चिनारी समेटेर वेइभसाइड ,सामाजिक सञ्जाल बनाएर जानकारी दिनुपर्ने, त्यस्ता सार्वजानिक स्थलहरुमा स्थानीय सरकारले फ्रि वाईफाई छोडनुपर्ने अधिकारीको सुझाव रहेको छ । पर्यटकीय गन्तब्यका स्थलहरुमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट ब्यापक प्रचार गर्नुपर्ने शिवसताक्षी ११ बस्ने सविना बस्नेतको सुझाव छ ।

चिलागढ धामकी महारानी (पुजारी) तुलसीदेवी कार्की काफ्ले सताक्षीदेवीले आराधना गर्दा प्रसन्न भइ बरदान दिएको धाम भएकोले यसलाई पूर्वको मात्र नभई नेपालको केदारधाम बनाउनुपर्ने उहाँको माग छ । भारतको केदारधाम केबल बनाएको मात्र हो । यहाँ त सताक्षी देवीले दर्शन दिएको ठाउँ भएकोले यस धामलाई केदार धाम बनाउन पहल सबैले गर्नुपर्ने महारानीको अपिल छ । चिल्लागढधाम शिवसताक्षी–९ का बासिन्दा महेश्वर अधिकारी र टंक संग्रौला उहिले पाँच पाण्डवले बनबास जाँदा यहाँ यज्ञ गरेको भन्ने किम्बदन्ती रहेको बताउनु हुन्छ ।

स्थानीय स्तरमा सामुदायिक मात्र नभएर निजी लगानीमा झिलझिले वाटरपार्क रिसोर्ट पनि सञ्चालन गरिएको छ । जहाँ स्विमिङ पुल, नौ प्रकारका वाटर खेल, ४५ मिटर सुरुङ्ग, वेभ पुल सञ्चालन गरी स्थानीय र वाह्य पर्यटकलाई सेवा दिई रहेको छ । ४२ करोड लगानीको जीप फ्लाइङ र साइक्लिङ सुविधा रहेका छन् ।

शिवसताक्षी नगरपालिकाले धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकासका लागि वार्षिक रुपमा करोडौं रुपैयाँ लगानी गर्दै आर्थिक स्रोत वृद्धिमा ध्यान दिइरहेको नगर प्रमुख रोशन थ्रोप्राको धारणा छ । सडक पूर्वाधार मात्र नभई पर्यटकीय एवम् धार्मिक संरचनामा समेत सहयोग गरिरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बुधबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]