बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमको तयारी पुरा
बिर्तामोड । बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमको तयारी पुरा भएको छ । गोर्खा फाउण्डेशन नेपालले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
गव वर्षबाट सुरु गरिएको बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमलाई निरन्तरता दिदैं आगामी जेठ ३१ गते विर्तामोडमा भव्य कार्यक्रमका बीच सम्मान गरिने फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले जानकारी दिए । उनका अनुसार वर्ष बरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई बिसे नगर्ची राष्ट्रिय व्यक्तित्य सम्मान प्रदान गरिने छ ।
यस्तै, गीत संगीत, साहित्य तथा शिक्षा सेवाबाट हस्त परियार, पहिलो फिफा रेफ्री श्याम दनुवार, पत्रकार पर्वत पोर्तेल, कलाकार सुवास मेचे र पहिलो महिला अटो मेकानिक निरु परियारलाई सम्मान प्रदान गरिने जनाइएको छ । गोर्खा फाउण्डेशनको प्रमुख कार्यक्रमको रुपमा रहेको यो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न जिल्लाका २५ वटा सामाजिक संघ संस्थासँग सहकार्य गरिने महासचिव सुवास तिखत्रीले जानकारी दिए । उनले दार्जिलिङबाट मारुनी नाच र मादल टोली समेत सहभागी हुने जानकारी दिए ।
यस वर्षबाट नगद सम्मान हटाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक रोशन नेपाली, प्रमुख सल्लाहकार नगेन शंकर, सदस्य राज शिवा लगायतको उपस्थिति रहेको थियो ।