जेष्ठ ३१, २०८२ शुक्रबार

बिर्तामोडको फोहोर स्थायी रुपमै व्यवस्थापनको तयारी

बिर्तामोड । झापाको बितामोड नगरपालिकाले हरेक वर्ष भोग्दै आएको फोहोर व्यवस्थापनको समस्या अहिले सुनसान जस्तै छ । फोहोर उठाउनेले उठाइरहेका छन्, व्यवस्थापन गर्नेले गरिरहेका छन् । जसका कारण समस्या बाहिर आइरहेको छैन । दीगो व्यवस्थापन पनि हुन सकिरहेको छैन ।

केहि वर्षअघिसम्म फोहोर नउठाउने, उठाएको फोहोर व्यवस्थापनमा स्थानीय अवरोध हुने समस्याले बिर्तामोडलाई निकै चुनौतिको सामना गर्नुपरेको थियो । अहिले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा फोहोर संकलकले नियमित व्यवस्थापन गर्दै आएको मेघराज बाँस्तोलाले जानकारी दिए । उनका अनुसार बिर्तामोडबाट दैनिक २० ट्याक्टर फोहोर संकलनसँगै व्यवस्थापन हुने गरेको छ ।

बिर्तामोड नगरपालिकामा २०७६ सालदेखि फोहोर संकलनको काम गर्दै आएको निजी कम्पनी निराकार सरसफाई सेवा प्रा.लिले ५० जना संकलक परिचालन गरेर नगरक्षेत्रभित्र सरसफाईको काम गर्दै आएको छ । सदस्य बनेका घरघरमा फोहोर संकलन गर्नेदेखि सार्वजनिक स्थल, सडक क्षेत्रमा समेत उक्त कम्पनीले सरसफाई गर्दै आएको छ ।

नगरपालिकाले यसअघि विभिन्न सार्वजनिक तथा निजी जमिनामा फोहोर पुर्ने गरेको थियो । जमिनधनीले फोहोर व्यवस्थापनका लागि ठाउँ उपलब्ध गराउँदा पनि छिमेकीहरुको विरोधले समस्या हुने गरेको थियो, बाँस्तोला भन्छन् । सोही कम्पनीले कार्यसम्पादनका आधारमा समय थप गर्दै फोहोर संकलनको काम गर्दै आएको छ । हरेक विहान फोहोर संकलन गरेर व्यवस्थापनको काम भइरहेको उनको भनाई छ ।

निराकार सरसफाई सेवा प्रालिको प्रशासन प्रमुख लिला बाँस्तोलाले बिर्तामोडमा ५५ सयले सदस्यता लिएका छन् । कम्पनीसँग फोहोर व्यवस्थापनका लागि सदस्य बनेकाहरुको संख्या बिर्तामोडका लागि अति न्यून हो । ठुलो शहरमा ५५ सय सदस्य अत्यन्तै थोरै संख्या हो, बाँस्तोलाले भनिन्, ‘एउटै घरमा ५-७ वटा व्यापारिक फर्मले समेत सदस्यता लिएका छन् ।’
बिर्तामोड नगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड छैन । फोहोर व्यवस्थापनमा नगरपालिकाको तर्फबाट सहजीकरण गर्दै आएका बाँस्तोलाले अब ‘नो डम्पिङ’ अभियान सुरु भइसकेको बताए । यो समय डम्पिङ साइडको समय होइन, अब प्रविधिको प्रयोग गरेर फोहोरको व्यवस्थापन गर्नुपर्छ ।

अहिले बिर्तामोड क्षेत्रमा संकलित फोहोर वर्गीकरण नगरी उठाउनु परेको निराकार सरसफाई सेवा प्रालिले जनाएको छ । फोहोर दिने नगरवासीलाई सड्ने, गल्ने, धातु र सिसाजन्य फोहोरको वर्गीकरण गरेर दिन आव्हान समेत गरिएको थियो । नगरवासीहरुले वर्गीकरण गरेर फोहोर उपलब्ध नगराउदा व्यवस्थापनमा असहयोग भइरहेको छ ।

फोहोर व्यवस्थापनका लागि बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकाले संयुक्त लगानी गरेर कनकाई विर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीमा करोडौं लगानी गरेका छन् । नागरिक र सरकारी लगानीमा सञ्चालित उक्त परियोजनामा फोहोरको वर्गीकरण गरेर पुराउनु पर्छ, वर्गीकरण नगरी फोहोर पुराउदा सञ्चालनमा समस्या भएको हो ।

उता, बिर्तामोडको फोहोर उर्जा प्लान्टमा लैजादाँ स्थानीयले अवरोध समेत गरेका थिए । फोहोरबाट वायो ग्यास उत्पादन गर्ने र फोहोरको समेत व्यवस्थापन गर्ने उद्देश्यले सुरु भए पनि स्थानीय तहहरुलाई सहयोग नहुँदा दोहोरो मारमा परेका छन् । फोहोर दिनेले वर्गीकरण नगरी दिने र व्यवस्थापनमा स्थानीयले अवरोध गर्ने हुँदा करोडौं लगानीमा निर्मित परियोजनाको पूर्ण रुपमा उपयोग गर्न नसकिएको बताइएको छ । उक्त परियोजनाका लागि आवश्यक फोहोर समेत पुराउन नसक्दा अहिले वायो ग्यास उत्पादन समेत प्रभावित भएको छ ।

बिर्तामोडकी अगुवा महिला गंगा शिवाकोटी ढकालले फोहोर उत्पादन गर्नेहरुले कसरी व्यवस्थापन गरिरहेका छन्, त्यसको अनुगमन हुनुपर्ने बताइन् । उनले फोहोर व्यवस्थापनका लागि दीर्घकालिन योजनाको जरुरी रहेको जानकारी दिइन् । बिर्तामोडको फोहोर व्यवस्थापनमा प्रविधिको प्रयोगबाट नष्ट गर्ने वातावरण बनाउन उनको आग्रह छ । उनले खोला छेउछाउका घरहरुले फोहोर उत्पादन गरेर कहाँ व्यवस्थापन गरिरहेका छन् त्यसको समेत अनुगमन हुनुपर्नेमा जोड दिइन् ।

बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अस्थायी रुपमा नगरभित्रै फोहोर व्यवस्थापन भइरहेको जानकारी दिए । उनले आउँदो वर्षबाट कनकाईमा नै स्थायी व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताए । उनका अनुसार सरकारसँग वायो ग्यास प्लानलाई पूर्ण रुपमा सञ्चालन गर्न बजेट माग गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको उपप्रमुख संगौलाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८२ बिहीबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]