कनकाईका अधिकांश सडकमा कालोपत्रे र पेवर्स : अबको प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि
कनकाई सेरोफेरो
झापाको कनकाई नगरपालिका जिल्लाका अन्य पालिकाहरुभन्दा पृथक छ, किनभने कनकाई बन्द निषेधित पालिका हो । कनकाईको पहिचानका रुपमा रहेको बन्द निषेधित क्षेत्र स्थानीय राजनीतिक दल, नागरिक समाज, स्थानीय संघ संस्था र अगुवाहरुको अगुवाईमा संभव भएको हो । जिल्लाकै मध्य भागमा अवस्थित कनकाई नगरपालिकाभित्र स्थापित हुँदै गरेको शहर सुरुङा र पहाडी भूभागको प्रवेशद्वार दुर्गापुर बन्दै गएको छ । विभिन्न सूचकहरुमा अग्रस्थानमा रहेको कनकाई नगरपालिकाको पछिल्लो समय भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेको प्रगतिले पूर्वाधारमा कायापलट नै गरिरहेको छ ।
विकासप्रति सचेत नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले दुई पटक जनमत प्राप्त गर्दा कनकाई नगरभित्रको भौतिक पूर्वाधारको क्षेत्रमा निकै योगदान गरिसकेको अवस्था छ । भौतिक पूर्वाधार विकासको मुल आधार मानेको कनकाईले सडक पूर्वाधार तर्फ उल्लेख्य काम गरिसकेको छ । केहि वर्षअघिसम्म धुलाम्मे र हिलाम्मे सडकको दयनीय अवस्था झेलेको कनकाईमा अहिले कालोपेत्र र पेवर्स लगाइएका बाटोहरु गन्ती गर्न कठिन हुन्छ । जनताको आवश्यकता र विकासको भावना बुझ्न सक्ने नेतृत्व भएकै कारण कनकाईले भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको हो ।
कनकाइको लक्ष्मी मार्गमा कालोपत्रे भइरहेको छ भने जामुनबारी चोक – वनपथ हुँदै वायोग्यास जाने सडकमा पेवर्स विच्छ्याउने काम तीब्र गतिमा भइरहेको छ । सुरुङा चोक उत्तरमा रहेको कृषि बजारमा भव्य कृषि भवन निर्माणको काम चलिरहेको छ । कनकाई नगरभित्र आवतजावत गर्दा प्रायः कालोपत्रे सडक र पेवर्स विनाका सडकहरु भेटिदैनन् । अधिकांश जसो सडकहरु निर्माण गरिसकेको कनकाईले भौतिक पूर्वाधार तर्फको कामलाई निरन्तरता दिइरहेको छ ।
व्यवस्थित कृषि बजारको अवधारणाबाट निर्माण सुरु गरिएको कृषि बजारको काम धमाधम भइरहेको छ । दुई तले कृषि भवनमा ढलाईका लागि तयारी अवस्था बनाइएको छ । कृषि व्यापारका लागि ६६ वटा कोठा रहने उक्त भवनमा फलफूल र सागसब्जी व्यापारका लागि मुख्य केन्द्र बनाउने लक्ष्य रहेको छ ।
वडा नं. १ को पशुपति प्रावि र वडा नं. २ को आनकी आधारभुत विद्यालयमा फलसिलिङको काम सकेर रंगरोगनको समेत काम सम्पन्न गरिएको इन्जिनियर विशाल थेवेले जानकारी दिए । उनका अनुसार वडा नं. २ को सरस्वती माविमा सुविधा सम्पन्न पुरुष शौचालय निर्माणको काम जारी रहेको छ । यस्तै, सोही वडाको पञ्चकन्या प्राविमा प्लाष्टरको कामसँगै रंगरोगनको काम सम्पन्न गरिएको बताइएको छ । यस्तै, वडा नं. ३ मा रहेको कनकाई माविमा पेवर्स लगाउने काम गरिएको छ ।
इन्जिनियर थेवेले दिएको जानकारी अनुसार १२८३.५० मिटर लम्बाईको लक्ष्मी मार्गको कालोपत्रे सम्पन्न गरिएको छ । १ करोड ३४ लाख ७८ हजार ४४० रुपैयाँको लागतमा लक्ष्मी मार्गको कालोपत्रे सम्पन्न गरिएको हो । वडा नं. ५ मा ३५० मिटर लम्बाई रहेको स्वर्गद्वारी मार्गमा कालोपत्रे जेठ मसान्तभित्र सम्पन्न हुनेछ । २८ लाख ५१ हजार ७१५ रुपैयाँ लागतमा उक्त कालोपत्रे सम्पन्न हुनेछ ।
जामुनबारी चोकबाट वायोग्यास जाने बाटोमा पेवर्स लगाउने काम असार मसान्तभित्र सम्पन्न गरिने बताइएको छ । २ करोड ८३ लाख ८५ हजार ८८२ रुपैयाँ लागतमा पेवर्स लगाउने काम भइरहेको थेवेले जानकारी दिए ।
वडा नं.६ को वडा कार्यालय मर्मत सम्पन्न गरिएको छ भने कार्यपालिकाको कार्यकक्ष समेत निर्माण गरिएको छ । वडा नं. ८ मा रहेका विभिन्न सडकहरु, हिमाली मार्ग मर्मत, महिला मार्ग, वडा नं. २ र ७ को घेरावारा, घैलाडुब्बा स्वास्थ्य चौकीको घेरावारा तथा स्तरोन्नतिको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने छ ।
१५ शैयाको कनकाई नगर अस्पतालको भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त भवन निर्माणका लागि ५ करोड ६५ लाख, १९ हजार, ५३८ रुपैयाँ लागतमा सम्पन्न हुने जनाइएको छ । सुविधा सम्पन्न अस्पताल निर्माणले नगरबासीलाई स्वास्थ्य उपचारमा ठुलो समस्या समाधान हुने छ । अस्पताल निर्माणको काम ०८३ जेठ १५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । कनकाई नगरपालिकाले कृषि भवनका लागि ४ करोड ५० लाख २९ हजार ११२ रुपैयाँ खर्च गरिने जनाएको छ । सो भवन निर्माणपछि कनकाईमा व्यवस्थित कृषि बजारको सपना पनि पुरा हुनेछ ।
यस्तै, वडा नं. १ मा उपभोक्ता समिति मार्फत दुर्गापुर दानावारी मार्ग सुभद्रा खनालको घर नजिकै प्लम निर्माणको काम सम्पन्न भएको छ । सोही वडाको आधारभूत स्वास्थ्य केन्द्र हुँदै दानावारी मार्ग जोड्ने सडकमा प्लम निर्माण, फारलाइन पर्यापर्यटन, पुरानो काठ मिल जाने बाटो, रमाइलो वस्ती लिला अधिकारीको घर जाने बाटोमा पेवर्स लगाइएको छ । सो वडामा सडकको स्तरोन्नति, नदि नियन्त्रण, विद्यालयको पूर्वाधार निर्माण, विधुत पोल तथा सडक बत्ति मर्मत, ज्येष्ठ नागरिक चौतारीमा प्लम निर्माण, सिँचाई, खानेपानी योजना र साुमदायिक भवन निर्माण लगायत दर्जनौं योजनाहरु सम्पन्न गरिएको इन्जिनियर थेवेले जानकारी दिए ।
वडा नं. २ मा पनि दुई दर्जन योजनाहरु सम्पन्न भइसकेका छन् । कतिपय योजनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना छ । बाटोको स्तरान्नतति,ह्युम पाइपसहित प्लम लगाउने कामहरु सम्पन्न गरिएका छन् भने ग्राभेलसहित प्लम केहि योजना सम्पन्न भइसकेको छ । प्लम वाल, बाटोको स्तरोन्नति, नदि नियन्त्रण, विद्यालयका पर्खाल मर्मत, रंगरोगन, प्लाष्टर लगायतका काम गरिएको छ । विधुत पोल विस्तार, मन्दिरको घेरावारा, डाँडागाउँमा चौतारी निर्माण, सुकेडाँगी सामुदायिक वनका लागि शौचालय निर्माण लगायतका काम सम्पन्न गरिएका छन् । पेरिस डाँडा खानेपानीको ट्याङकी निर्माण, वडा कार्यालय घेरावारा, सुर्योदयद मार्गमा पेवर्स लगाइएको छ । जुकेखाडी टोल मार्गमा प्लम निर्माण, धनुषकोटी सिमसार मार्गमा प्लम निर्माण गरिएको छ भने ढुंगे खोला सरसफाई, डाँडागाउँ टोलमा विधुत विस्तार लगायतका महत्वपूर्ण योजनाहरु सम्पन्न गरिएको छ ।
वडा नं. ३ मा दुई दर्जनभन्दा धेरै योजनाहरु सम्पन्न भइसकेका छन् । केहि योजनाहरुको काम भइरहेको इनिजनियर थेवेले जानकारी दिए । कनकाई माविको खेल मैदानको दक्षिण सडकमा पेवर्स लगाइएको छ । कमलापति तिवारीको घरसम्म जाने अधुरो बाटोमा पवर्स लगाइएको छ । वडाभित्र यस्ता दर्जनौ सडकहरुमा पेवर्स, ग्राभेल, सडक प्लम निर्माणका कामहरु सम्पन्न भएका छन् । ज्येष्ठ नागरिक भवन जाने बाटो, जनचेतना मार्ग, सरस्वति मार्ग, गोकुल उप्रेतीको घर दक्षिण पश्चिमका सडकहरुमा पेवर्स लगाइएको छ ।
वडा नं. ४ मा चालु आर्थिक वर्षमा मात्रै १२ सय मिटर कालोपत्रे, ८४९ मिटर ग्राभेल, ५०२ मिटर पेवर्स, ६७१ मिटर प्लम लगाउने काम गरिएको छ । वडा नं. ५ मा ३४५६ मिटर सडक ग्राभेल गरिएको छ भने ५० मिटर सडकमा पेवर्स लगाइएको छ । २५० मिटरमा प्लमवाल निर्माण गरिएको इन्जिनियरहरुले जानकारी दिएका छन् ।
यस्तै, वडा नं. ६ मा २५७५ मिटर सडकमा ग्राभेल गरिएको छ भने ८३७ मिटरमा पेवर्स र प्लम लगाइएको छ । वडा नं. ७ मा १२२७ मिटर सडकमा ग्राभेल गरिनुका साथै २३१ मिटर सडकमा पेवर्स लगाइएको छ । ५१० मिटर प्लमवाल निर्माणको काम सम्पन्न गरिएको छ ।
वडा नं. ८ मा २७६ मिटर सडकमा कालोपत्रे गरिएको छ भने १३७ मिटर सडकमा पेवर्स लगाइएको छ । वडा नं. ९ मा ५३५.५ मिटरमा ग्राभेल गरिएको छ भने २४२ मिटर प्लम वाल निर्माण गरिएको छ । १ ठाउँमा कल्भर्ट समेत निर्माण गरिएको प्राविधिक शाखाले जनाएको छ ।
सडकको बजेट कम गरेर शिक्षा, स्वास्थ्य र कृषिमा लाग्छौ
राजेन्द्र कुमार पोखरेल
नगर प्रमुख
कनकाई नगरपालिकामा सडक पूर्वाधार क्षेत्रमा अधिकतम काम सम्पन्न भइसकेको छ । अब, आगामी वर्षहरुबाट सडक पूर्वाधारको कामलाई विगतमा जस्तो मुख्य प्राथमिकतामा राख्नुपर्ने देखिदैन । पहिले नगरभित्रको सडक संरचनाको अवस्था दयनीय नै थियो । पूर्वपश्चिम लोकमार्गमा कालोपेत्र देखिन्थ्यो । त्यसबाहेक कालोपत्रे सडकहरु कमै थिए । पानी पर्दा होस् या हिउँदमा होस् हिलो र धुलोले नागरिकलाई समस्या थियो । अहिले जतिसुकै पानी परे पनि पेन्ट सुर्किनु पर्दैन, आवतजावत रोकिदैन ।
नगरभित्र करिव ६० किमि सडक कालोपत्रे भएको छ भने २० किमि सडकमा पेवर्स लगाइएको छ । अन्य सडकहरु पूर्ण रुपमा ग्राभेल लगाउने काम भइसकेका छन् । सडक पूर्वाधार निर्माण भएका कारण नगरभित्रको आवतजावत अत्यन्तै सहज भएको छ ।
अब १-२ ठाउँका सडकहरु पनि ५०-६० प्रतिशत काम सम्पन्न भइसकेको छ । नगरपालिकाले बाटोकै लागि ठुलो चिन्ता लिनुपर्ने अवस्था अब कनकाईमा छैन । सडक सञ्जालमा कनकाईले उल्लेख्य रुपमा काम गरिसकेको हुँदा अब कृषि, शिक्षा र स्वास्थ्य तर्फ केन्द्रीत हुने योजना छ । नगरवासीहरुको आकांक्षा भनेको आफ्नो घर अगाडिको सडक कालोपत्रे नै होस् भन्ने चहाना हुन्छ । कृषि, शिक्षा र स्वास्थ्यको विकास माग्ने भनेको १० प्रतिशत मात्रै हो । बाँकी सबैले सडकमा कालोपत्रे र पेवर्स नै माग गरिरहेको पाइन्छ ।
जुन सडकमा सवारीको चाप छ, नागरिकहरुले धेरै प्रयोग गर्ने गरेका छन् भने त्यस्ता सडकहरु बनाउन बाँकी छैन । दिनमा ५ वटा गाडी नकुद्ने, मान्छेहरुको हिडडुल समेत नहुने सडकहरुमा कालोपत्रे नमाग्न अनुरोध नै गरिरहेका छौं । यहाँका मुख्य सडकहरु निर्माण सम्पन्न भइसकेका छन् । अमरपथ सडक, लक्ष्मी मार्ग, पञ्चायत मार्गको निर्माण सम्पन्न भइसकेको छ भने जनपथ र भृकुटी सडक यसै आर्थिक वर्षभित्र सम्पन्न हुने छ । लक्ष्मीपुर–घैलाडुब्बा सडकको निर्माण सम्पन्न भइसकेको छ भने अधिकांश बजार क्षेत्रहरुमा पेवर्स लगाउने काम गरिएको छ ।
आगामी वर्षहरुमा सडक पूर्वाधारका लागि बजेट कम गरेर नागरिकको जीवन उकास्ने कार्यक्रमहरुमा थप लगाउने बढाउने योजना छ । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्ने तयारी छ । सडक पूर्वाधार निर्माण भएकाले स्थानीय उत्पादनलाई सहजै बजार पुराउन सकिएको छ । सडक नहँुदा आफ्नो उत्पादन बजारसम्म पुराउन समस्या थियो । अहिले किसानले आफ्नो उत्पादनको उचित मुल्य समेत पाउनु भएको छ । सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्रहरुमा समेत ठुलो सहयोग पुगेको छ । निर्माणमा पनि गुणस्तरीयतालाई विशेष ख्याल गरिएको छ । इन्जिनियरहरुले हरेक सडक निर्माणमा त्यसको गुणस्तर परीक्षणमा ध्यान दिइरहेका अवस्था छ ।
कतिपय ठुला योजनाहरुका लागि पहुँच नहुँदा समस्या हुने रहेछ । जसरी स्थानीय तहले संकलन गरेको राजश्व वैज्ञानिक हिसावले पठाइन्छ, त्यसरी नै विकासका योजनाहरु स्थानीय तहमा वितरण हुनुपर्ने हो । तर, क्षेत्रबाट निर्वाचित सांसदले पनि आफ्नो निर्वाचन क्षेत्रमा समान हिसावले विकासको वितरण गरिरहेको पाइदैन । कनकाईमा त्यस प्रकारका ठुला योजनाहरु नआएको स्पष्ट छ । जम्मा २ वटा योजना मात्र कनकाईले पाएको छ । जे होस्, सडक सञ्जालमा अगाडि बढिसकेका छौं, केहि अति जरुरी पुल निर्माणमा समस्या भएको छ । त्यो पनि विस्तारै निर्माण गरेर जाने योजना छ ।
अहिले कनकाई नगर अस्पताललाई हेर्दा आनन्द लाग्छ । त्यहाँका विरामीहरुसँगको भलाकुसारीले सन्तुष्ट बनाउने गरेको छ । लाखौं रुपैयाँ तिरेर बाहिर उपचारमा जानुपर्ने बाध्यता अन्त्य भएपछि विरामीहरुले अस्पताललाई अझ राम्रो बनाउन सूझाव दिइरहनु भएको छ । नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर विहान ७ बजेदेखि ओपीडी सेवा सञ्चालन गरिरहेका छौं । जहाँ विशेषज्ञ सेवाहरु उपलब्ध गराइन्छ ।
अब हिलाम्मे र धुलाम्मे सडक भेटिदैन
रोशन सुवेदी
वडाध्यक्ष, वडा नं. ४
स्थानीय तहको निर्वाचन अघि पूर्वपश्चिम रोडबाहेकमा कालोपत्रे देख्न मुस्किल थियो । जहाँ जाँदा पनि हिलाम्मे र धुलाम्मे सडकमा हिडडुल गर्नुपर्ने बाध्यता थियो । अहिले सडक पूर्वाधारको क्षेत्रमा कायापलट भएको छ । वडा नं. ४ मा मात्रै ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सबै वडाहरुमा अहिले कालोपत्रे पुगिसकेको छ । कनकाईका सबै महत्वपूर्ण बाटोहरुमा कालोपत्रे भइसकेको छ । जुनसुकै बाटोमा गए पनि कालोपत्रे सडक, पेवर्स लगाएको सडकमा आवतजावत गर्न सकिन्छ । सडकलाई व्यवस्थित गर्ने, सडकको सौन्दर्यकरण गर्नका लागि ८० प्रतिशत सडकहरुमा पेवर्स लगाउने काम भइसकेको छ । बाँकी रहेका सडकहरुलाई पनि नियमित रुपमा निर्माण गर्ने योजना छ । कनकाई नगरपालिका क्षेत्रभित्र कुनै पनि घरमा जाँदा हिलाम्मे र धुलाम्मे समस्या भोग्नुपर्दैन ।
पूर्वाधार तर्फ वडा नं. ४ स्थित इलुवाबारीमा खेल मैदान निर्माण गरिएको छ भने अहिले कवर्ड हलको समेत निर्माणको काम चलिरहेको छ । धार्मिक एवम् पर्यटकीय नगर भएकाले त्यहाँका पूर्वाधारहरुको निर्माणमा समेत विशेष प्राथमिकता दिएर काम गरिरहेका छौं ।
स्वास्थ्य संस्थाहरुमा नगरवासीलाई सहजै उपचार सेवा प्रदान गर्नलाई पूर्वाधार निर्माणलाई व्यवस्थित गरिएको छ । पहिले उपचारमा असहज भए पनि अहिले धेरै सुविधा भइसकेको छ ।
७-८ वर्षको अन्तरालमा विकास निर्माणका धेरै कामहरु भएका छन् । विरोध गर्नेहरुले विरोध गरे पनि यहाँको विकासलाई नजिकबाट नियाल्ने, वास्तविकता बुझ्नेहरुले सकारात्मक विचार प्रवाह गरिरहेका छन् । नियतवश विरोध गर्नेहरुप्रति कुनै टिप्पणी छैन । त्यस्ता मान्छेहरुलाई सुनकै थालमा खाना दिए पनि थोरै खोट देखाइदिन्छन् । पहिलो विकासको चरण नै सडक पूर्वाधारलाई मानेर कनकाई नगरपालिकाले काम गरिरहेको छ ।
सोचेको भन्दा धेरै विकास
बलराम राई
वडाध्यक्ष, वडा नं. २
म अघिल्लो निर्वाचनमा वडा सदस्यको रुपका काम गरे । अहिले वडाध्यक्ष भएर पनि जनताकै निमित्त काम गरिरहेको छु । सदस्य भएको समयको विकास र अहिलेको विकासमा धेरै नै परिवर्तन आइसकेको छ । सोचेको भन्दा धेरै विकास भइसकेको छ ।
सडकको स्तरोन्नति, कालोपत्रे, पेवर्स लगाउने काम तीब्र गतिमा भइरहेकोले अबको ३-४ वर्षभित्र सबै सडकहरुमा कालोपत्रे हुनेछन्, पेवर्स लगाइने छ । सडक पूर्वाधारको क्षेत्रमा नगरपालिका, कोशी प्रदेश सरकार र संघीय सरकारबाट आउने बजेटबाट लगानी गरेर काम गर्ने गरिएको छ । कनकाई वडा नं. २ मा पछिल्लो ३ वर्षमा धेरै सडकहरु निर्माण गरिएको छ । मेरो वडामा समेत सडक पूर्वाधारमा ७० प्रतिशत प्रगति हासिल गरिएको छ ।
कनकाईको रिङ रोड र जनपथ मार्ग निर्माण गर्न सकियो भने कनकाई नगरपालिकाको लागि ठुलै उपलब्धी हुनेछ ।