विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन : शेरधन राई
काठमाडौं – नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना ब्यक्त नगरेको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीका सवालमा अनेक अनुमान गरेर मिडियामा समाचार आइरहेकोप्रति आपत्ती प्रकट गर्दै राईले यी विषयले एमालेमा अन्यौलता सृजना गरेको बताउनुभयो । राई आफू भण्डारीकै जिल्लाबासी र लामो समयसँगै राजनीति गरेकोले धेरै कुरामा भण्डारीसँग संवाद भइरहने बताउनुभयो । आफूसँगको संवादमा भण्डारीले हालसम्म पनि सक्रिय राजनीतिमा फर्कने आशय व्यक्त नगरेको राईले बताउनुभयो ।
‘ नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग एक प्रकारले जिल्लावासीको नाताले पनि पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ ’ राईले भन्नुभयो ‘ आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ । ’
चौतारीको पत्रकार भेटघाटमा बोल्दै राईले केही दिन अगाडी उहाँको कोशी प्रदेश भ्रमणका क्रममा अनेक शंसय सृजना भएको बताउनुभयो । आफूहरु पार्टीको जिम्मेवार पदमा रहेको र भण्डारी एमलेकै पूर्व उपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपति समेत हुनुभएकोले उहाँलाई स्वागत गर्न जानु दायित्वभित्र पर्ने राईले बताउनुभयो । ’दुईवटा कार्यक्रमको सम्बन्धमा कोशी प्रदेशमा केही दिनअगाडि उहाँ आउनुभयो । पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला विराटनगर महानगरपालिकाले आयोजना गरेको थियो । त्यसमा देशभरिका महिला जनप्रतिनिधि उपाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ’ राईले भन्नुभयो ‘पूर्वराष्ट्रपतिज्यू कोशी प्रदेशमा आउँनु हुँदा हामीले उहाँलाई स्वागत गर्नुपथ्र्यो ,हामीले स्वागत पनि गर्यौँ । उहाँ नेकपा एमालेको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिमा उहाँ देशकै यो उचाइमा पुग्नुभएको हो । उहाँलाई हामीले स्वागत गर्नुपथ्र्यो त्यो गर्यौ ।’
भण्डारीको अर्को कार्यक्रम मदन भण्डारी प्रतिष्ठान कोशी र नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम बिर्तामोडको देवी माविमा आयोजना भएको कार्यक्रममा सहभागी हुन भण्डारी कोशी प्रदेश आउनु भएको राईले बताउनुभयो ।
राईले विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्कर्दै गरेको अथवा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्न लागेको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो । ‘बजारमा अहिले यस प्रकारका हल्लाले ठाउँ पाएका छन् ’ राईले भन्नुभयो ‘तर उहाँले यस्ता कुराहरु अभिव्यक्त गर्नुभएको छैन ।