जेष्ठ ३१, २०८२ शुक्रबार

कर वृद्धिको विरोधमा झापाका सुनचाँदी व्यवसायी आन्दोलित

बिर्तामोड । कर वृद्धिको विरोधमा झापाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आज पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले कर वृद्धिको विरोधमा पसल बन्द गरेर आन्दोलन सुरु गरेको घोषणा गरेका छन् ।

झापाका सुनचाँदी व्यवसायीहरुले सरकारले आर्थिक वर्ष ०८२-०८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासी कर, हिरा जुवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाएको विरोध गर्दै खारेजीको माग गरेका छन् ।

पत्रकार सम्मेलनमा व्यवसायी संघ झापाका अध्यक्ष रमेश विश्वकर्माले विज्ञप्ति वाचन गर्दै उपभोक्ता, कर्मचारी, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर्न माग गरेका छन् । उनले सरकारले गरेको कर वृद्धिको विरोधमा झापा व्यवसायीहरुले पसल बन्द गरेको जानकारी दिए । शुक्रवार झापा जिल्लाभरका व्यवसायीहरु भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रुपदल विश्वकर्मा (राजु) ले कर वृद्धिले व्यवसायीलाई पलायनको अवस्था बनाएको बताएका छन् ।

अनावश्यक रुपमा कर वृद्धि हुँदा सुनचाँदी व्यवसायको क्षेत्रमा महामन्दी आइलागेको भन्दै उपाध्यक्ष विश्वकर्माले उपभोक्तालाई समेत मारमा पार्ने कामबाट सरकार पछि हट्नपर्ने धारणा व्यक्त गरेका छन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । अब, कर वृद्धि खारेज नभएसम्म व्यवसायीहरु निरन्तर आन्दोलनमा जाने चेतावनी दिए ।

सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष अभिषेक गहतराजले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सल्लाहकार बलराम कार्की र व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८२ बिहीबार  १२ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]