बिर्तामोडमा सफल बनेको बाख्रा र बंगुर साटासाट कार्यक्रम
बिर्तामोड सेरोफेरो
झट्ट, बिर्तामोड सुन्दा शहर मात्र सुनिन्छ । बिर्तामोड भनेको शहर मात्रै होइन । बिर्तामोडभित्र गाउँ पनि छ । शहरकै रुपमा स्थापित छ, बिर्तामोड । यहाँका सुन्दर गाउँहरुमा कृषि उत्पादन र पशुपालन पनि चर्चा गर्न योग्य छ । सागसब्जी उत्पादनसँगै बिर्तामोडका गाउँहरुमा पशुपालन, गाई पालन र माछा पालन गर्ने गरिएको छ । यहाँ फूल उत्पादन पनि मौसमी रुपमा हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएपछि २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले विषादीमुक्त नगरको लागि कार्यक्रम परिकल्पना गरे ।
विषादीमुक्त अभियानसँगै मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रा र बंगुर साटासाट कार्यक्रम सुरु गरिएको थियो । ति कार्यक्रमहरुलाई ०७९ मा निर्वाचित जनप्रतिनिधिहरुले समेत निरन्तरता दिए । बिर्तामोड नगरपालिकामा भएका धेरै राम्रा कार्यक्रमहरुमध्ये बाख्राका पाठा साटासाट कार्यक्रम सफल कार्यक्रमको रुपमा स्थापित भएको छ । बाख्रा साटासाट कार्यक्रम स्थानीय सरकारको एउटा कार्यक्रममा मात्र सिमित भएन । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायत जनप्रतिनिधिहरुको सहयोग र कर्मचारीहरुको मेहनतबाट यो कार्यक्रम सफल भएको हो ।
सुरुमा ९० वटा बाख्रा खरिद गरेको बिर्तामोड नगरपालिकाले समूह बनाएर वितरण सुरु गरेको थियो । महिलाहरुको आर्थिक जीवनमा परिवर्तन ल्याउने उद्देश्यले सुरु गरिएको बाख्रा साटासाट कार्यक्रममा एक जना महिलालाई ३ वटा बाख्राको पाठा उपलब्ध गराउने गरिएको छ । हरेक समूहमा १५ जना महिला हुनुपर्ने र हरेक महिलालाई ३-३ वटा पाठा वितरण गर्ने व्यवस्था छ । २ वटा समूहमा ९० वटा पाठा वितरण गरिन्छ । अहिलेसम्म १८ वटा समूह बनिसकेको पशु तथा मत्स्य विकास शाखाकी अधिकृत सावित्रा कुमारी दाहालले जानकारी दिइन् । १८ वटा समूहमा २७० जना महिला आवद्ध छन् । हरेक वर्ष ३० जना महिला दुई समूह मार्फत थप गरिन्छ । उनीहरुलाई पनि ९० वटा पाठा दिइन्छ । त्यसका लागि साटासाट कार्यक्रम भएकाले वर्षेनी अघिल्लो समूहबाट पाठा लिने र नयाँ समूहलाई वितरण गर्ने गरिएको छ । त्यसरी नै अर्को वर्षको लागि तयार गरिन्छ । नगरपालिकाले नयाँ पाठा खरिद गर्नैपर्दैन । किसानले सापटी लिएका पाठा फिर्ता गर्नुपर्छ ।
बंगुरका पाठा पनि सोही अनुसार वितरण गर्ने गरिएको छ । समूहका हरेक महिलालाई २÷२ वटाका दरले १५ जनालाई ३० वटा बंगुरका पाठा वितरण गर्ने गरिएको छ । बाख्रा र बंगुरका पाठा साटासाट कार्यक्रमले महिलाहरुको जीवनमा आर्थिक उन्नति गरेको शाखा अधिकृत दाहालको भनाई छ । लक्षित समुदायका महिलाहरुलाई प्राथमिकता दिने गरी उक्त कार्यक्रमको परिकल्पना गरिएको थियो । तर, पछिल्लो समय सबै समुदायका महिलाहरुलाई समूहमा आवद्ध गराइएको छ ।
पशु तथा मत्स्य विकास शाखाले मेयर पकेट कार्यक्रमसँगै पशु उपचार, घाँसको विऊ वितरण, च्याप्कटर वितरण, गोठ निर्माणका कामहरु सञ्चालन गर्दै आएको छ । साटासाटमा कार्यक्रममा आवद्ध किसानहरुका लागि पशु शाखाले पुश उपचार, घाँसको प्रवन्ध, भ्याक्सिनको सुविधा दिदैं आएको छ । नगरपालिकाका विभिन्न विषयगत शाखाहरुमध्ये प्रभावकारी देखिएको यो शाखाको बाख्रासाट कार्यक्रमले किसानको मन जितेको छ । जनप्रतिनिधिहरुलाई सन्तुष्टि मिलेको छ । कर्मचारीहरु आनन्दित बनेका छन् । जुन कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने योजना छ । अर्थात, किसानको आवश्यकता बमोजिम कार्यक्रम अघि बढ्ने छ ।
बाख्रा साटासाट कार्यक्रममा शाखाले सबैभन्दा पहिले साना किसान बाख्रा पालन समूहलाई समेटेको थियो । उक्त कार्यक्रमलाई सबैभन्दा प्रभावकारी बनाउने समूह पनि त्यहि रहेको बताइएको छ । त्यहाँ समूहमा आवद्ध महिलाहरु सक्रिय ढंगले क्रियाशिल भएको पाइएको छ । समूहमा मिलेर उनीहरुले करोड भन्दा बढि रकम जम्मा समेत गरिसकेका छन् ।
शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा घाँसको विउ वितरण गर्दै आएको छ । हिउँदे घाँस जइदे र वर्खे घाँस टिओसेन्टी वितरण गर्दै आएको शाखा अधिकृत दाहालको भनाई छ । उनका अनुसार कृतिम गर्भाधानका लागि शाखाका तर्फबाट किसानलाई पूर्ण रुपमा सहयोग उपलब्ध गराइएको छ । प्राविधिक सामग्रीको केहि शुल्क किसानले बुझाए पनि बाँकी काम शाखाकै तर्फ गरिने गरिएको छ । समग्रमा ६० प्रतिशत कृतिम गर्भाधान सफल भइरहेको उनको भनाई छ । बिर्तामोडमा पशुपालनमा राम्रै संभावना छ । तर, संभावनाका बीचमा विभिन्न रोगका कारण किसानहरु आजित भएको दाहालले बताइन् । बंगुर पालक किसानहरु अफ्रिकन स्वाइन फ्लू र बाख्रा पालक किसानहरु उचित मुल्य नपाएका कारण समस्यामा छन् । उचित मुल्य नपाएकै कारण विक्री गर्न नसकिएको किसानहरुको धारणा छ ।
माछा र दूधमा आत्मनिर्भर भएको बिर्तामोड नगरपालिकामा शाखामा १९ जना किसानले दर्ता गरेर गाई पालन गर्दै आएका छन् । दूधमा राम्रैै संभावना छ, दाहालले भनिन्, ‘किसान दूधको पनि उचित मुल्य पाउन नसकेको गुनासो गर्नुहुन्छ ।’ गाई पालक किसानहरुका लागि स्वच्छ दूध उत्पादनका लागि नगरपालिकाको तर्फबाट थुनेलो रोग निवारणका लागि सहयोग गर्ने गरिएको छ । थुनेलो समस्या पहिचान गरेर उपचारमा सहयोग गर्दै आएको बताइएको छ । गाईमा हुने बाँझोपनको पनि उपचार गर्ने गरिएको छ । पशु शाखाले विज्ञ मार्फत त्यसको उपचार गरिदैं आएको जनाएको छ । यस्तै, बाँझोपनको समस्या समाधान भएपछि गाईलाई सुत्केरी पोषण उपलब्ध गराइन्छ । सुत्केरी गाईका लागि शाखाले गाई बाछाको फोटो ल्याएर प्रमाण पेश गरेपछि जुका नाम्लेको औषधि, क्याल्सियम, मिनिरलसहित कम्तिमा १३÷१४ सयको प्याकेज उपलब्ध गराइन्छ ।
यस्तै, पशु तथा मत्स्य विकास शाखाले माछा पालक किसानका लागि प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । पानीको गुणस्तर परीक्षणका लागि शाखाले ६ लाख रुपैयाँमा मल्टिपारामिटर खरिद गरेको जनाएको छ । केहि समयअघि उक्त मेसिन मार्फत रारा माछा फर्मका पोखरीहरुमा पानीको गुणस्तर परीक्षण गरिएको थियो । पंगास माछा पाल्ने पोखरीहरुमा चारो धेरै दिने हुँदा पानी धेरै धमिलो हुने, अक्सिजनको कमि हुने जस्ता समस्याहरु देखिएको थियो । पाछापालक किसानका लागि शाखाले तालिम समेत दिएको छ ।
बिर्तामोडका माछा पालक किसानका लागि जेठको दोस्रो सातामा तालिम सञ्चालन गरिएको थियो । तालिममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले भारतबाट आयात हुने मरेका माछाको विक्री वितरण रोक्न कठिनाई भएको बताउनु भएको थियो ।
नगरपालिकाले आयोजना गरेको माछापालन तथा व्यवस्थापन सम्बन्धी २ दिने तालिम समापन कार्यक्रममा उहाँले जिल्लाका अन्यपालिकाले मरेका माछाको आयात तथा विक्री वितरणलाई खुला छोडेका कारण बिर्तामोडमा नियन्त्रण गर्न समस्या भएको बताउनु भएको हो । बिर्तामोडमा २०७९ साल असोज ६ गते बसेको कार्यपालिकाको बैठकले भारतबाट आयात हुने अस्वस्थकर माछा विक्री वितरण गर्न निषेध गरेको थियो ।
बिर्तामोडमा अहिले विषादी हालिएका मरेका माछा प्रयाप्त पाउने गरेको छ । उपभोक्ताले समेत स्वास्थ्यको कुनै ख्याल नगरी विषाक्त फर्मालिन हालिएका माछा खरिद गरेर खाने गरेका छन् । स्थानीय ताजा माछाको बजार भने खुम्चिएको छ । नगर प्रमुख प्रसाईले स्थानीय माछाको बजारीकरणमा जोड दिँदै आवश्यक अनुगमन गर्ने बताउनु भएको थियो ।
सो तालिममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मत्स्य पालन व्यवसायमा विद्युतमा ठुलो खर्च आउने भएकाले यसमा सहुलियतका लागि सम्बन्धित निकायमा छलफल गर्ने बताउनु भयो ।
यस्तै तालिममा सहभागि वडा नम्बर ३ स्थित हरियाली कृषि फर्मका सञ्चालक हरिप्रसाद मैनालीले सरकारले सहुलियत प्रदान गरे बिर्तामोडलाई माछाको हव बनाउने बताउनु भयो । जिल्लामात्र नभइ कोशी प्रदेशलाई नै पुग्नेगरी माछा उत्पादन गर्न सकिने भन्दै उहाँले सिँचाईमा सहयोगको लागि आग्रह गर्नुभयो ।
तालिममा नगरका २५ जना कृषकको सहभागिता थियो । तालिममा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीबाट आउनु भएका सुरज कुमार सिंहले माछामा लाग्ने रोग, आवश्यक औषधी, माछाको वृद्धि विकास, गुणस्तरिय माछा उत्पादन लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । तालिम समापनमा कार्यपालिका सदस्य संगिता सिवा, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डा. नगेन्द्र खड्का, अधिकृत सावित्रा दाहाल लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, गत बैशाख पहिलो साता बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाँट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५ जना कृषकलाई ३-३ वटाका दरले ४५ वटा बाख्रा वितरण गरिएको हो ।
नगर कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष किशोर पौडेलले गोलाप्रथा विधिबाट बाख्रा छनोट गरेर हस्तान्तरण गर्नु भयो ।
नगरपालिकाले बाख्रासँगै एक समूहका लागि एउटा उन्नत जातको बिउ बोकासमेत वितरण गर्दै आएको पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । नगरपालिकाले कृषकलाई कुनै पनि क्षति नहोस् भन्ने उदेश्यले बाख्राको बीमा समेत गर्दै आएको छ ।
बैशाख अन्तिमतिर बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा रहेको सिताराम मन्दिर टोल कषक समूहलाई बाख्रा वितरण गरेको छ ।
मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरेको हो । प्रतिकृषक ३ वटाका दरले विमा गरिएका बाख्रा वितरण गरिएको हो । कार्यक्रम सुरुभएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंक्षी तथा मत्स्य विकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनु भयो ।
कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले थोरै भएपनि आय स्रोतको लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । यो कार्यक्रमले जीवनस्तर उकास्न सघाउ पुर्याउने बताउनु भयो । नगर प्रमुख प्रसाईले बाख्रा पालनलाई उपलव्धीमुलक बनाउन जोड दिनुभयो ।
वडा नम्बर ७ का वडाअध्यक्ष अविरल कृष्ण खरेलले कार्यक्रममा औषधी उपचार, बीमाको सुविधा रहेकोले बाख्रामा कुनै क्षति नहुने बताउनु भयो । उहाँले स्वरोजगारसँगै व्यवसायिक बन्न सबैलाई आग्रह गर्नु भएको थियो ।
महिलाहरुका लागि आयस्रोतको बाटो बन्यो
सावित्रा कुमारी दाहाल
शाखा अधिकृत
जनप्रतिनिधि ज्यूहरुले जितेर आएपछि मेयर पकेट कार्यक्रमको रुपमा सुरु भएको थियो । मेयरको नाममा प्रत्यक्ष जोडिएको कार्यक्रम लिएर गाउँमा जाँदा प्रभावकारी हुन्छ भन्ने नै लागेको थियो । मेयर पकेट प्याकेज कार्यक्रममा आदिवासी, जनजाति, दलित, सिमान्तकृत, ग्रामीण पिछडा वर्गलाई लक्षित गरेर कार्यक्रम सुर गरिएको थियो । तर, १÷२ वर्षपछि लक्षित मान्छेहरु भेट्टाउन सकिएन । र, अहिले यो कार्यक्रममा सबै महिलाहरुलाई आवद्ध गर्न थालिएको छ ।
गरिव र लक्षित समुदाय लगभग सबै यो कार्यक्रममा सहभागी भइसकेको अवस्था छ । ०७४-७५ देखि सुरु भएको कार्यक्रममा अहिलेसम्म १८ वटा समूह बाख्राको र १४ वटा समूह बंगुरकै भइसक्यो । बंगुर र बाख्रका लागि ५४० वटा खोरहरु बनाइएको छ । पहिले दुर्गन्धित हुने खोरहरु अहिले व्यवस्थित गरिएको छ । व्यवस्थित खोर निर्माणका लागि नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरिएको छ । पहिले बंगुर बस्ने ठाउँमा मान्छेलाई जान समस्या हुन्थ्यो । अहिले सेफ्टी ट्याङकी निर्माण गरिएको छ । बंगुर पालन गर्ने किसानका छिमेकीहरु सधैं डेलिगेशन आउने गरेको थियो । वातावरण नै प्रदुषित हुने अवस्था थियो । अहिले बंगुरको खोर नजिकै खाना खान पनि सकिन्छ । यो पनि एउटा ठुलै परिवर्तन आएको छ । मुलमुत्रको व्यवस्थापनसँगै गोठहरु सुधार गरिएका छन् ।
पशु पालनमा गोठको सुधार आयो, अर्कातिर किसानको आर्थिक जीवनमा पनि ठुलो परिवर्तन आएको छ । एक जना सदस्यले वर्षमा २-३ लाखसम्म आम्दानी गर्नुभएको छ । घरको मुख्य खर्चहरु यहि कार्यक्रम मार्फत भएको आम्दानीले पुग्न थालेको छ । ३ वटा पाठाले ठुलो परिवर्तन ल्याउन नसके पनि महिलाहरुका लागि आयस्रोतको बाटो बनाउन मद्दत गरिएको छ । घर खर्च गर्न सक्ने बनायौं । बालबच्चाहरुका लागि किताव किन्न अब महिलालाई समस्या छैन । यसलाई नै हामीले परिवर्तनका रुपमा लिएका छौं । राम्रो मेहनत गर्नेहरुका लागि राम्रै आम्दानी भइरहेको छ ।
किसानको शून्य लगानीमा सञ्चालित
महिला किसानहरू मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम पनि उत्तिकै लोकप्रिय बनेको छ । खासगरी आम्दानीका लागि परनिर्भर रहनु परेको विगतको अवस्थालाई सुधार गरेर बाख्रा साटासाट कार्यक्रमबाट उनीहरू आत्मनिर्भर बन्दैछन् । बाख्रा साटासाट कार्यक्रमले महिला कृषकको जीवनस्तर उकास्न कोसेढुंगा सावित भएको बिर्तामोड –८ किसनभिट्टाकी कल्पना सिटौलाले बताइन् ।
उनले भनिन्, ‘नगरपालिकाले सित्तैमा दिएका बाख्रा उत्पादन भएपछि ती बाख्रा फिर्ता दिएर पनि बाख्रा पालनबाट एक जना महिला किसानले बर्षको करिब डेढलाख रुपैयाँसम्मका बाख्रा बेच्दैछन् । घरमै बसेर आय आर्जनका लागि सहज उपाय भएको छ यो बाख्रा साटासाट कार्यक्रम ।’ बाख्रा साटासाट कार्यक्रम जस्तै बंगुर साटासाट कार्यक्रम पनि उत्तिकै लोकप्रिय बन्न पुगेको छ । किसानको कामबाट नगरपालिकाले सन्तुष्टि लिने ठाउँ प्रशस्तै रहेको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको भनाई छ । उहाँले भन्नुभयो, ‘नगरपालिकालाई आर्थिक भार नपर्ने गरी सञ्चालनमा ल्याइएका यी कार्यक्रम किसानमाझ लोकप्रिय छ । धेरै किसानले आय आर्जनको राम्रो बाटो लिनुभएको छ ।’ करिब शून्य लगानीमा सञ्चालित उक्त कार्यक्रममा सहभागी किसानहरूले आगामी दिनमा अनुदान कटौती नगर्न र यस्लाई अझ फराकिलो बनाएर लैजान आग्रह गरेका छन् ।
गोठ सुधार, महिला कृषकलक्षित बाख्रा र बंगुर साटासाटजस्ता लोकप्रिय कार्यक्रमहरूले किसानहरूलाई आत्मनिर्भर बन्न र आम्दानीको नयाँ आधार सिर्जना गर्न महत्वपूर्ण सहयोग पु¥याएको छ ।
यी कार्यक्रमहरूले नगरभित्रका सयौँ किसान परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै, उनीहरूलाई शून्य लगानीमा समेत सफल उद्यमी बन्ने अवसर प्रदान गरेको छ । बिर्तामोड नगरपालिका ९ का किसान नवीन भट्टराई गाई पालनका लागि गोठका अधिकांश संरचना बनाइसकेका थिए । तर गाईको थलो बनाउन उनलाई पैसाको अभाव भयो । त्यतिबैलै बिर्तामोड नगरपालिकाबाट गोठ सुधारका लागि एक लाख रुपैयाँमा ५० प्रतिशत अनुदान उपलब्ध गराउन सूचना जारी भयो । त्यही सूचनाका आधारमा उनले नगरपालिका कार्यालयमा निवेदन दिए । नगरपालिका कार्यालयबाट अनुगमनपश्चात उनले अनुदान रकम पाए । त्यसपछि उनले गाईको थलोलाई राम्ररी बनाउन पाए । भट्टराईले भने, ‘यो अनुदानले मलाई धेरै राम्रो काम गरेको छ । केही किसानले अनुदान दुरुपयोग गरेको भन्ने सुनेको छु । कृपया अनुदान रकम दुरुपयोग नगरिदिनु होला । तपाईंहरूका कारणले सच्चा किसानलाई अप्ठ्यारो पर्छ ।’
बिर्तामोड नगरपालिका वडा नम्बर ९ का नवीन भट्टराई जस्तै गोठ सुधार कार्यक्रम अन्तर्गत अहिलेसम्म करिब ५ सय किसान तथा किसान समूहले अनुदान पाएका छन् । एक लाख रुपैयाँको गोठ सुधार कार्यक्रम अन्तर्गत पचास प्रतिशत रकम नगरपालिका कार्यालयले उपलब्ध गराउने गरेको छ । यो बर्ष मात्र २१ किसान तथा किसान समूहले गोठ सुधार कार्यक्रमको अनुदान रकम पाएका छन् । थोरै रकमले पनि पशुपालन क्षेत्रमा धेरै कृषकले आम्दानीको दरिलो सुरुवातको आधार पाएका छन् । नवीन भट्टराईको भनाइले विर्तामोड नगरपालिकाको असल कामको पुष्टि हुन्छ ।
किसानले अनुदान रकम सदुपयोग गर्न सके आम्दानीको आधार बन्छ भन्ने कुरा व्यक्त गरेसँगै उनले नगरपालिका कार्यालयलाई अनुदान रकम बढाइदिन अनुरोध गरेका छन् ।