शिवसताक्षीमा रोजगार संवाद
कृषि र श्रमिकमैत्री नीति निर्माणमा जोड
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवाकेन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायहरुसँग ‘रोजगार संवाद’ गरेको छ । सोमवार नगरपालिकाको सभाहलमा आयोजित संवादमा नगर भित्र न्यूनतम रोजगारी सृजना, स्थानीय स्रोत साधनको परिचालन, निजी क्षेत्रको सहभागिता र कृषिमा प्राथमिकता दिने विषयमा गहिरो छलफल गरिएको थियो ।
संवादका सहभागीहरुले कृषिलाई नगरको मुख्य रोजगार स्रोतका रुपमा विकास गर्न जोड दिएका थिए । कृषकले उत्पादन गरेका वस्तुहरुको मूल्य निर्धारण, बजारीकरण, युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने सुझावहरु आएका छन । तालिम प्राप्त व्यक्तिहरुका उत्पादनहरुलाई बजारीकरणको ग्यारेन्टी दिनुपर्ने र तालिमहरुलाई अझ व्यवस्थित बनाउनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका थिए ।
रोजगार संयोजक विदुर तिम्सिनाले संकलित सुझावहरु रोजगार रणनीति निर्माणमा उपयोगी हुने बताए । उनका अनुसार निजी क्षेत्रबाट रोजगारी सिर्जना भएको भए तापनि उपयुक्त श्रमिक नपाएको गुनासो व्यवसायीहरुले गरेका छन् ।
संवादमा नेकपा एमाले नगर अध्यक्ष मेदनी दंगालले कृषि क्षेत्रमा प्रविधिको प्रयोग र जैविक मल उत्पादनमा जोड दिँदै मल उत्पादनबाट पनि रोजगारी सृजना गर्न सकिने बताए । नेपाली कांग्रेसका महासमिति सदस्य भक्ती सिटौलाले धानको मुल्य सुनिश्चित गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने धारणा राखे । अहिलेको अवस्थामा किसानले लगानी उठाउन नसकेकोले कृषि पेशामा निराशा छाएको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति गंगाराम कडरियाले नगरका श्रमिकहरुको योग्यता पहिचान गरी रोजगारीको बाँडफाँड गर्नुपर्ने बताए । साथै सीपमूलक शिक्षा प्रारम्भिक तहदेखि दिनुपर्ने र वैदेशिक रोजगारी न्यूनीकरण गर्न स्थानीय रोजगारीको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ थोप्राले रोजगार तथ्यांक संकलनका लागि श्रमिक डेस्क स्थापना गर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराए । आगामी आर्थिक वर्षमा १ विघा जमिनमा खेती गर्ने समूह वा व्यक्तिलाई १ लाख रुपैयाँ अनुदान दिने योजना रहेको उनले बताए । नगरभित्रका श्रमिकका लागि बीमा कार्यक्रम सञ्चालनमा रहेको र घाइते भए १ लाख र मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको राहत व्यवस्था रहेको जानकारी समेत दिए ।
कृषकले उत्पादन गरेका धानलाई सुकाउन निजी क्षेत्रसँग साझेदारीमा ड्रायर मेसिन जडानको काम अगाडि बढाइएको समेत नगर प्रमुखले जनाएका छन् ।
कार्यक्रममा बेनु कार्की, चन्द्रप्रसाद खनाल, रुद्रमणि भट्टराई, चिरञ्जिवी लुइँटेल, राजीव घिमिरे, प्रकाश पोखरेल लगायत २२ जनाले मौखिक तथा लिखित सुझाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, योजना अधिकृत प्रकाश चौधरी, शिक्षा शाखा प्रमुख छवि ढकाललगायतको उपस्थिति रहेको संवाद कार्यक्रम नगरप्रमुख मेगाहाङ थोप्राको अध्यक्षतामा सम्पन्न भएको थियो ।