किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक
मेचीनगर । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ । मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर खोप लगाउन थालेको हो ।
नगरपालिकाकाको पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङले मेचीनगर–२, ४ र १४ नम्बर वडाका किसानका तीन हजार ६७५ वटा गाई–भैसीमा भ्याक्सिन लगाइएको जानकारी दिए ।
उनका अनुसार विहीबार वडा नं.२ का ९३५ वटा, शुक्रबार वडा नं.४ का १७५० वटा र आइतबार वडा नं.१४ का ९९० वटा गाई–भैसीमा भ्याक्सिन लगाइएको छ ।
सोमबार वडा नं.१ का किसानको गाई–भैसीमा भ्याक्सिन लगाइने बताइएको छ । यसका लागि शाखाको प्राविधिक र पारामेटसहित १२ जनाको टोली खटिएको छ ।
लम्फी स्किन रोगका कारण हालसम्म ८६ वटा गाई–भैसीमा संक्रमण भएको छ भने करिव ९०० वटा गाई–भैसी प्रभावित भएको शाखाको भनाई छ । शाखामा स्टोर गरेर राखिएको सात हजार ५०० भ्याक्सिन मध्ये तीन हजार ६७५ वटा प्रयोग गरिसकिएको छ ।
यसअघि २५ सय रहेकोमा थप भ्याक्सिन भेटरीनरी अस्पताल तथा पशु सेवा केन्द्र झापा मार्फत पशुपंक्षी रोग अन्वेशष प्रयोगशाला, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरले उपलब्ध गराएको छ ।
उक्त रोग पन्ध्र वटै वडामा फैलिदै गएकोले समुदायमा गाई–भैसी पालिरहेका किसानहरु पनि सचेत र रोग नियन्त्रणका लागि आफ्नो घर वरीपरी सफा सुँघर राख्ने र औषधिहरुको प्रयोग गर्नु पर्ने पशु प्राविधिकहरुले सुझाव दिएका छन् ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लम्फी स्किन रोगको रोकथाम र नियन्त्रणका लागि पशु सेवा शाखाले गरिरहेको प्रयासमा किसानहरुले पनि सुरक्षित र सचेत भएर सहयोग गर्न आग्रह गरेका छन् ।
‘प्रभावित क्षेत्रका किसानहरुको गाई–भैसीलाई चाहिँने भ्याक्सिन अपुग हुन दिदैनौँ’, बुढाथोकीले भने–‘यसको क्षति रोक्न नियन्त्रण प्रयास भइरहेको छ । ’