शिक्षामा बिर्तामोड : बढ्यो सिकाई उपलब्धि
प्रदीप परियार
झापाको बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि कार्ययोजना निर्माण गरेर काम गरिररहेको छ । गत वर्षदेखि नै कार्ययोजना बमोजिम शिक्षा क्षेत्रको सिकाई सुधारका लागि नगरपालिकाले शिक्षा सरोकारवालासँग सहकार्य गर्दै आएको छ । यो वर्ष पनि गुणस्तर सुधारका लागि नगरपालिकाले सिकाई उपलब्धि सुधार अभियान २०८१ को समिक्षा सम्पन्न गरिसकेको छ । गत वर्षको समीक्षा सम्पन्न गरेर शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला गरेको छ । नगर क्षेत्रका शिक्षासँग सरोकार राख्ने व्यक्तिहरुको सहभागितामा कार्यशाला सम्पन्न गरेको हो ।
बिर्तामोड नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय माझ सिकाई उपलब्धि सुधार गर्न गत वर्ष एक कार्यक्रमका बीच २१ बुँदे प्रतिबद्धता अगाडि सारेको थियो । त्यसको कार्यान्वयनपछि यस क्षेत्रको शिक्षामा धेरै उपलब्धी हासिल भएको छ । उपलब्धि समीक्षा गर्दै सरोकारवालाले आगामी वर्षको प्रतिवद्धतामा हस्ताक्षर गरिसकेका छन् ।
समीक्षमा नगरभित्रका सम्पुर्ण विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, बिषयगत शिक्षक सञ्जाल र बिषयगत प्रतिनिधि शिक्षकहरु गरि २ सय ५० भन्दा बढिको सहभागितामा यस बर्ष २०८२ का लागि ५ बुँदे प्रतिबद्धता गरिएको छ ।
गत वर्षको समीक्षा गर्दै मुख्य उपलब्धिहरु सार्वजनिक गरिएको छ । अघिल्लो वर्षको तुलनामा कक्षा ८ उत्तीर्ण ८२% बाट बढेर ९३% पुगेको छ । कक्षा ५ को उत्तीर्ण ९६% बाट बढेर ९७% पुगेको छ । कक्षा ८ का सबै बिषय र कक्षा ५ को आधा संख्यामा बिषयको औषत सिकाइ उपलब्धि बढेको छ । प्रतिबद्धताको कार्यन्वयन प्रगति ९१% सम्म रहेको छ । असल अभ्यास आदानप्रदान, बिषयगत शिक्षक समिति क्रियाशिलता, पेसागत तालिम र तालिमको कक्षाकोठामा प्रयोगमा बृद्धि भएको जनाइएको छ ।
सो अवसरमा सामुदायिक तर्फ कक्षा ८ मा सबैभन्दा बढि औसत सिकाई प्राप्त गर्न सफल मोहनमाया माविका शिक्षक लक तामाङ्ग (विज्ञान – ३.४१) र संस्थागत तर्फ लिटल फ्लावर्स स्कुलका शिक्षक प्रभा पराजुली (अंग्रेजी – ३.७१) लाई शिक्षा शाखाले दोसल्ला, प्रशंसा पत्र सहित सम्मान गरेको छ ।
शिक्षकको मेहनतबाटै शिक्षामा सुधार
पवित्रा देवी महतारा प्रसाई
नगर प्रमुख
स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायत विविध क्षेत्रहरुमा काम गर्नुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन – २०७४ ले निर्दिष्ट गरेका जिम्मेवारीहरु पुरा गरेर जानुपर्छ । विकासका लागि अहिले जनताको सबैभन्दा नजिकको सरकार, आशा गरिएको सरकार नै स्थानीय सरकार भएको हुँदा असिमित दायित्वहरु हुन्छन् । जनताका आ–आफ्नो आवश्यकताका आधारमा विकास योजना माग गर्दै आउनु भएको छ । आफ्नो घर जाने बाटो ठिक छैन भने बाटो माग्नु हुन्छ । बाटो ठिकै छ तर कालोपत्रे छैन भने कालोपत्रे माग्नुहुन्छ । समुदायले गाउँमा धार्मिक संस्थाको आवश्यकता छ भने त्यसै अनुसारको योजना ल्याउनुहुन्छ । जनताले आवश्यकताको आधारमा योजनाहरु विगत देखि नै माग गर्दै आउनुभएको छ । स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरुले स्वास्थ्यसँग सम्बन्धित योजना नै माग गर्नुहुन्छ भने शिक्षासँग सरोकार राख्नेहरुले शिक्षासँग सम्बन्धित योजना माग गर्नुहुन्छ । तर, सबैको योजनाहरुमध्ये पनि प्राथमिकता दिनैपर्ने योजनाहरुलाई बजेटको आधारमा उपलब्ध गराउने गरिएको छ ।
स्थानीय सरकारले सबै क्षेत्रका विकासलाई महत्वपूर्ण मानेको हुन्छ । त्यसमध्ये पनि महत्वपूर्ण मानिएको छ, शिक्षा क्षेत्र । शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता स्थानीय सरकारले राखेको छ । त्यसैले गत वर्षबाट नगरपालिकाले सिकाई उपलब्धि सुधारका लागि योजना निर्माण गरेर लागिरहेको छ । २०८१ मा गरिएको २१ बुँदे प्रतिवद्धताले सिकाई उपलब्धिमा सुधार ल्याएको छ । यसका लागि समग्र शिक्षकहरुको भूमिका प्रभावकारी भएको छ ।
नगर क्षेत्रभरीका २०० भन्दा धेरै शिक्षकहरुसँग केहि दिनअघि मात्रै समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । उपलब्धिमाथि छलफल गरिएको छ । गत वर्षको योजना अनुसार नगरभित्र सिकाई उपलब्धिमा उल्लेख्य प्रगति हासिल गरिएको छ । यसका लागि शिक्षकहरुले गर्नुभएको योगदान प्रशंसनीय नै छ । नीति कार्यक्रमको पूर्व सन्ध्यामा शिक्षकहरुसँग गरिएको छलफलले आगामी दिनहरुमा कसरी अघि बढ्न सकिन्छ भन्ने मार्ग पनि खुलेको छ । विगतका कमजोरीहरुलाई सच्याउदै अघि बढ्न सकियो भने मात्र सिकाई उपलब्धि हासिल हुनेछ । शिक्षकहरुको छलफलबाट आएको सूझावलाई नीति कार्यक्रममा लैजान सकिन्छ ।
शिक्षा नै विकासको आधार भएकाले यस क्षेत्रको उन्नयन र विकासमा हामी जनप्रतिनिधिहरु संवेदनशिल नै छौं । शिक्षक भनेको स्थानीय सरकारको महत्वपूर्ण संरचना हो । उहाँहरुको साथ र सहयोगबाट मात्रै शिक्षामा सुधार ल्याउनेमा ढुक्क छौं । विगतभन्दा यहाँको सिकाई उपलब्धिमा सुधार आएको तथ्याङकहरु अध्ययन गरेको छु । यसैगरी सुधार गर्दै जानुपर्छ । जनप्रतिनिधिको मात्र पहलले सिकाईमा सुधार ल्याउन सकिन्छ । त्यसका लागि सबैको साझा प्रयास जरुरी छ । शिक्षक, विद्यार्थीको अझ यसमा महत्पूर्ण भूमिका हुनुपर्छ ।
शिक्षालाई कस्तो बनाउने ? सुधारका लागि के कस्ता उपायहरु लगाउने भन्ने बारे सामुहिक छलफलबाट नै निष्कर्षमा पुग्न सकिन्छ । त्यसका लागि अगुवाई शिक्षकले नै गर्ने हो । हामी त्यसका लागि आवश्यक नीति कार्यक्रम तयार गर्छौ, नीति बनाउछौं । बजेटको पनि व्यवस्था मिलाउछौं । बजेटले मात्रै शिक्षण सिकाईमा सुधार ल्याउन सकिदैन । यसका लागि संकल्पको खाँचो पर्छ । संकल्प विना, अठोट विना शिक्षामा सुधार ल्याउन सकिदैन ।
शिक्षामा प्रविधिलाई विशेष प्राथमिकता दिएर जानुपर्ने देखेको छु । त्यसका लागि दक्ष प्राविधिक शिक्षकहरुको जरुरी पर्छ । दक्ष शिक्षक उत्पादनका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्दै जानेछौं । सिकाई सुधार गर्नुको विकल्प छैन । यसका लागि सबैले आफ्नो क्षेत्रबाट सहकार्य र समन्वय गर्न अपरिहार्य छ ।
विद्यार्थी भविष्यका कर्णदार हुन् । उनीहरुको भविष्यमाथि कसैले पनि लापरबाही गर्न हुदैन । शिक्षा क्षेत्रमा योगदान गर्न सकिएन भने विद्यार्थीको भविष्यमा समस्या आउन छ । त्यसैले मेहनत विना केहि पनि संभव हुदैन । शिक्षामा सुधार ल्याउनु छ । त्यसका लागि स्थानीय सरकार बलियो ढंगले उभिएको छ । शिक्षा क्षेत्रको गुणस्तर सुधारमा हामी धेरै कदम अघि बढ्नु छ ।
काम गर्ने सन्दर्भमा कुनै कठिनाईहरु आएमा जनप्रतिनिधीहरु गाँठो फुकाउन तयार नै छौं । गाह्रो अप्ठ्यारो भएमा समन्वयका लागि स्थानीय सरकार तयार भएकाले शिक्षक कर्मचारीहरुलाई सकेसम्म मेहनतका लागि अनुरोध गर्छु ।
विद्यालयमा सिकाईको वातावरण हुनलाई सोही अनुसारको संरचना पनि चाहिन्छ । ०७४ सालदेखि शैक्षिक क्षेत्रमा पनि धेरै संरचनाहरु निर्माण गरिसकेका छौं । अझै पनि निर्माण गर्न बाँकी भएका संरचनाहरु विस्तारै निर्माण गरिने छ । शैक्षिक सामग्रीहरुको उपलब्धतालाई सहजीकरण गर्दै जानेछौं । अन्त्यमा, बिर्तामोडको शिक्षा क्षेत्रमा प्रगति हासिल गर्न मुख्य जिम्मेवारी शिक्षकहरुकै काँधमा छ । हामी हौसलासँगै नीति कार्यक्रम, बजेट मार्फत सहयोग गर्न तयार छौं । भाषणले शिक्षामा सुधार ल्याउन नसकिने भएको हुँदा मेहनत बाहेक अर्को विकल्प छैन । यसका लागि अभिभावकहरु पनि सचेत हुन आवश्यक छ ।
सिकाई उपलब्धीलाई उच्चतम विन्दुमा पुराउने संकल्प
उपसचिव – तिलचन भण्डारी
शिक्षा, युवा तथा खेलकुद शाखा
बिर्तामोड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले यहाँको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सुरुवातदेखि हामीले बिर्तामोड क्षेत्रमा रहेका शैक्षिक पूर्वाधारहरुको निर्माणलाई प्राथमिकता दिदैं आएका छौं । पूर्वाधार तर्फ संरचनाहरु निर्माण कार्यलाई जारी नै राखिने छ । विशेष गरी शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री सिकाईलाई प्राथमिकता दिएर अघि बढिरहेका छौं । विद्यार्थीको गुणस्तर सिकाई उपलब्धीका लागि गत वर्षबाट अभियान नै सञ्चालन गर्दै आएका छौं ।
गत वर्षदेखि सिकाई उपलब्धि अभियान सञ्चालन गर्दै अघि बढ्ने क्रममा २१ बुँदे प्रतिवद्धता गरिएको थियो । त्यो प्रतिवद्धताले बिर्तामोडको सिकाई उपलब्धिमा निकै नै सुधार आइसकेको छ । सिकाई उपलब्धि अभियानले विद्यालयका सबै कक्षाका सिकाई उपलब्धिमा प्रगति हासिल गर्न सफल भएका छौं । कक्षा ८ र कक्षा ५ मा सबैभन्दा धेरै उपलब्धि हासिल गरिएको छ । सिकाई उपलब्धि अभियान सामान्य विषय होइन । सिकाई उपलब्धिमा प्रगति हासिल गर्न धेरै किसिमका चुनौतिहरुको सामना गर्नुपर्ने अवस्था छ । कमजोर सिकाई क्षमता भएका बालबालिकाहरुमा सिकाई सुधार ल्याउनु जटिल विषय नै छ । तर, शिक्षक कर्मचारीहरुले अथक मेहनत गरेर सिकाई सुधारका लागि प्रयासरत हुनुहुन्छ । सिकाई सुधारका लागि शिक्षकहरुको एकल प्रयासबाट मात्र सफल हुन सक्दैन । शिक्षक, विद्यार्थी र अभिभावक सबैको उत्तिकै जिम्मेवारी हुन्छ । यसका लागि अभिभावकहरुमा पनि सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
विद्यार्थीको नियमितता, शिक्षकहरुको क्षमता विकास, क्रियाशिलता, विभिन्न तालिमहरु सञ्चालन गरेर सकारात्मक परिणाम निकाल्ने अभियान जारी छ । विभिन्न विषयगत समिति बनाएर विषयत सिकाईका लागि सहजीकरणको काम पनि निरन्तर रुपमा चलिरहेको छ । अंग्रेजी, नेपाली, सामाजिक, विज्ञान र गणित विषयको विषयगत समिति निर्माण गरेर कक्षा कोठामा प्रयोग गर्ने काम भइरहेको छ । शिक्षकहरुले तालिम पश्चात कक्षा कोठामा गर्ने अभ्यास तथा प्रयोगले मात्रै सुधार ल्याउन सकिनेमा हामी विश्वस्त छौं । गत वर्ष गरिएको प्रतिवद्धताका कारण यो वर्ष उपलब्धि हासिल गर्न सफल भएका हौं । आगामी वर्ष थप सिकाई उपलब्धि हासिल हुने निश्चित छ ।
हामी भौतिक पूर्वाधारको मर्मत तथा संरचना निर्माणलाई पनि सँगसँगै लिएर जाने छौं । गुणस्तर सिकाईका लागि विद्यार्थीमैत्री संरचनाको पनि जरुरी पर्छ । तर, सिकाई सुधार अभियान नै मुख्य प्राथमिकतामा राखेर जानेछौं । न्यूनतम सिकाई सुधार नभएका बालबालिकाहरुको निमित्त थप मेहनत गर्नुपर्ने अवस्था छ । यसैले त्यस किसिमका बालबालिकाहरुको पनि सिकाई क्षमता वृद्धि गर्नुपर्ने छ । कमजोर विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरेर यो वर्षको कार्यक्रम निर्माण गर्नेछौं । न्यूनतम पूर्वाधारको निर्माण पुरा गरेर सिकाई उपलब्धीलाई उच्चतम विन्दुमा पुराउनुपर्ने संकल्पका साथ अघि बढ्ने छौं ।
मुख्य कार्यहरु
बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि निशुल्क विद्यालय पोशाकको व्यवस्था गरेको छ । माध्यमिक तहका विद्यार्थीहरुका लागि सीपमा आधारित सिकाई (वायरिङ-प्लम्बिङ) सञ्चालन गरेको छ ।
शिक्षक प्रोत्साहनका लागि ५० हजार नगद राशिसहित उत्कृष्ट शिक्षक सम्मान गरिएको छ । प्रविधिमैत्री शिक्षण सिकाईका लागि विद्यालयलाई सहयोग गरिएको छ । बालविकासको बसाई व्यवस्थापन मिलाइएको छ । विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, सफा शौचालयको व्यवस्था गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएको छ ।
स्थानीय विषय अन्तर्गत “आचरण सचेतना शिक्षा” को पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण एंव सबै विद्यालयमा लागू भएको छ । विद्यालयको व्यवस्थापन सुदृढ गर्न विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया, छलफल एवं तालिम सञ्चालन गरिएको छ ।
विद्यालयमा अनिवार्य इ–हाजिरी व्यवस्थापन र नगरपालिकाबाट नियमित अनुगमन गर्ने गरिएको छ । कक्षा ८ र ५ को नगरस्तरीय परीक्षा सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयका प्रअहरुको मासिक बैठक र संस्थागत विद्यालयका प्रिन्सिपल बैठक र छलफल, प्रविधिमैत्री शिक्षण सिकाईका लागि आइसीटी तालिम सञ्चालन गर्ने गरिएको छ ।
एकीकृत शैक्षिक सूचना प्रणालीको तालिम व्यवस्थापन गर्नुका साथै मागको आधारमा प्रविधिमा आधारित सिकाइ व्यवस्थापन, मर्मत-सम्भार, फर्निचर कार्यक्रम वितरण गरिएको छ । बालविकास कक्षाका लागि भौतिक व्यवस्थापन, १ जना अटिजम शिक्षक व्यवस्थापन, अपाङ्ग स्रोतकक्षा फर्निचर, मर्मत, सधार तथा व्यवस्थापन, अपाङ्ग विद्यार्थीका लागि सीपमूलक तालिम सञ्चालन, संस्थागत विद्यालयमा शुल्क निर्धारण तथा कार्यान्वयन गरिएको छ । संस्थागत विद्यालयका विद्यार्थीलाई १० % छात्रवृत्ति कार्यान्वयन, प्रारम्भिक बाल शिक्षक र विद्यालय कर्मचारीका लागि थप पारिश्रमिक व्यवस्थापन र नगरस्तरीय बौद्धिक प्रतिभाको प्रदर्शनी गर्ने गरिएको छ । विषयगत समिति निर्माण र जिम्मेवारी प्रदान गरिएको छ भने उत्कृष्ट औसत सिकाई उपलब्धि ल्याउन सफल सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई सम्मान गरिएको छ ।
सिकाई उपलब्धि सुधार अभियानको उद्देश्य
बिर्तामोडमा सिकाई उपलब्धि सुधार अभियान यहाँको शैक्षिक क्षेत्रको विकासका लागि सुरु गरिएको अभियान हो । विद्यालय शिक्षाका असल अभ्यास, शिक्षाका Icon हरूको तयारी, उत्पादन,विकास, प्रकाशन तथा प्रवोधीकरण गर्न अभियानको थालनी गरिएको हो । पालिकाभित्र अध्यापनरत विषयगत शिक्षकहरूबीच आपसी समन्वय, सहकार्य र सहयोगको वातावरण सिर्जना गर्न, पाठ्यक्रमले निर्धारण गरेका सिकाई सक्षमता हासिल गर्दै औसत सिकाइ उपलब्धिमा बढोत्तरी गर्न, बालमनोविज्ञान अनुरुप बालमैत्री वातावरणमा प्रविधिमैत्री एवं नवीनतम् विधिहरूको प्रयोग गरी सिकाइमा सिकारुलाई सक्रिय सहभागिता गराउन, शैक्षिक सामग्री सङ्कलन, निर्माण, उपयोग र संरक्षण गरी सिकारु केन्द्रित शिक्षणमा जोड दिन, विद्यार्थीको सर्वोच्चतालाई सुनिश्चित गर्दै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कक्षा कोठामा उपयोग गरी कक्षा कोठालाई पढाई थलोबाट सिकाई थलोको रुपमा विकास गर्ने उद्देश्य राखिएको छ ।
विषयवस्तुसँग सम्बन्धित समस्याहरू खोज अनुसन्धान मार्फत समाधान गर्न शिक्षकको क्षमता अभिवृद्धि तथा विषयवस्तुमा अद्यावधिक हुन, विशेषज्ञ, अनुभवी शिक्षक, विषयगत समिति शिक्षकहरुको सञ्जालीकरण, पुरानो र अनुभवी शिक्षकहरुको मेन्टरिङ लगायतका Home Grown Model हरूको विकास र अवलम्बन गर्न सिकाई अभियान सञ्चालन गरिएको हो ।
शैक्षिक सुपरीवेक्षणलाई कक्षाकोठा र सिकाइउपलब्धि सुधारमा केन्द्रित गर्दै आवश्यकताअनुसार सहभागितामूलक, मागमा आधारित समूह सुपरीवेक्षण लगायतका विधिहरुको खोजी र अभ्यास गर्न, सूचना प्रविधिको उपयोग मार्फत Virtual distance Mode, Web based Model जस्ता दूर पद्धतिको अभ्यासको सुरुवात गर्न अभियान सञ्चालन गरिएको बताइएको छ ।
पाठ्यक्रम, शिक्षण सहजीकरण र मूल्याङ्कन प्रक्रिया बिचमा तादात्म्यता कायम गर्न, हरेक वर्ष कम्तिमा दुई पटक शिक्षकले अनिवार्य अध्ययन अनुसन्धान मार्फत पेशागत विकासमा समय दिन र सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण माध्यमको रुपमा प्रयोग गर्ने उद्देश्य रहेको छ । – बिर्तामोड सेरोफेरो