कनकाईमा सामुदायिक विद्यालयको स्तरोन्नति उल्लेखनीय
कनकाई सेरोफेरो
झापाको कनकार्ई नगरपालिकाले पछिल्लो साढे ६ वर्ष यता नगरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा उल्लेखनीय काम गरेको छ । नगरक्षेत्रभित्र १४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । जसमा ७ वटा माध्यमिक, ३ वटा आधारभूत र ४ वटा प्राथमिक विद्यालयहरू रहेका छन् । माध्यमिक विद्यालयहरूमा कन्काई मावि सुरुङ्गा, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बा, भृकुटी मावि दुर्गापुर, चम्पापुर मावि चम्पापुर, सरस्वती मावि जामुनबारी, हिमाली मावि लक्ष्मीपुर र सिंहदेवी मावि टेक्रा हुन् भने आधारभूत विद्यालयहरूमा जानकी आधारभूत विद्यालय सुकेडाँगी, भगवती आधारभूत विद्यालय, चप्रामारी, जनचेतना आधारभूत विद्यालय, चौरी पर्दछन् ।
त्यसै गरी प्राथमिक विद्यालयतर्फ कनकाई–गायत्री प्रावि कोटीहोम, देवकोटा प्रावि तुलसीबारी, पशुपति प्रावि प्रजापति र पञ्चकन्या प्रावि भुरुङ्गाले बालबालिकालाई शिक्षा प्रदान गर्दै आएका छन् । शिक्षामा कनकाईले मुख्य गन्तव्य बनाउने योजनाका साथ काम गरिरहेको छ । त्यसै गरी, २१ वटा संस्थागत विद्यालय, एक संस्कृत र दुई मदरसा गरेर तीन वटा धार्मिक पाठशालाहरु छन् । साथै, एउटा सामुदायिक अध्ययन केन्द्र, कनकाई बहुमखी क्याम्पस सुरुङ्गा, युनिक बहुमुखी क्याम्पस सुरुङ्गा र आदर्श क्याम्पस घैलाडुब्बा गरी तीन वटा क्याम्पस र एउटा सिटिइभिटिको कार्यक्रम गरेर कुल ४३ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा छन् ।
बितेका साढे ६ वर्षमा विद्यार्थी र विद्यालयको हितको लागि नगरपालिकाले विभिन्न भौतिक योजना सम्पन्न गरेको छ भने केही प्रभावकारी कार्यक्रमहरू पनि लागु गरेको छ । यो अवधिमा हिमाली आधारभूत विद्यालयलाई हिमाली माध्यमिक विद्यालयको रूपमा र सिंहदेवी आधारभूत विद्यालयलाई सिंहदेवी माविमा स्तरोन्नति गरिएको छ ।
नगरमा पहिलो प्राविधिक विद्यालयको रूपमा सीटीईभिटीईबाट सम्बन्धन प्राप्त प्राविधिक विद्यालय शुरु गरिएको छ । कनकाई पोलिटेक्निक इन्टिच्युटको (प्राविधिक शिक्षालय) मा सिभिल, कम्प्युटर र जियोमेट्रिक (अमिन) विषयहरूमा डिप्लोमा तहको शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यसै गरी आदर्श विद्यामन्दिर मावि घैलाडुब्बामा कक्षा (९–१२) मा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालनमा ल्याइएको छ । सबै सामुदायिक विद्यालयमा प्राथमिक स्वास्थ्य सुविधा पु¥याइएको छ भने कन्काई मावि सुरुङ्गामा एक नर्ससहितको विद्यालय स्वास्थ्य एकाइको गठन गरिएको छ, जसले अलग्गै कोठामा व्यवस्थित रूपमा विद्यार्थी तथा शिक्षकहरूलाई स्वास्थ्य सुविधा दिने प्रबन्ध गरिएको कन्काई माविका सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटीले जानकारी दिए ।
सबै १४ वटा विद्यालयमा पूर्व प्राथमिक र प्राथमिक तहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठनको व्यवस्था गरिएको छ भने कन्काई माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म पूर्ण अङ्ग्रेजी माध्यममा र कक्षा ६ देखि कक्षा १२ सम्म अलगअलग वर्गमा नेपाली र अङ्ग्रेजी माध्यममा अध्यापन हुने गरेको छ । कक्षा ११–१२ मा ८ सय १७ सहित हाल २ हजार ३ सय १५ जना विद्यार्थी अध्ययनरत कन्काई माविमा नमुना विद्यालय विकास कार्यक्रम पनि सञ्चालन भइरहेको छ, जस अन्तर्गत भौतिक, शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा काम भइरहेको छ । कनकाई माविमा सञ्चालित कक्षा (११–१२ ) को विज्ञान समूहलाई थप व्यवस्थित बनाउन पुस्तकालय र विज्ञान तथा कम्प्युटर प्रयोगशालालाई अझ राम्रो, सहज र सुविधासम्पन्न बनाउन पहल गरिएको कन्काई माविका प्रअ कर्णबहादुर डाँगीले बताए ।
कनकाई नगरका सबै सामुदायिक विद्यालयमा छात्राका लागि निःशुल्क स्यानेटरी प्याडको व्यवस्थापन नगरपालिकाले गरेको छ, जसबाट छात्राहरू तनावमुक्त भई पठनपाठनमा सरिक हुन सहजता प्रदान गरेको छ । सबै १४ वटा सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ भने कनकाई–१ स्थित पशुपति प्राविमा पनि खानेपानीको थप प्रबन्धका लागि काम भइरहेको छ ।
हालै बालमैत्री नगरको रूपमा घोषणा गरिएको यस नगरपालिकामा बाल अर्थात नर्सरी कक्षाको समुचित व्यवस्थापनमा ध्यान दिएको छ भने विद्यालयको भौतिक पूर्वाधारको विकास गरिएको छ । नेपाल सरकारले तोकेबमोजिम बाल शिक्षक तथा कर्मचारीको तलवको व्यवस्थापन गरिएको छ । सबै सामुदायिक विद्यालयमा बाल कक्षाका लागि स्वच्छ खानेपानीको व्यवस्थापन गरिएको छ ।
सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोशाला तथा आई. सि.टी. कक्षाको व्यवस्थापन भएको छ । विद्यार्थीका लागि वृत्ति विकास परामर्श सहजीकरण कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय परिवेशका बारेमा पनि जानकार बनी असल नागरिक उत्पादन हुन सकून् भनी नगरद्वारा पाठ्यक्रम निर्माण गरी स्थानीय विषयको कक्षा ८ सम्मका लागि पुस्तक छपाई गरिएको छ । नगरले कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि सदन पोशाक वितरण तथा बाल कक्षाका शिशुहरूका लागि झोला वितरण रहेको छ । नगरले ४ वटा बाल शिक्षा कार्यक्रम आफ्नै पहलमा व्यवस्थापन तथा सञ्चालन गरिरहेको छ ।
गुणस्तरीय शिक्षाको लागि शैक्षिक गन्तव्यको अवधारणा ल्याई प्रयोगमा ल्याउने क्रम शुरु भएको छ । शिक्षा क्षेत्रमा कनकाई नगरपालिकाले कनकाई नगरलाई शैक्षिक गन्तव्य बनाउने कार्ययोजना अघि सारेको छ । नगरलाई शैक्षिक गन्तव्य बनाउन र सेवाक्षेत्रभित्रका विद्यार्थीहरूलाई नगरभित्रै गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न अभिभावक, शिक्षक, शिक्षासेवी, बुद्धिजीवी, जनप्रतिनिधि सबै सरोकारवालाले योजनाबद्ध रुपमा क्रियाशील बनाउन नगरले विशेष कार्ययोजना अघि बढाएको छ ।
कनकाई नगरमा फरक क्षेत्रका अब्बल नमुना विद्यालयहरूको विकास गर्न, स्थानीय विषयको रूपमा वन तथा तरकारी खेतीसँग सम्बन्धित पाठ्यक्रमको विकास गरी लागु गर्न, विद्यालयभित्र र समुदायमा व्यवस्थित पुस्तकालय तथा वाचनालयको स्थापना गरी पठन संस्कृतिको विकास गर्न, सामुदायिक र संस्थागत विद्यालयको उद्देश्य साझा रहेकाले दुवै प्रकारका विद्यालयको सुमधुर सम्बन्ध कायम गर्न, कक्षाकोठाभित्र सूचना प्रविधिको पहुँच विस्तार गर्न, विद्यार्थीलाई समयसापेक्ष व्यावहारिक शिक्षा प्रदान गर्न, सबै जातजातिको धर्म, संस्कृति र संस्कारको संरक्षण र विकास गर्न एक आपसी रूपमा जातिवीच सौहार्द र सहिष्णु सम्बन्ध अभिवृद्धि गर्न शिक्षाको उद्देश्य अनुरूप शिक्षा दिनुपर्नेमा नगरलाई शैक्षिक गन्तव्य बनाउने प्रतिबद्धतामा समेटिएको कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारीले जानकारी दिए ।
झापा र झापा बाहिरका विद्यार्थीहरु पनि यहाँका शैक्षिक संस्थाहरुमा आएर पढ्ने सक्ने शैक्षिक गुणस्तर वृद्धि गर्नेे कनकाईको योजना छ । शैक्षिक गन्तव्य बनाउनका लागि कार्ययोजना पनि बनिसकेको छ । कनकाई कहिल्यै बन्द नहुने पालिका हो । त्यसले पनि शैक्षिक गन्तव्य बन्नमा मद्दत गर्ने शिक्षा अधिकृत ओडारी बताउँछन् । झापाका अन्य पालिकामा साधारण बन्द हुँदा पनि शैक्षिक संस्थाहरु प्रभावित हुने गर्छन् । तर, कनकाईमा कुनै किसिमको बन्दको प्रभाव पर्दैन । यद्दपि, यतिले मात्र शैक्षिक गन्तव्यको लक्ष्य पूरा हुँदैन । यसका निम्ति गुणस्तरमा योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको नगर शिक्षा अधिकारी ओडारीको भनाइ छ ।
सृजनात्मक र आधुनिक प्रविधिसहितको शिक्षणलाई जोड दिइएको छ । तथा नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ओडारी भन्छन्, ‘शिक्षालाई प्रविधिसँग जोड्नैपर्छ, पढ्ने पढाउने दुवै प्रविधिसँग जोडिन जरुरी छ, विद्यार्थीलाई ज्ञानको भोक इन्टरनेटले मात्र पुरा गर्न सक्छ, किताब मात्र घोकाएर पुग्दैन ।’
सबै विद्यालयमा ई–हाजिरी, कम्प्युटर शिक्षा, स्मार्ट कक्षा तथा इन्टरनेटको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयहरूमा अति विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृृतिको व्यवस्थापन गरिएको छ । त्यसै गरी, प्रत्येक वडामा खेलकुद सामग्री वितरण तथा वडास्तरीय प्रतियोगिता सञ्चालन गर्ने परिपाटी पहिलो पटक शुरु भएको छ । नगरले महिला फुटबल खेलाडीलाई प्रशिक्षण तथा राष्ट्रियस्तरमा सहभागी गराउने काम गरेको छ । फुटबल खेलतर्फ प्रशिक्षकमा सन्त रायमाझी र लिलु गिरीलाई जिम्मेवारी दिइएको छ । नगरको पहलमा अन्तरविद्यालय खेलकुद प्रतियोगिता, निबन्ध लेखन, वक्तृत्वकला, हाजिरी जवाफ लगायतको अतिरिक्त तथा सहकार्यकलाप हुने गरेका छन् ।
त्यस्तै, कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रबद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान पश्चिम बसस्टेण्ड छेउमा कनकाई नगरपालिकाको रु ४५ लाख र कोशी प्रदेशसरकारको रु १२ लाख गरी कूल रु ५७ लाखको खर्चमा निःशुल्क सेवा लिन पाउने गरी व्यायामशाला निर्माण गरिएको छ ।
कक्षा ११–१२ मा अध्ययनरत गरीब तथा जेहेन्दार ३७५ जना विद्यार्थीहरुलाई ५ वर्ष अघिदेखि नगद चार हजारका दरले छात्रवृत्ति दिन थालिएको र सो क्रमको निरन्तरता रहेको कनकाई नगरपालिका पूर्वाधार विकास समितिका पूर्व संयोजक एवम् नगर कार्यपालिका सदस्य सुनिता खरेल (सिग्देल) ले जानकारी दिइन् ।
२०७४ साल असार १४ गते स्थानीय तहको निर्वाचन भई असार २१ देखि सपथसहित कार्यभार ग्रहण गरेपछि कनकाई नगरपालिकाको नेतृत्व अथक रूपमा जनसेवामा लागिरहेको छ । यस क्रममा हरेक वर्षको बजेटमा १० प्रतिशत रकम विनियोजन गरी प्राथमिकताका आधारमा सामुदायिक विद्यालयहरूलाई सुधार गरेर सुविधा सम्पन्न उत्कृष्ट विद्यालयको रूपमा विकास गर्ने लक्ष्यका साथ योजना निर्माण र कार्यान्वयनमा जोड दिइएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । वडावासी तथा अभिभावकले बाटो, कुलो, बिजुली, पानी आदिका लागि बजेट माग गर्ने, तर शिक्षा क्षेत्रका लागि बजेट नमाग्ने वा मागे पनि पहिलो प्राथमिकतामा नराख्ने गरेका कारण पनि शिक्षा क्षेत्रमा कम बजेट विनियोजन हुने गरेको हो ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम शुरु गरेपछि निजी विद्यालयबाट सयौंको सङ्ख्यामा विद्यार्थी सामुदायिक विद्यालयमा स्थानान्तरण हुन चाहिरहेका छन् । आयआर्जनको राम्रो स्रोत नहुँदा नहुँदै पनि आफ्ना नानीबाबुलाई निजी विद्यालयमा पढाउनुपर्ने बाध्यताबाट कनकाई नगरका अभिभावकहरू मुक्त हुँदै गएका छन् । नमुना विद्यालयको रूपमा प्रस्तावित भएर अघि बढिरहेको सुरुङ्गास्थित कन्काई माविलाई नेतृत्व विद्यालय मानी सबै विद्यालयलाई सोही अनुसार विकास गर्ने नीति अघि बढाइएको छ । समग्रमा भन्दा कनकाई नगरमा शिक्षा क्षेत्रको विकासका लागि सीमित स्रोतसाधनको परिधिभित्र रही निर्वाचित जनप्रतिनिधिहरूले कार्य गरेको देखिन्छ ।
नगरलाई शैक्षिक गन्तव्य बनाई अन्य नगर, गाउँ, जिल्ला वा विदेशबाट पनि शिक्षा अर्जनका निमित्त विद्यार्थीको रोजाइको नगर बनाउन थप चिन्तन गर्न, योजना बनाउन आवश्यक छ र अभिभावक, शिक्षक र विद्यार्थीको त्रिपक्षीय सुसम्बन्धको बलमा शिक्षा क्षेत्रमा रूपान्तरण सम्भव छ भन्ने विश्वासका साथ शैक्षिक गुणस्तर सुधारमा काम भइरहेको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताइन् ।
प्रविधिमैत्री शिक्षणको माध्यमबाट नैतिकवान, असल, सहयोगी र देशभक्त नागरिक उत्पादन गर्ने मूल लक्ष्य लिई शिक्षासम्बद्ध गतिविधि अघि बढाइएको कनकाई नगरलाई शैक्षिक गन्तव्य बनाउने कार्यक्रमका परिकल्पनाकार एवम् कनकाई नगर शिक्षा समितिका सदस्य शिक्षाकर्मी अखिलकुमार कोइरालाले बताए ।
खेलकुद, अध्ययनअध्यापन, अतिरिक्त तथा सहकार्यकलाप, गायन तथा नृत्य विधामा झापा जिल्ला र विशेषतः कनकाई नगरमा अब्बल प्रदर्शनसहित इतिहास रचना गर्दै अगाडि बढिरहेको छ । सचेत अभिभावकको आकांक्षाअनुरूप गुणस्तरीय शिक्षाप्रदान गर्ने शिक्षालय स्थापना गर्ने पवित्र सपना बोकेर अग्रगामी, भरपर्दो र किफायती सोचका साथ कनकाई नगरपालिका अघि बढिरहेको छ ।
सबै प्रकारका हडतालबाट मुक्त, शैक्षिक हबको रूपमा कनकाई नगर साँचै शैक्षिक केन्द्र बन्न सक्छ र नगरको योजनामा सबै शैक्षिक संस्था सोहीअनुरूप अघि बढिरहेका छन् । ०७४ साल यता, सामुदायिक विद्यालयको विद्यार्थी भर्नामा करीब २५ प्रतिशत वृद्धि भएको नगरपालिकाको तथ्याङ्क छ । यो नै शिक्षा क्षेत्रमा देखिएको सुधारको एउटा सबैभन्दा ठूलो प्रमाण हो । स्थानीय तहको स्थापना भए पश्चात ०७४ अगाडि विद्यालयहरूमा देखिएको समस्या धेरै हदसम्म समाधान भइसकेको छ । पहिले जिल्ला शिक्षामा धाएर विद्यालयले सुविधा लिनुपर्ने परिस्थिति थियो । अहिले त्यै सुविधा पालिकामा पाइन्छ ।
विद्यालयलाई रेखदेख गर्न नजिकै पालिका छ । जसले गर्दा विद्यालयहरूले दिने अनावश्यक विदासमेत कमी आएको छ । इ–हाजिरी मार्फत विद्यालयको निगरानी हुन्छ । जसले गर्दा शिक्षकहरूले हाजिरी छल्न पाउदैनन् । कक्षाहरूमा सीसी क्यामेरा जडान गरिएको छ । जसले गर्दा कार्यालयमै बसेर पनि कक्षा अनुगमन हुन्छ । फेरि, विद्यालयमा केही तलमाथि वा समस्या उत्पन्न भए अभिभावकहरू मार्फत तुरुन्त गुनासा राख्न पनि सहज भएको छ । जबकि जिल्ला सदरमूकाममा गएर गुनासो राख्न सहज थिएन । स्थानीय तहको निर्माणपछि शिक्षकहरूमा पनि कामप्रतिको उत्तरदायित्व बढेको कनकाई नगरपालिकाको बुझाइ छ । विद्यालयमा अभिभावक, नगरपालिका र वडा कार्यालय सबैको चासो रहेकाले शिक्षकहरूको जवाफदेहिता र उत्तरदायित्व बढेको छ ।
नगरपालिकाले शिक्षकहरूलाई तलब खुवाउनेदेखि लिएर अनुगमन गर्ने, शैक्षिक छलफल सञ्चालन गर्ने, विद्यार्थीहरूका लागि नगरस्तरीय विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू आयोजना गर्ने गरेको छ । जसले विद्यार्थीहरूमा उत्प्रेरणा वृद्धि भएको छ । कनकाई नगरलाई शैक्षिक गन्तव्य बनाउने योजनाको पनि एउटा आधार तयार भइसकेको छ । के–के गर्दा यो लक्ष्यमा पुग्न सकिन्छ भन्ने एउटा कार्ययोजना पनि तयार भइसकेको छ । त्यसको लागि वार्षिक र बहुवर्षीय योजनाहरू तयार भएका छन् । साथै नगर शिक्षाको १० वर्षे शिक्षा योजना बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
कनकाई नगरमा सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ बन्दै जानु र संस्थापक विद्यालयमा चर्को शुल्क तिरेर आफ्ना नानीबाबुलाई पढाउनु पर्ने बाध्यता हट्नु नगरवासीका लागि अत्यन्तै सुखद पक्ष रहेको अभिभावक गणेश चौधरीले बताए ।