असार ४, २०८२ बुधबार

जिप्रकाले लागुऔषध विरुद्धको सन्देशसहित वक्तृत्वकला प्रतियोगिता गर्ने

झापा- लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा झापामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असार १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।

“लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका” भन्ने शीर्षकमा आयोजना गरिने प्रतियोगिता कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीबीच हुने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा, शिक्षा विकास समन्वय इकाइको समन्वयमा तथा हिसान, प्याब्सन र एन-प्याब्सनको सहकार्यमा प्रतियोगिता बिर्तामोडस्थित न्यूटन स्कुलमा हुनेछ।

प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहबाट सिफारिस भएर आएका ३० जना विद्यार्थी सहभागी हुनेछन्। प्रत्येक स्थानीय तहबाट एक जना छात्रा र एक जना छात्र गरी दुई/दुई जनाको दरले सहभागिता सुनिश्चित गरिएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीले नगद १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, दिने दुई जनालाई जनही १५०० रुपैयाँका दरले सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ।

प्रतियोगिताको पुरस्कार तथा अन्य व्यवस्थापन खर्च हिसान, प्याब्सन र एन-प्याब्सनले संयुक्त रूपमा व्यहोर्नेछन्।
आयोजकहरूले प्रतियोगितामार्फत युवा पुस्तामा लागुऔषधको असरबारे चेतना अभिवृद्धि गर्दै स्वस्थ र जिम्मेवार समाज निर्माणमा उनीहरूको भूमिका सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : असार ४, २०८२ बुधबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]