असार ५, २०८२ बिहीबार

हाम्रो चासो सामुदायिक विधालयको शैक्षिक गुणस्तर सुधार

किशोर कुमार पौडेल, वडाध्यक्ष

झापाको बिर्तामोड नगरपालिका वडा नं. २ उद्योग र कृषि क्षेत्र भएको वडा हो । विकासका दृष्टिले अघि बढ्नै गइरहेको वडाले युवा जनप्रतिनिधिको नेतृत्व पाएको छ । कृषि, शिक्षा, स्वास्थ्यसँगै खेल क्षेत्रलाई प्राथमिकता दिएको वडाले गरिरहेको कामका सन्दर्भमा पत्रकार मनकुमार गदालले वडाध्यक्ष किशोर कुमार पौडेलसँग गरिएको कुराकानी :

१. चालु आर्थिक वर्षमा के–के काम गर्नुभयो ?
चालु आर्थिक वर्षमा हामीले विभिन्न क्षेत्रबाट योजनाहरु ल्यााएर वडाका पूर्वाधार शिक्षा, स्वास्थ्य ,मानव बिकास लगायतका अन्य रोजगार मुलक कार्यक्रम गर्दै आएका छौं । जसमध्ये विशेष गरी ठूला बाटाहरुको कालोपत्रे गर्ने क्रममा लागेका छौं भने विधालय भौतिक पूर्वाधार शैक्षिक सिकाईका अभिवृद्धि गराउने काम गरेका छौ ।

खेलकुदलाई पनि एउटा महत्वपूर्ण पाटोमा राखेका छौं । खेलकुदसँग युवा पुस्ता जोड्न सके खेल माध्यमले शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहने सहयोग पुराउँछ । जसले कुलतबाट बचाउन अहिलेको युवा पुस्तालाई सहयोग गर्न सक्छ । स्वास्थ्य तर्फ हामीले २ सय भन्दा बढी व्यक्तिको स्वास्थ्य वीमा गरेका छौ । जेष्ठ नागरिकहरुको स्वास्थ्य वीमा चाँहि एउटा शिविरको आयोजना गरी सामुहिक रुपमा वीमा गरेका छौ ।

विभिन्न रोगसँग लढ्नका निम्ति आवश्यक स्वास्थ्य शिविर पनि आयोजना गरेका छौ । मानव विकासको क्षेत्रमा ब्याग बनाउने तालिम, सिलाइ कटाई,पोते उन्ने तालिम लगायतका तालिम दिएर उद्यमशीलता तर्फ अघि बढाएका छौं । बाढी नियन्त्रणको क्षेत्रमा पनि काम गरेका छौं । सामाजिक न्यायको लागि वडाको मेलमिलाप केन्द्रबाट हेर्ने गरिएको छ । विभिन्न विवाद छिनोफानो मेलमिलाप केन्द्रले गरेको छ ।

२. स्वास्थ्य वीमाका लागि विमित (ब्यक्ति ) छनौटको मापदण्ड आधार चाहि के हुन् ?
यो छान्ने विषय चाहि साह्रै गाह्रो काम हो । वडामा २०७८ सालको जनगणना अनुसार १३ हजार २ सय बढी जनसंख्या रहेको छ । ३ हजार ६ सय घर परिवार योे वडामा रहेको छ । दुई सय घर परिवारको निशुल्क स्वास्थ्य वीमा गर्नु निकै चुनौती पूर्ण रहेकै छ ।

वडासँग रहेको संयन्त्र टोल विकास संस्थाले १ सय ७५ जनाको स्वास्थ्य वीमाका लागि सिफारिस गर्ने गरेको छ । उनीहरुले छनौट गरेको नामको अनुगमन गरी वडा कार्यालयको बैठकले अन्तिम निर्णय गर्ने गरेका छौं । विशेष गरी २५ जना खेलाडीको निशुल्क वीमा गरेका छौ । वडाले युवाहरुलाई विभिन्न विद्यामा तालिम गराउदै आएको छ । ती खेलाडी र उसका परिवारको स्वास्थ्य वीमा गरेका छौ । अत्तिआवश्यक पर्ने व्यक्ति, परिवार जो विपन्न हुनु हुन्छ उनीहरुलाई दोहोराएर पनि निशुल्क स्वास्थ्य वीमा गरेका छौ । नभए फरक–फरक व्यक्ति परिवारको निशुल्क स्वास्थ्य वीमा गरी दिने गर्दछौं । समुदायको हिसावले हेर्दै गर्दा सन्थाल, राजवंशी, दलित, जनजाति बढी लाभान्वित भएका छन् । त्यसमा अन्य समुदायहरुले पनि सेवा पाएका छन् । सबै भन्दा बढी सन्थाल, दोस्रोमा राजवंशी र तेस्रोमा दलित परिवारले निशुल्क वीमा प्राप्त गर्ने गरेका छन् ।

३.खेलाडीहरुलाई निशुल्क स्वास्थ्य वीमा किन ?
खेलसँग युवा पुस्तालाई जोडनुपर्छ । खेललाई व्यवसायीकरण गर्नुपर्छ । खेल नितान्त आवश्यक कुरा हो । खेल खेलाउनका लागि खेलाडी उत्पादन शुरु भएको छ । यहाँ ताइकन्दो, कराँते र फुटबल खेल सिकाइन्छ । फुटवलको बेलुकी कोचिङ कक्षा सञ्चालन हुन्छ । लगभग डेढ सय केटाकेटीले तालिम लिइरहेका छन् । खेल खेल्ने क्रममा दुर्घटना हुने चोट पटक लाग्ने हुन्छ । स्वास्थ्य वीमा जस्ता कार्यक्रम दिएर उनीहरुलाई खेलमा आर्कषित र सुरक्षित गरेको हो ।

४. वडाको समग्रमा भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
वडाको भौतिक निर्माणको अवस्था हामीले सोचे अनुरुपको राम्रो काम गर्न सकिएको छ । निश्चय पनि हामीले चुनाव ताका घोषण पत्र बनाएर जनता समक्ष हामी भोट माग्न गएका थियो । प्रत्येक साल ती घोषणा पत्रलाई टेवलमा राखेर योजना बनाउने गरेका छौ । यसपालिसम्मको योजना बनाउँदन घोषण पत्रमा उल्लेख गरिएको ७५ प्रतिशत काम सम्पन्न गरेका छौ ।

पूर्वधार तर्फ विधालयको घेरावारबाट सुरक्षित गरेका छौं, अधिकांश ठूला बाटाहरुको कालोपत्रे गर्ने क्रममा रहेको छ । दुई वटा देखि तीन वटा ठूला बाटा पिच गर्न बाँकी रहेको छ भने साना बाटाहरु बनाउन अझै पनि धेरै बाँकी छन् । हाम्रो वडाको क्षेत्रफल १४ दशमलव ४५ वर्गको रहेको ठूलो वडा हो ।

यो वडा औधोगिक क्षेत्र भएका कारणले साना बाटाहरुमा समस्या छन् । तुलनात्मक रुपले कामलाई अघि बढाएका छौं । स्वास्थ्य चौकीको आफ्नै पक्की भवन बनाउन सफल भएका छौं । त्यसको घेरावार गर्न सफल भएका छौ । स्वास्थ्य चौकी जाने बाटो आगवमनलाई ब्यवस्थित बनाएका छौं । पूर्वाधारमा खानेपानी अन्तर्गत विर्तामोड खानेपानी संस्थाको पानी उपभोग गरी रहेका छौ । यसपाली खानेपानीका लागि डिपीआर तयार गरेर आफनो खानेपानी सञ्चालनको निम्ति बहुबर्षीय योजनामा आफ्नै खानेपानी सञ्चालनको निम्ति हाम्रो वडामा रहेको कृष्ण प्रणमी मन्दिरको ७ कठ्ठा जग्गामा घेरावारा गरिसकेको छ । ३० लाख रुपैयाँ बजेट प्राप्त गरी सकेको अवस्था छ । ३ वर्षभित्र वडा नं. २ को आफनो खानेपानी संस्था निर्माण गरी वडावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य वडा कार्यालयको रहेको छ ।

भौतिक पूर्वाधारमा अलिक समस्या अदुवा खोलाको बाढीले कटान गरेको जोखिम पूर्ण ठाउँमा पूर्वाधारका कामहरु पुरा हुन सकेका छैनन् । खानेपानी सिँचाई तथा उर्जा मन्त्रालय कोशीका मन्त्री एकराज कार्कीले नेतृत्व सम्हालेपछि त्यस क्षेत्रमा पूर्वाधार निर्माणको काम शुरु भएको छ । गत वर्ष र यस वषैको गरी करिव ३ सय मिटर तटबन्ध गरी सकेका छौ ।

५. वडावासीको माग धेरै जसो कुन क्षेत्रमा छ ?
वडाबासी सबैको चाहना एउटै हुन्छ । हाम्रो घर अगाडी कालो पत्रे बनोस धुलो नउढोस, घर वरीपरी विधालय, स्वास्थ्य चोकी बनोस् । खानेपानीको सुविधा होस, विजुली बत्ती होस । भौतिक पूर्वाधारको माग बढी आएको छ । सामान्यतया साना कच्ची बाटाहरुको ग्राभेल, हेमपाइप हाल्ने कुराहरुको माग पनि उत्तिकै छ ।

नागरिकहरुले एउटा पाटो विर्सिने गर्नु हुन्छ । विकास चाहि जम्माजम्मी यही पूर्वाधार मात्र हुन् । मानवीय विकास चाहि यसभित्र जोडिदैन भन्ने कुरा धेरैको बुझाई छ । पछिल्लो समयमा मानवीय बिकासका बिषयमा थोरै भए पनि बुझ्दै गएको अवस्था छ ।

६. अब तपाईहरुको प्राथमिता के हो ?
भौतिक पूर्वाधार त हाम्रो वडाको प्राथमिकता भित्रै पर्छ । भौतिक पूर्वाधार विना केही गर्न सकिदैन । स्वास्थ्य, विधालय भौतिक पूर्वाधार विना चल्न असम्भव छ । अहिलेको हाम्रो चासो सामुदायिक विधालयको शैक्षिक गुणस्तर कसरी सुधार गर्न सक्छौ । उक्त विधालयका अभिभावकहरुलाई प्रशिक्षित गर्ने । शिक्षकहरुलाई विधालय जागिर खान जाने की पढाउन जाने भन्ने विषयमा मनोविमर्श छलफल गराउने । सागसब्जी, दुध, माछा मासुमा वडालाई आत्मनिर्भर बनाउने लक्ष्म रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि हाम्रो वडाको प्राथमिकता हो । विर्तामोड नगरपालिकाका वडाहरु मध्ये धेरै कृषिमा बजेट छुटाउने, कृषकलाई धेरै अनुदान दिनेमा हाम्रो वडा पर्दछ ।

७. समृद्ध वडाका लागि के कस्ता योजनाहरु ल्याउनु भएको छ । आगामी वर्षहरुको प्राथमिकता के हो ?
समृद्ध वडा बनाउनका लागि शिक्षित जनशक्ति, स्वास्थ्य जनशक्ति र आत्मनिर्भरता यी चिजहरु महत्वपूर्ण रहेको छ । नागरिक शिक्षित, स्वास्थ्य बन्न सकेमा समृद्ध वडा बनाउन सकिन्छ । बालमैत्री वडा बनाउन लागि रहेका छौ । लागुऔषध दुब्र्यसनी न्यूनिकरण गर्न लागेका छौं । जनता आवासको कार्यक्रममा लागिपरेका छौ । खरको छानोलाई विस्थापित गरेर टिनको छाना लगाई सकेको छौ । पछि एकीकृत बस्ती बनाउने भविष्यको योजना रहेको छ । घरको छानो हाल्दिए पनि खानेपानी छिमेकीकोबाट खाइरहेको पाएपछि प्रत्येक घरमा खानेपानीको कलको व्यवस्था मिलाएका छौं ।

८. पछाडी पारिएको क्षेत्र र समुदायको उत्थानका लागि कस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ?
विर्तामोड वडा नं. २ को २० वर्षे दिर्घकालिन योजनाको खाका तयार गरेका छौ । पछि पारिएका समुदायको आर्थिक स्तर उठाउनका लागि एउटा समुदायलाई ५४ वटा ब्राखा साटसाट गर्ने कार्यक्रम,अर्को समुदायलाई सुगरका पाठा साटसाट गर्ने कार्यक्रम र फेरि अको समुदायलाई पोते उन्ने कार्यक्रम सञ्चालन गरेका छौं । उनीहरुले उत्पादन गरेको पोते फेसबुक र टिकटबाट प्रचार गरी बेच्न थालिएको छ ।

९. बजेट र योजना निर्माणमा समुदायको सहभागिताको अवस्था के छ ?
बजेट बन्दै गर्दा सबै समुदायले अपनत्व गर्ने किसिमको नीति कार्यक्रम आउनु पर्छ । हाम्रो समाजले चाहेको कुरा पनि त्यही हो । बजेट बनाउने विषयमा केन्द्र र प्रदेश सरकारमा पनि केही सुधार आएका छन् । हामी त स्थानीय सरकार सञ्चालन कार्यविधि ऐन ०४७ ले व्यवस्था गरे बमोजिम नै योजना बनाउदैं छौ ।

३२ टोल विकाससँग योजना माग गरी सकेका छौ । त्यसलाई बजेटमा कुन–कुन समावेश गर्ने भनेर अध्ययन भई रहेको छ । टोल विकास संस्थालाई सबै समुदायको सहभागितामा रहेको सबैले हाम्रो भन्ने महसुस गर्ने योजना बनाउने विधिमा बाधेका छौ । त्यसले गर्दा सबैको सहभागिता छ भन्ने विश्वास छ । हामी कसैको पहुँच, दवावका आधारमा होइन प्राथमिकता र आवश्यकताका आधारमा बजेट बनाउने छौ । अबको पुस्ताले आवश्यकताको आधारमा बजेट निर्माण गर्ने नीति अवलम्बन गर्दै जानुपर्छ । प्राथमिकतालाई याद गरिएन भने समतामुलक समाजको परिकल्पना भन्दा बाहिरको काम हुनेछ ।

१०. वडामा रहेको मेलमिलाप केन्द्रमा कुन –कुन प्रकृतिका मुद्धाको चाप छ ?
नामै मेलमिलाप केन्द्र । एउटाले निवदेन ल्याएर आउछ । अर्को पक्षलाई बोलाएर सानो घेरामा राखेर उनीहरु बीच भएको असमझदारीको कारण पत्ता लगाएर त्यसलाई समझदारीमा परिणत गरिन्छ । उहाँहरुलाई मेलमिलाप गराएर पठाइन्छ । यहाँ चाहि न्यायिक पाटोको जस्तो काम हुदैन । अदालतले जस्तो आदेश पनि हुदैन । प्रहरीले जस्तो थुन्ने काम पनि हुदैन ।
यहाँ आउने मुद्धाहरु घरायासी, लेनदेन, सिमानाको विवाद, अवहेलना, चरी चराउ लगायत छन् । सबैभन्दा बढी लेनदेनको मुद्धा आउने गरेको छ । चालु आर्थिक वर्षको मुद्धा जम्मा ६८ वटा छलफलबाट छिनोफानो भएको छ । नगरपालिका पठाएको मुद्धा ४ वटा, २ वटा मुद्धा हेर्न नमिल्ने कारणले गर्दा अदालत पठाएको र २६ वटा मेलमिलाप हुन बाँकी मुद्धा रहेको मेलमिला केन्द्रले दिएको विवरणमा उल्लेख छ ।

 

प्रकाशित मिति : असार ५, २०८२ बिहीबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]