बिर्तामोड नगरपालिकाबाट सीप सिकेका महिलाहरुको उत्पादन बजारमा
– प्रदीप परियार
चनिमाया तामाङ, सहजकर्ता
झापाको बिर्तामोड नगरपालिकाले सुरुवातदेखि गरिवी निवारणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिसँगै विशेष गरी महिलाहरुलाई उद्यमी बनाउनका लागि गाउँगाउँमा पुगेर सीप विकास तालिमहरु सञ्चालन गर्दै आएको छ ।
सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र महिलाहरुलाई उद्यमशिल बनाएर स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको छ । विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बिर्तामोड नगरपालिका गरिवी निवारणका लागि लघुउद्यम विकास शाखाले तालिमहरु सञ्चालन गरिरहेको छ ।
सुरुवातदेखि तालिम सञ्चालन गर्दै आएको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमले पछिल्लो समय त्यसबाट प्राप्त उपलब्धीले कार्यक्रमको सार्थकता पाइरहेको सहजकर्ता चनिमाया तामाङको धारणा छ । उनका अनुसार बेरोजगार महिलाहरु सीप सिकेर व्यवसायमा लागिरहेका छन् । कतिपय महिलाहरु व्यवसायसँगै प्रशिक्षक कै रुपमा समेत काम गरिरहनु भएको छ ।
तीन वर्षअघि गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका वडा नं. १० मा धुप बनाउने तालिम सञ्चालन गरिएको थियो । ८ दिने उद्यमशिलता तालिम र ३-३ दिनको विषयगत तालिम सञ्चालन गरिएको थियो । उद्यमशिलता तालिम लिएका महिलाहरुले कुन कुन क्षेत्रमा काम गर्ने सो अनुसारको विशेष तालिम लिएका थिए । अहिले उनीहरुले रोजेको तालिमहरु अनुसार काम गरिरहेका छन् । बिर्तामोड १० मा तेलकानीका महिलाहरुले बाटेको धुप बनाउने तालिम लिएर धमाधम धुप उत्पादन गर्दै आएका छन् । रोजगारी नभएका महिलाहरु दिनभर घरमा विना काम समय विताइरहेका अवस्था थियो । घरको काम सकेर आम्दानीको लागि काम गर्ने अवस्था थिएन । अहिले घरको सबै काम सकेर धुप बनाउने तालिमपछि घरघरमा धुप उत्पादनको काममा लाग्नु भएको छ । त्यो तालिमले महिलाहरुलाई स्वरोजगार बन्न सक्षम बनाएको छ । गाउँमा तालिम सञ्चालन गरेपछि अहिले घरमै बसेर राम्रो आम्दानी गर्दै आउनु भएको छ । त्यसै घरमा बस्नुभन्दा आम्दानीको निमित्त मेहनत गर्न इच्छुक महिलाहरुले घरको सामान्य खर्च आफै धान्ने परिस्थितिको निर्माण भएको छ ।
सुरुमा बाटेको धुपका बारेमा धेरैलाई थाहा थिएन । कसरी बाल्ने भन्ने पनि जानकारी थिएन । अहिले बाटेको धुपको बजारमा माग बढ्दै गइरहेको छ । माग बढेपछि गाउँमा महिलाहरुले उत्पादन गरेको धुप राम्रोसँग व्यापार भइरहेको छ । सिन्के धुपभन्दा बाटेको धुपमा आम नागरिकको आकर्षण बढ्दै गइरहेको छ ।
शान्ता अधिकारी थापा
उद्यमी तथा प्रशिक्षक
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम विपन्न महिलाहरु, पिछडिएका महिलाहरुका लागि लक्षित छ । खासगरी गरिवीको रेखामुनी रहेका महिलाहरुलाई सीप सिकाउने र स्वरोजगार बनाएर आम्दानीको बाटो देखाउने योजना हो । बिर्तामोड १० मा तालिम सञ्चालन गर्ने समयमा स्थानीय शान्ता अधिकारी थापाले चासो दिइन् । कार्यक्रमको लक्षित क्षेत्रमा उनी नपर्ने कुरा पनि भएको थियो । तर, उनको इच्छाशक्तिले उनलाई कसैले रोक्न सकेन । सहजकर्ताहरुले पनि उनलाई तालिममा सहभागि बन्न दिए । सुरुमा विपन्न महिलाहरुलाई मात्र तालिम दिने भनिए पनि थापाको सहभागिता हुन पुग्यो । नभन्दै उनले तालिम लिएकाहरुमध्ये उदाहरणीय बनेर देखाइन् । अहिले थापा व्यवसायी मात्र नभई कुशल प्रशिक्षकका रुपमा समेत कार्यरत छिन् ।
आफुलाई तालिमको विषय मन परेर इच्छा व्यक्त गरेको सुनाइन् । २६ जनामध्ये २३ जनाले धुप बनाउने तालिम लिएका थिए । धुप बनाउने तालिम पछि धमाधम उत्पादनमा लागेको जानकारी दिइन् । यो काम सुरु गरेपछि १५ जना महिलालाई रोजगारी दिएकी छन् । २ सय महिलाहरुलाई जिल्लाका विभिन्न स्थानमा पुगेर तालिम पनि दिएको जानकारी दिइन् । घरमा बसिबसी गर्न सकिने काम भएपछि महिलाहरुको आकर्षण पनि बढ्दै गएको उनको भनाई छ । यसमा लागेपछि महिलाहरुले श्रीमानसँग घर चलाउन सामान्य खर्च माग्नु परेको छैन । घर चलाउन पनि ठुलो सहयोग पुगेको छ । कसैले बाख्रा पालन, कसैले व्यूटी पार्लर त कसैले बंगुर पालन सम्बन्धी तालिम लिएका थिए । अहिले धुप बनाउने महिलाहरुको लागि नेतृत्व नै गर्दै आएको उनको भनाई छ ।
व्यवसाय दर्ता गरेर धुप उत्पादन गर्दै आएको बताउदै उत्पादन भएको सामग्री बजारमा विक्रीको समस्या झेल्नु परेको छैन । तर, अझै धेरै उत्पादन वृद्धि गर्न सकिन्छ । उत्पादन गरे जति व्यापार गर्न चै कठिन छ । महिलाहरुले उत्पादन गरेजति सबै धुप विक्रीका लागि कोशेली घर बनाउन आवश्यकता देखिन्छ । त्यसका लागि नगरपालिकाले व्यवस्था मिलाए हुने उनको सूझाव छ । नगरपालिकाले सीपसँगै कागज काट्ने मेसिन समेत दिएको छ । अब, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत उत्पादित वस्तुहरुको विक्रीका लागि एउटा कोशेली घरको जरुरी देखेको छु । कोशेली घरमा हाम्रो उत्पादन उपलब्ध गराउन तयार रहेको थापाको भनाई छ ।
घरको सबै काम सकेर पनि यसलाई समय दिन सकिन्छ । ठुलो लगानी पनि नहुने भए पछि उत्पादनका लागि गाह्रो छैन । काम सानो ठुलो नहुने भन्नेहरुका लागि यो काम सबैका लागि उचित छ । महिला मात्र होइन, पुरुषहरु पनि सिक्न आउन थालेका छन् । पुरुषहरुका लागि पनि तालिम दिएको छु ।
पछिल्लो समय बाटेको धुपको बजार बढ्दै गएको छ । विक्री नहोला भन्ने चिन्ता छैन । हामी जति पनि उत्पादन गर्न सक्छौं । सबै उत्पादित धुप खरिदको लागि ग्यारेण्टी हुन जरुरी छ । अहिले गाउँमा पनि धेरै खपत भइरहेको छ । विस्तारै बाटेको धुप हरेक परिवारले अनिवार्य रुपमा प्रयोग गर्ने समय आउने छ ।
घरमा काम सकेर यत्तिकै बस्ने महिलाहरुलाई धुप बनाउन सिकेर आर्थिक उपार्जनमा लाग्न उनको आग्रह छ ।
शान्ता बस्नेत
उद्यमी महिला
बिर्तामोड नगरपालिकाले बिर्तामोड वडा नं. १० मा उद्यमशिलता तालिम सञ्चालन गर्दा शान्ता बस्नेत वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर कार्यरत थिइन् । विदेशबाट फर्केर उनले आम्दानीको स्रोतका लागि के काम गर्ने भन्ने सुनिश्चित थिएन । विदेशको पैसाले घर व्यवहार चलाउदै आएको बस्नेत परिवारका लागि आर्थिक उपार्जका लागि काम गर्नैपर्ने थियो । स्वदेश फर्किएपछि गाउँमा महिला दिदीबहिनीहरु धुप बाटेर राम्रो आम्दानी गरेको थाहा पाइन् । उनले पनि त्यहि कामको बारेमा चासो लिए पछि प्रशिक्षकको समेत काम गर्दै आउने शान्ता अधिकारी थापासँग भेट भयो ।
बिर्तामोड नगरपालिकाबाट तालिम लिएर धुप उत्पादन गर्दै आएकी थापासँग केहि दिन घरमै तालिम लिइन् । तालिम पश्चात उनले पनि धुप बाट्ने काम सुरु गरेकी छन् । बस्नेतका अनुसार विदेशबाट फर्किएपछि घरको नियमित काम बाहेक मोवाइल चलाउने, टिभी हेर्ने र गाउँमा भेटघाट गर्ने बाहेक काम भएन । त्यहि समयलाई सदुपयोग गर्दै आम्दानीको बाटो रोजेकी बस्नेतले यतिवेला मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी गरिरहेको जानकारी दिइन् । घरमा यत्तिकै वितिरहेको समयलाई आम्दानी गर्न समयको सदुपयोग गर्न थालेको उनको भनाई छ ।
नगरपालिकासँग आफूले तालिम नलिए पनि तालिम लिनेहरुबाट आफूले सिकेको उनको भनाई छ । बेकामे भएर बस्नुभन्दा काम गर्छु भनेर थालेको थिए । अहिले राम्रै आम्दानी गरिरहेको छु । परिवारको रेखदेख सकेर पनि आम्दानी गर्न सकिने काम भएकाले मेहनत गरिरहेको छु । महिलाहरुका लागि यो काम साह्रै सजिलो रहेछ । घामपानीमा जानुनपर्ने, ठुलो लगानी पनि गर्नु नपर्ने भएपछि सजिलो भएको छ । जसबाट तालिम लिए उहाँबाटै सामान ल्याएर काम गर्छु । धुप तयार गरेपछि उहाँलाई नै दिने गरेको छु । उहाँले आफै बजारमा लैजानु हुन्छ । उहाँले दिएको सामानको मुल्य कटाएर मेहनतको पैसा दिनुहुन्छ ।
बाहिर कमाएको पैसा रहदैन । घरमै बसेर कमाएको पैसा बचाउन पनि सकिने रहेछ । यो सीप सिकेर जो पनि काम गर्न सक्नुहुन्छ । विक्रीको पनि चिन्ता छैन । लगानी डुब्ला कि भन्ने पनि चिन्ता छैन । यो काम थालेपछि दैनिक आय आर्जनको बाटो बनेको छ ।
लक्ष्मी देवान
उद्यमशिल महिला
मैले पनि धुप बाट्ने ३ दिने तालिम लिएको थिए । तालिम लिएपछि दैनिक रुपमा धुप बाट्ने काम गरिरहेको छु । लगानीको तुलानामा राम्रो आम्दानी हुँदो रहेछ । टिभी हेरेर बस्ने समयको सदुपयोग गर्दा पनि राम्रै आम्दानी गर्न सफल भएको छु ।
पहिले समय खेह्र गइरहेको थियो । सानो काम भनेर धेरैले नगर्दा रहेछन् । तर, काम सानो ठुलो हुदैन । यो कामबाट राम्रो आम्दानी भएकोले भविष्यमा दर्ता गरेर नै व्यवसायिक रुपमा उत्पादन गर्ने सोच बनाएको छु । स्वास्थ्यका लागि पनि राम्रो, आम्दानीका हिसावले पनि राम्रौ हुदो रहेछ । भविष्यमा यसै क्षेत्रमा सफल उद्यमी बनेर देखाउने गरी काम गर्ने योजना छ । धुप बाट्न थालेपछि सामाजिक क्षेत्रमा काम गर्दै आएको मेचीमहाकाली बुहारी संघलाई मासिक रुपमा सहयोग गर्न सुरु गरेको छु । आम्दानीमध्येबाट मासिक १ सय रुपैयाँ मेचीमहाकाली बुहारी संघका लागि छुट्टाइरहेको छु ।
प्रभावकारी बन्दै तालिम
बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशिलताका ६६ वटा तालिम सञ्चालन गरिएको छ । वडा नं. २, ५ र ९ मा सीपमुलक कार्यक्रम सञ्चालन गरेको सहजकर्ता चनिमाया तामाङको भनाई छ । उनका अनुसार २० जनालाई सिलाई कटाई तालिम, ११ जनालाई व्यूटि पार्लर तालिम, १६ जनालाई दालमोड भूजिया बनाउने तालिम र १४ जनालाई ब्याग बनाउने तालिम प्रदान गरिएको छ । यस चालु आर्थिक वर्षमा ६१ जना महिलाले सीप विकास तालिम लिएर काम गर्दै आएका छन् । सीप तालिम २१ जनालाई प्रदान गरिएको तामाङले जानकारी दिइन् । यस्तै, त्यसबाट २० जना रोजगारी गरिरहेको जनाइएको छ ।
आर्थिक वर्ष ०७७-७८ देखि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बाख्रा पालन तालिम, वातावरणमैत्री झोला बनाउने तालिम, ढाका बुनाई तालिम, अचार बनाउने तालिम, व्यटि पार्लर, कुक तालिम, बंगुर पालन सम्बन्धि तालिम, कपुर धुप बनाउने तालिम, दालमोड भुजिया बनाउने तालिम, ब्याग बनाउने तालिम, सिलाई कटाई सम्बन्धि तालिम, फोटो फ्रेम बनाउने तालिम, गडिया बनाउने तालिमहरु सञ्चालन गरेर महिलाहरुलाई स्वरोजगार बन्नका निम्ति सहयोग गरिएको छ ।
हालसम्म ४६७ उद्यमशिलता तालिम सञ्चालन गरिएको छ भने ४१२ जना त्यसमा सहभागी भइसकेका छन् । २३० जनालाई प्रविधि हस्तान्तरण गरिएको छ भने १३८ जनालाई सीप विकासमा स्तारोन्नति गरिएको छ । त्यसमध्ये २९१ जनाले रोजगारी पाइसकेका छन् । उद्यमशिलता तालिममा सीप सिकेर व्यवसाय सञ्चालन गर्नेहरुलाई नगरले प्रविधि समेत हस्तान्तरण गर्दै आएको छ । सहजकर्ता तामाङका अनुसार सिलाई मेसिन, स्टेनसहितको चारो खाने भाँडो, ढाका तान, व्यूटि पार्लर कुर्सी, ड्रायर, कैंची, बोयर बोका, बंगुर पालन सामान, च्याउन ड्रम लगायतका प्रविधि हस्तान्तरण गरिएको छ । यस कार्यक्रम मार्फत सञ्चालित तालिमहरुको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुले अनुगमन गर्दै आएका छन् ।
चालु आर्थिक वर्षमा नगरमा २ महिने सिलाई कटाई तालिममा वडा नम्बर २,५ र ९ का गरी २० जना सहभागी थिए । यस्तै २ महिना देखि नै सञ्चालनमा रहेको व्युटिपार्लरको तालिममा वडा नम्बर २,५,७ र ९ का गरी ११ जनाको सहभागिता थियो । यसैगरी ४५ दिन सम्म सञ्चालन भएको व्याग बनाउने तालिममा १४ जना वडा नम्बर २ बाट सहभागी थिए ।
तालिममा सहभागि ४४ जनालाई प्रमाण पत्र प्रदान गरिएको छ । उमा कटुवाल भण्डारी र अर्चना बुढाथोकीले व्युटिसियन, महेन्द्रकुमार नेपालीले सिलाई कटाई र व्याग बनाउने तालिमको पिताम्बर खतिवडाले प्रशिक्षण प्रदान गरेका थिए ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिदैं आउनुभएको छ ।
सीपलाई व्यवसायसँग जोडेर आर्थिक लाभ लिनुपर्ने धारणा छ । यो आर्थिक वर्षको कार्यक्रम तालिका अनुसार अब प्रविधि हस्तान्तरण, स्तरोन्नति, वित्तिय साक्षरता र बजारीकरणका तालिमहरु गर्न बाँकी रहेको उद्यम विकास शाखाकी सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो । आर्थिक विकास समिति संयोजक संगिता सिवाले सीप सिकेर व्यवहारमा लागु गर्दै जाने हो भने सबै महिलाहरु सक्षम हुने अवस्था बन्ने छ ।