मुद्रण उद्योगीलाई डिजिटल मार्केटिङ तथा कार्यालय व्यवस्थापन तालिम
झापा । मुद्रण उद्योग संघ झापाको आयोजनामा शनिबार झापा दोमुखामा डिजिटल मार्केटिङ तथा कार्यालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका सहकोषाध्यक्ष राजु पोखरेलले गर्नु भएको थियो । मुद्रण उद्योगी(व्यवसायीहरुलाई डिजिटल माध्यमबाट आफ्नो व्यवसाय प्रबर्द्धन कसरी गर्ने भन्ने बारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
संघका झापा अध्यक्ष रोहितकुमार भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष याम थुलुङले स्वागत गर्नुभएको थियो । संघका सचिव भानु खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका केन्द्रीय सदस्य गोविन्द निरौला, संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
तालिमको सहजीकरण प्रशिक्षक विमल राजवंशी र साइमनजंग बस्नेतले गर्नु भएको थियो । राजवंशीले डिजिटल मार्केटिङ र कार्यालय व्यवस्थापन बारे प्रशिक्षण दिनुभएको थियो भने बस्नेतले सामाजिक सञ्जालको प्रयोग र यसमा व्यवसाय प्रबर्द्धन कसरी गर्न सकिन्छ भन्ने बारे प्रस्ट पार्नुभएको थियो ।
सहभागी प्रशिक्षार्थीलाई धन्यवाद दिँदै संघका अध्यक्ष भट्टराईले व्यावसायिक हितका लागि सबै एकजुट हुन आग्रह गर्नुभयो । सहभागीको तर्फबाट संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठले आफूहरुलाई अत्यन्तै आवश्यक तालिम संघले आयोजना गरेको बताउनुभयो । तालिममा झापाभरिका ७० जना मुद्रण व्यवसायीको सहभागिता रहेको कोषाध्यक्ष रमेश बस्नेतले जानकारी दिनुभयो ।