असार १०, २०८२ मंगलबार

सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

काठमाडौं –  घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ। खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा तानेर कारबाही थालिएको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी प्रमुख लेनदेनमा मुछिएको घटनालाई गम्भीर मान्दै छानबिन समिति गठन गरेको उक्त कार्यालयले जनाएको छ।

‘छानबिन समिति बनेको छ, तीन सदस्यीय समितिले रिपोर्ट दिएपछि के कस्तो कारबाही गर्नेबारे टुंगो लाग्छ,’ मधेस प्रहरी कार्यालय स्रोतले भन्यो।

खतिवडामाथि एक युट्युब च्यानलमा विभिन्न मुद्दामा लाखौं असुली गर्ने गरेको, सर्वसाधारणलाई दु:ख दिएर असुल्ने गरेको तथा त्यस कार्यमा सई त्रिपाठीलाई खटाएको आरोप लागेको थियो।

युट्युबको भिडिओ अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ। त्यस कार्यमा खतिवडाको के कस्तो मिलेमतो भन्ने यकिन भइसकेको छैन।

प्रकाशित मिति : असार १०, २०८२ मंगलबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]