शिवसताक्षीको बजेट ९१ करोड ४२ लाख, गौरवका आयोजनालाई प्राथमिकता
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ लागि ९१ करोड ४२ लाख बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलवार भएको १६ औं नगरसभाबाट नगर उपप्रमुख नरमाया कार्की ९१ करोड ४२ लाख बराबरको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । जसमध्ये सशर्त कार्यक्रमका लागि रु ४८ करोड, ३२ लाख, २७ हजार, नगर योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि रु २७ करोड र चालु खर्चका लागि १७ करोड १० हजार बराबर रकम रहेको छ ।
सामाजिक सुरक्षा तथा संरक्षण भत्ताका लागि छुट्टै ४० करोड रकम विनियोजन गरेको उपप्रमुख नरमाया कार्कीले बताउनु भयो । नगरपालिकाले आगामी आर्थिक वर्षमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा जोड दिएको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनमा लगानी अभिबृद्धि गरी दिगो र समावेशी आर्थिक सामाजिक विकासका लागि काम गर्ने उपप्रमुख कार्कीले जानकारी दिनुभयो । नगरसभामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरमा सञ्चालित नगर गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएको बताउनु भयो । उहाँले दुधे रंगाशाला, रिङ्गरोड, नगर अस्पताल सञ्चालन गरेर नगरबासीलाई सेवा प्रवाह गर्ने जानकारी दिनु भयो ।
नगरपालिकाले वडा सिलिङ्ग बजेट सुत्रका आधारमा बाँडफाड गरिएको छ । वडा सिलिङ्गका लागि एक वडा बराबर न्यनतम ५० लाख कायम गरी सो भन्दा माथिको रकम सुत्रका आधारमा विनियोजन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जनसंख्या, भूगोल, राजश्व संकलन जस्ता विषयहरुलाई मापदण्ड बनाई ११ वडामा बजेट विनियोजन गरेको हो ।
नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । जसमा १ करोड ४५ लाख बजेट विनियोजन गरेको हो । नगर भित्रका पशु सेवा विस्तारका लागि ५० लाख, कृषि उत्पादन, बजारीकरण र किसान लक्षित कार्यक्रमका लागि ७० लाख, स्वास्थ्य क्षेत्रको विकासमा ७० लाख बजेट विनियोजन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
नगरभित्र रहेको एक मात्र आयुर्वेद चिकित्सालाई प्रवद्र्धन, निशुल्क औषधि वितरण र सेवा प्रवाहका लागि २० लाख, बालबालिका महिला र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि २० लाख र सहकारी उद्यम विकास लागि ५ लाख बजेटको व्यवस्था गरिएको छ । सामाजिक विकास कार्यक्रमका लागि ३५ लाख र श्रम रोजगार विकास शाखा अन्तर्गत गरिने रोजगार मुलक कार्यक्रमका लागि १० लाख ७२ हजार रकम विनियोजन गरेको छ ।
नगर सभामा चालु आर्थिक वर्षमा भएको कामहरुको समिक्षा गरिएको थियो । समिक्षाका क्रममा वडाध्यक्ष डिल्लीलाल फेम्बु, हर्क सिगु वडा सदस्य पुजा नेपालीले जिज्ञासा तथा सुझाव राखेका थिए । उनीहरुले आगामी दिनमा नगरका योजनाहरु वडाध्यक्ष तथा वडा सदस्यहरुसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने सुझाब दिएका थिए । कार्यक्रम नगरप्रमुख मेगाहाङ्ग थोप्राको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले गर्नु भएको थियो ।