अर्जुनधाराको बजेट ९५ करोड ९ लाख
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि रु ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगरसभामार्फत सार्वजनिक बजेटमा भौतिक पूर्वाधारदेखि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासनलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
नगर उप–प्रमुख तथा बजेट तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास सम्बन्धी आयोजनाका लागि १४ करोड ११ लाख, वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकास सम्बन्धी कार्यक्रमहरुका लागि ५ करोड ७९ लाख, आर्थिक विकास सम्बन्धी कार्यक्रमहरुका लागि ३ करोड ५३ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ६० लाख, संस्थागत विकास तथा सुशासन सम्बन्धि कार्यक्रमहरुका लागि १ करोड ५० लाख, वित्तीय व्यवस्थाका लागि २५ लाख तथा नगरपालिकाको प्रशासनिक खर्च व्यवस्थाका लागि १४ करोड ७८ लाख रुपैया नगरले विनियोजन गरेको जानकारी दिनुभयो ।
नगरले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको वित्तीय समानिकरण अनुदान १६ करोड ८७ लाख, राजश्व बाँडफाँड बापत १३ करोड ९४ लाख, सशर्त अनुदान ३२ करोड ९५ लाख, विशेष अनुदान १ करोड १ लाख, समपुरक अनुदान ३ करोड १४ लाख प्राप्त गर्ने अनुमान गरेको छ ।
त्यस्तै, कोशी प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ५९ लाख १४ हजार, राजश्व बाँडफाँड बापत १ करोड ५४ लाख ९९ हजार, सशर्त अनुदान २ करोड ४३ लाख २१ हजार, समपुरक अनुदान ६० लाख प्राप्त गर्ने अनुमान गरेको छ ।
यस्तै, नगरपालिकाको आन्तरिक कर तथा राजश्व संकलनबाट ८ करोड, स्थानीय राजश्व बाँडफाँडबापत ७ करोड ५० लाख, जनसहभागिता बापत २ करोड ५० लाख तथा नगद मौज्दात ३ करोड ८७ हजार प्राप्त हुने अनुमान गरेको आज सम्पन्न नगरसभामा जनाईएको छ ।