असार ११, २०८२ बुधबार

लागुऔषध दुर्व्यसन सम्बन्धी वक्तृत्वकलामा छात्राले जिते सबै उपाधि

झापा । झापाको बिर्तामोडमा मंगलबार सम्पन्न जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले उत्कृष्ट प्रस्तुति दिँदै सबै उपाधि जितेका छन् ।

‘लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ शीर्षकमा आयोजित यस प्रतियोगितामा १५ वटा पालिकाका २९ जना विद्यार्थी सहभागी थिए, जसमा १४ जना छात्र र १५ जना छात्रा थिए ।

बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीको हलमा आयोजित प्रतियोगितामा हिमज्योति अंग्रेजी बोर्डिङ स्कुल दमक ९ की शीतल कुँवर प्रथम भइन् । उनले नगद १० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरिन् । त्यसैगरी, जयपुर बोर्डिङ स्कुल बुद्धशान्ति २ की पुजन आचार्य द्वितीय हुँदै ७ हजार रुपैयाँको हकदार बनिन् भने इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी रेजिना बन तृतीय स्थान हासिल गर्दै ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

सान्त्वना पुरस्कार पाउनेहरूमा कमल गाउँपालिका ३ को निहारिका अंग्रेजी माविकी छात्रा जुनु दंगाल र बिर्तामोड नगरपालिका २ को मोहनमाया माविकी छात्रा दिप्ती सुवेदी रहेका छन् । उनीहरूले जनही १ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा, शिक्षा विकास समन्वय इकाइको समन्वयमा तथा हिसान, प्याब्सन र एन–प्याब्सनको सहकार्यमा सम्पन्न यस कार्यक्रमले लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लागुपदार्थको सेवन लुकाएर गरिने भएकाले यस्ता वस्तुबाट बच्न सबैलाई आग्रह गरे । यस प्रतियोगिताले लागुऔषधमुक्त समाज निर्माणमा युवा पुस्ताको भूमिकालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : असार ११, २०८२ बुधबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]