असार ११, २०८२ बुधबार

नुवाकोटका कारोवारी भद्रपुरबाट २ सय ग्राम ब्राउनसुगरसहित पक्राउ

बिर्तामोड । झापा प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार दिउँसो २०० ग्राम ३९० मिलिग्राम लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिई अनुसनधानका लागि ७ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै नियन्त्रणमा लिएका व्यक्तिहरुलाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३१ को साजन तामाङ, वर्ष ३० को सजिन लामा, वर्ष ३३ को दिपेश लामा, वर्ष २३ को राम तामाङ रहेको झापा प्रहरीले जनाएको छ ।

क्रेटामा सवार ४ जना कारोवारीलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा रहेको टोलीले उनीहरुलाई भद्रपुर नगरपालिका वडा नं. ७ आनिमार्गमा चेकजाँचका क्रममा पक्राउ गरेको हो । बागमति प्रदेश ०१–०२५–च ०८७७ नं. को हुन्डाई कम्पनीको क्रेटा कारलाई रोकेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउंदै गरेको लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरी प्रवक्ता खड्ग बहादुर खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने ४ थान मोबाइल समेत बरामद गरि नियन्त्रणमा लिईएको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको अनुसन्धानको लागि जिल्ला अदालत झापामा उपस्थित गराई म्याद थप गरिएको छ ।

झापा प्रहरीले गत असार ७ गत पनि बा.प्र. ०१–०३० च ७७९३ नं. को नेटामा लागुऔषध ब्राउन सुगर ४७ ग्राम ६९० मिलिग्राम ल्याउंदै गरेको अवस्थामा काठमाण्डौ वडा नं. २६ बस्ने वर्ष २४ को निवेश कुंवेर र जिल्ला लम्जुङ कोलासोतार गाउँपालिका वडा नं. ७ बस्ने २२ वर्षीया नोजिना रानालाई कार सहित भद्रपुर नगरपालिका वडा नं.५ स्थित भन्सार चोकबाट नियन्त्रणमा लिएको थियो ।

यस्तै, बैशाख अन्तिममा गौरीगञ्ज गाउँपालिका वडा नं. ३ गौरीगञ्ज बजारबाट लागुऔषध कारोबारमा संलग्न दमकका भुपेन्द्र राई, भारत बस्ने भोला ठाकुर, मोनाजिर आलमलाई १०० ग्राम ०९० मिलिग्रामसहित नियन्त्रणमा लिइएको थियो । अवैध कार्यमा संलग्न ना. १ च.९१६२ नम्बरको हुन्डाई ११० कार र १ भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आ.व.२०७९-०८० मा १५५८ ग्राम ४५९ मिलिग्राम, आ.व.२०८०÷०८१ मा २१७४ ग्राम१९५ मिलिग्राम र आ.व.२०८१-०८२ मा २४०५ ग्राम १६५ मिलिग्राम बरामद गर्न सफल भएको जनाएको छ । तथ्याङक अनुसार झापामा लागुऔषधको कारोबार वर्षेनी बढ्दै गएको छ ।

प्रकाशित मिति : असार ११, २०८२ बुधबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]