तल्लो तहसम्म बलियो खवरदारी गर्न झापाली पत्रकारहरुलाई सुझाव
बिर्तामोड । झापाली पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पालना गर्दै मर्यादित र जिम्मेवार पत्रकारको भूमिका निर्वाह गर्न सूझाव दिइएको छ ।
आज नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र स्थानीय तह रिपोटिङ बहस कार्यक्रममा यस्तो सूझाव दिइएको हो । नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँलेले पत्रकारहरुले आचारसंहिताको पूर्ण पालना गर्दै तल्लो तहको लोकतन्त्रलाई बलियो बनाउन आग्रह गरे ।
पत्रकारहरुले आचारसंहितामा रहेर पत्रकारिता गर्नुपर्ने भन्दै गाउँलेले पछिल्लो समय देखिएका वेथितीहरुले पत्रकारिता क्षेत्रलाई नै संकट बनाइरहेको बताए । उनले पत्रकारहरु बेलैमा सच्चिन जरुरी रहेको बताएका छन् । पत्रकारहरुले गर्न हुने र नहुने विषयहरुमा सहजीकरण गर्दै गाउँलेले खोज समाचार प्रकाशन गरेर जान सूझाव दिए । समाचारमा भइरहेको कपिपेष्टले पत्रकारहरुमा सिर्जनालाई मार्दै गएको उनको भनाई थियो । स्थानीय तहमा पत्रकारहरुले बलियो खवरदारी गर्नुपर्नेमा उनले जोडदिए । पत्रकारितामा असल कर्म गरेर मर्यादित र सम्मानित जीवन निर्वाह गर्न सकिने उनको भनाई थियो ।
पत्रकारहरुलाई सहजीकरण गर्दै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुलाई आचारसंहिता पालनामा ध्यान दिन जरुरी रहेको बताए । आचारसंहिता पालना नभए समाचारसँग सम्बन्धित व्यक्तिले जुनसुकै बेला पनि उजुरी गर्न सक्ने उननको भनाई छ । हरेक नागरिकले आचारसंहिता ख्याल गरे नगरेको विषयलाई चासोको साथ हेरिरहेको जानकारी दिदैं उजुरी र कारबाही बारे अवगत गराए । उनले झापाली पत्रकारहरुलाई जिम्मेवार पूर्वक आचारसंहिता पालना गर्न आग्रह गरेका छन् ।
मुख्य अधिकृत भुसालले विना दर्ता मिडिया सञ्चालन नगर्न सूझाव दिदैं दर्ता प्रक्रियामा आउन आव्हान समेत गरेका थिए । पत्रकारहरुले सार्वजनिक हित र सरोकारमा काम गर्नुपर्ने भएकाले सत्यतथ्यमा आधारित रहेर काम गर्न आग्रह गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र प्रेस काउन्सिलको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य पदमराज जोशी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले धारणा राखेका थिए ।