बिर्तामोडका विद्यालयमा अब ट्राफिक सचेतना शिक्षा
झापा, असार १४ । चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी झापामा ८३ जनाले ज्यान गुमाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् । दुर्घटनामा १५ देखि ४० वर्ष उमेर समूहका धेरैले ज्यान गुमाएसंगै सवारी दुर्घटना रोक्न झापामा विद्यार्थी केन्द्रीत कार्यक्रम शुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यले बिर्तामोड नगरपालिकाले नगरमा सञ्चालित सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा एकैसाथ ट्राफिक सचेतना शिक्षा कार्यक्रम अघि बढाएको हो ।
ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धि बिद्यार्थीलाई जानकारी दिने उद्देश्यले शनिवार नगरका सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रशिक्षण प्रदान गर्दै बिर्तामोडका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक शिक्षा प्रदान गर्नु पर्ने जनाइएको छ ।
बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा अन्तु मिडिया प्रा.लि.ले कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सबै विद्यालयमा विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक सचेतना र सडक सुरक्षाका विषयमा जानकारी दिनु पर्ने बताए ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तीलचन भण्डारीले स्थानीय पाठ्यक्रममा पनि ट्राफिक सचेतना शिक्षा उल्लेख भएको र पाठ्यक्रममा नै समावेश उक्त विषयलाई ट्राफिक प्रहरीसंगको सहकार्यमा हरेक विद्यालयमा ट्राफिक सचेतना शिक्षा अनिवार्य प्रदान गर्नु पर्ने धारणा राखे । उनले त्यसका लागि आवश्यक परे नगरपालिकाले समेत सहजीकरण गर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले सहजीकरण गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका भित्र सञ्चालित सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्ययन गराउने शिक्षकको सहभागीता रहेको थियो ।
सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहभागी शिक्षकले आ –आफ्नो विद्यालयमा अनिवार्य रुपमा विद्यार्थीलाई ट्राफिक सचेतना र सडक सुरक्षाका विषयमा जानकारी गराउने प्रतिवद्धता जनाए ।
पत्रकार सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले कार्यक्रम प्रभावकारी भएको र हरेक विद्यालयमा ट्राफिक प्रहरीको उपस्थितिमा ट्राफिक सचेतना शिक्षा सञ्चालन गर्न जरुरी रहेको बताइन् । कार्यक्रममा सहभागी शिक्षकलाई ट्राफिक शिक्षकका रुपमा छनौट गर्दै उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।