असार १५, २०८२ आईतबार

एमालेले झापा जिल्लाभर मनायो धान दिवस

बिर्तामोड । झापाका अधिकांश पालिकाहरुमा नेकपा एमालेले धान दिवस मनाएको छ । राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाधर पार्टी कमिटी, जनसंगठनहरुले सामुहिक रुपमा धान दिवस मनाएका हुन् ।

अखिल नेपाल किसान महासंघ, अनेमसंघको समन्वयमा एमालेले धान दिवस मनाएको हो । नेकपा एमाले झापाका कार्यालय सचिव छविलाल विश्वकर्माका अनुसार पालिकास्तरमा बाजागाजा सहित एमालेले धान दिवस मनाएको छ ।
उनका अनुसार बाह्रदशी, मेचीनगर, शिवसताक्षी, बुद्धशान्ति, बिर्तामोड, कमल, गौरादह, दमक, झापा, अर्जुधारासहित अन्य पालिकाहरुमा धान दिवस मनाइएको हो । धान दिवसमा जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले मेचीनगर कमिटीले २२ औँ राष्ट्रिय धान दिवस मेचीनगर–७ जोरसिमल स्थित नरपति काफ्लेको खेतमा मनाएको छ । एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाउने गरिएको बताए ।

एमालेको नेतृत्वमा दैलेखमा मिथेन ग्यास भण्डार खानीको खोजपर्ताल गरेपछि ५० वर्षलाई पुग्ने १ अर्व १२ करोड घनमिटर मिथेन ग्यास रहेको उनको भनाई छ । उनका अनुसार मिथेन ग्यासबाट कृषिलाई चाहिँने मललाई मल्टीप्रपोजका रुपमा विकास गर्न सकिने छ । समृद्ध नेपाल सुखी नेपालीको सपना अब पूरा हुने छ । कार्यक्रममा एमाले नेता विष्णु प्रसाई, युवा नेता दावा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा एमाले जिल्ला सदस्य एवम् मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले असारे १५ को लोकगीत बाँसुरीको धुनमा बजाएको एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

यस्तै, नेकपा एमाले बाहृदशीको आयोजना तथा अखिल नेपाल किसान महासंघको व्यवस्थापनमा २२ औँ राष्ट्रीय धान दिवस भव्यताका साथ सम्पन्न गरिएको छ । नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाको अध्यक्षता एवम पार्टीका केन्द्रीय कमिटी सदस्य हरि बहादुर राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी लगायतको उपस्थित रहेको थियो । बाह्रदशी २ स्थित जिल्ला कमिटी सदस्य बिन्दा निरौलाको खेतमा धान दिवस मनाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

शिवसताक्षी वडा नं. ७ स्थित नेकपा एमाले वडा नं. ७ वडा कमिटी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामूहिक धान रोपाइ गरी दिवसलाई उत्सवमय बनाइएको हो ।

कार्यक्रम नेकपा एमाले शिवसताक्षी, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ तथा रेटर्नी फेडेरेसन नेपाल शिवसताक्षीको संयुक्त आयोजनामा सम्पन्न भएको हो । उक्त अवसरमा १५ कठ्ठा क्षेत्रफलमा सामूहिक रूपमा धान रोपिएको अखिल नेपाल किसान संघ शिवसताक्षीका अध्यक्ष बलबहादुर राईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एलपी साँवा लिम्बुले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण हुन आह्वान गर्दै प्रविधिमा आधारित कृषि प्रणालीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

धान दिवसकै सन्दर्भमा शिवसताक्षी नगरपालिकाले किसानका लागि खरिद गरेको धान रोप्ने आधुनिक मेसिनको पनि उद्घाटन गरिएको थियो । उक्त मेसिनमार्फत औपचारिक रूपमा रोपाइ प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

समारोहमा संघीय सांसद एलपी साँवा, प्रदेश सांसद राधाकृष्ण खनाल, नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य चन्द्रकुमार शर्मा, सचिवालय संयोजक धनबहादुर थेवे, नगरप्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एमाले नगर अध्यक्ष मेदनी दंगाल, जनवर्गीय संगठनसहित जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा धान दिवस मनाइएको हो ।

प्रकाशित मिति : असार १५, २०८२ आईतबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]