असार १६, २०८२ सोमबार

अर्जुनधारा सर्वेक्षण : ५३ प्रतिशत नगरवासी वडा कार्यालयको सेवाबाट सन्तुष्ट

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा गरिएको एक सर्वेक्षणले ५३ प्रतिशत नगरवासीहरु वडा कार्यालयहरुको सेवाबाट सन्तुष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

हालै इजलास मिडिया प्रालिले वडा–वडामा गरेको नागरिक अभिमत सर्वेक्षणमा वडा कार्यालयबाट पाएको सेवाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने जिज्ञासामा ५३ प्रतिशत नगरवासीले सन्तुष्ट रहेको प्रतिक्रिया जनाएका थिए । ३८ प्रतिशतले ठिकै र ९ प्रतिशतले असन्तुष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

सार्वजनिक सुनुवाईको पूर्वसन्ध्यामा गरिएको सर्वेक्षणमा वडा कार्यालयमा सेवा लिन जाँदा कर्मचारीको व्यवहारप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने जिज्ञासामा सन्तुष्ट ५४, ठिकै ४३ र ३ प्रतिशत नागरिकले असन्तुष्ट रहेको जनाएका थिए । यस्तै, वडा कार्यालयमा सेवा लिन जाँदा कर्मचारी उपस्थित भएको पाउनु भएको छ कि छैन भन्ने प्रश्नमा छ मा ७९, छैनमा ५ र कहिलेकाहींमा १६ प्रतिशत नागरिकले अभिमत प्रकट गरेका थिए ।

यस्तै, नियमअनुसारभन्दा बढी दस्तुर तिरेको छैनमा ८९ प्रतिशत, धेरै तिरेको छु मा १० र कम तिरेको छु मा १ प्रतिशत नागरिकले अभिमत प्रकट गरेका छन् ।

नगरका कर्मचारीमाथि ३३ प्रतिशत नगरवासीले धेरै विश्वास गरेको, ६९ प्रतिशतले ठिकै मात्र विश्वास गरेको र ८ प्रतिशतले विश्वास नभएको प्रतिक्रिया दिएका थिए ।

अर्जुनधाराका वडा कार्यालयहरुमा ७६ प्रतिशत नगरवासी आफ्नो कामका लागि आफै जाने गरेको अध्ययनमा फेला परेको छ । ठूलाबडाको साथमा २३ र विचौलियाको साथमा १ प्रतिशत नगरवासी वडा कार्यालयमा सेवा लिन गइरहेको मत प्राप्त भएको छ ।

४८ प्रतिशत नागरिकले एकै पटकमा काम हुने अभिमत दिएका छन् भने ३६ प्रतिशतले दुई पटक र अझ धेरै जानुपरेकोमा १६ प्रतिशत नागरिकले अभिमत प्रकट गरेका छन् । यस्तै अर्जुनधारामा सर्वेक्षण गरिएको मध्ये ३८ प्रतिशत नागरिकले बडापत्रबारे जानकारी भएको जनाएका छन् भने त्यति नै नागरिकले थाहा नभएको जनाएका छन् । २४ प्रतिशतले मात्रै अलिअलि थापा बताएको बताए ।

वडामा सरसफाईको अवस्था कस्तो पाउनु भएको छ भन्ने जिज्ञासामा राम्रो ४५ प्रतिशत, ठिकैमा ४९ र खराब छ भन्नेमा ६ प्रतिशत अभिमत प्राप्त भएको छ । अध्ययनका क्रममा वडाहरुमा विकास निर्माण कस्तो भएको छ भन्नेमा राम्रो ३२ प्रतिशत, ठिकै ६९ र खराबमा ९ प्रतिशत अभिमत प्राप्त भयो । यस्तै, ९३ प्रतिशतले वडाध्यक्षको भूमिका सहयोगी पाएको जनाएका छन् भने १ प्रतिशतले खराव र वास्तै गर्दैनन्मा ७ प्रतिशतले मत दिएका थिए । यसै हप्ता गरिएको सर्वेक्षणको नतिजा असार १२ गते वडा नं. ३ को कार्यालय खुदुनावारीमा आयोजित सार्वजनिक सुनुवाईमा प्रस्तुत गरिएको इजलास मिडिाले जनाएको छ ।

नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङले कमजोरीहरुलाई आगामी दिनमा सुधार गर्दै जाने बताए । उनले नगरवासीले जनप्रतिनिधि र कर्मचारीहरुलाई सच्चिनका लागि दिएको अभिमत महत्वपूर्ण रहेको बताएका छन् । ११ वटा वडामा १०÷१० जना गरेर ११० जना वडाबासीसँग नागरिक अभिमत सर्वेक्षण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]