असार १६, २०८२ सोमबार

बिर्तामोडको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बिर्तामोड । बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ ।

नीति तथा बजेट पारित र प्रतिवेदनहरूको अनुमोदनः नगर सभाका सभाध्यक्षबाट बैठकको प्रारम्भ भएको घोषणा गरिएसँगै असार ९ गतेको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बजेट, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ माथि सदस्यहरूले व्यापक छलफल गरी आफ्ना विचार राखेका थिए । छलफलपश्चात् सभाध्यक्षले ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

बैठकले बिर्तामोड नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई नगरको पहिलो ५ वर्षे नगर आवधिक योजनासँग तादात्म्य कायम गरी दीर्घकालीन दृष्टिकोणका साथ सर्वसम्मत पारित गरेको छ ।

त्यसैगरी, गत असार ९ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रस्तुत गर्नुभएको बजेट, योजना तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ लाई पनि सर्वसम्मत पारित गर्ने निर्णय भएको छ ।

यसका साथै, न्यायिक समिति, अर्थ तथा सार्वजनिक लेखा समिति, सुशासन तथा क्षमता विकास समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति र विधेयक समितिका आर्थिक वर्ष २०८१-०८२ का प्रतिवेदनहरू पनि सर्वसम्मत पारित गरिएको छ ।

बिर्तामोड नगरपालिकाले असार ९ गते आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]