असार २०, २०८२ शुक्रबार

सहाराको प्रेरणादायी जीवन वरदान कार्यक्रम

सम्पादकीय

सहकारी संस्थाहरू समुदायका गहना हुन् । सदस्यको सुख दुःखमा सहकारी संस्थाले गरेको योगदान कम छैन । यसका लागि धेरै टाढा पनि जानु पर्दैन । झापाको बिर्तामोडस्थित चारपानेमा मुख्य कार्यालय भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थालाई हेरे पुग्छ । सहारा सदस्यहरूको साँच्चिकै सहारा भएको छ । सहाराले सञ्चालन गरेको जीवन वरदान कार्यक्रमले धेरै सदस्यलाई राहत दिएको छ । सदस्य तथा कर्मचारीको उपचारमा आर्थिक बोझ घटाउन सहाराले जीवनभरदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्रै १३९७ जनाले सुविधा प्राप्त गरेका छन् । जसबापत सहाराले ६ करोड २९ लाख २६ हजार २२८ रुपैयाँ सदस्यलाई उपचार खर्चवापत दिएको छ ।

देशका ५० भन्दा बढी अस्पतालबाट सहाराका सदस्यले उपचार सुविधा प्राप्त गरेका छन् । कार्यक्रम सुरु भएता १७ हजार ७३७ जनाले उपचार सेवा पाएका छन् । यसका लागि सहाराले करिब ४२ करोड रुपैयाँ भुक्तानी गरेको छ । आफ्ना सदस्यको उपचार सुनिश्चित गर्ने अभियानमा सहाराले निर्वाह गरेको भूमिकालाई बहुआयामिक ढंगले हेरिनुपर्छ । यसले सदस्यको वृत्ति विकासमा मात्र जोड दिएको छैन, उपचारमा आइपर्ने आर्थिक बोझलाई समेत कम गर्ने प्रयास गरेको छ । सदस्यमुखी संस्थाहरूले निर्वाह गर्ने भूमिकामा सहाराको सक्रियतालाई बलियो मान्न सकिन्छ । सदस्यहरूलाई आत्मनिर्भर बनाउने अभियानमा सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । यो भूमिकालाई कमजोर देखाउने प्रयासमा केही मानिसहरू नभएका पनि होइनन् । समग्र सहकारी अभियानप्रति वितृष्णा जगाउने खालका गतिविधि गर्नेहरूका लागि यो गतिलो जवाफ हो ।

संस्था सञ्चालनको दीर्घकालीन योजना, दृढ इच्छाशक्ति र सदस्यप्रतिको जिम्मेवारी बोधले संस्थाहरुलाई गतिशील र प्रभावकारी बनाइरहेको छ । सहारा जस्ता अरु थुप्रै सहकारी संस्थाहरुले समेत सदस्यको उपचारमा कुनै न कुनै हिसाबले सहयोग गर्दै आएका छन् । यसले सहकारीप्रति समुदायको धारणामा सकारात्मक परिवर्तन ल्याएको छ । सहाराको जस्तै अभियानलाई अरु सहकार्य संस्थाहरूले समेत अभियानका रुपमा सञ्चालन गर्नुपर्छ । भनेका बेलामा उपचार खर्च नभएर धेरै नागरिक समस्यामा पर्छन् । तत्काल उपचार खर्च जुटाउन समेत धौधौ पर्ने अवस्थाका नागरिकलाई उपचारको सुनिश्चिता गर्ने अभियान कम चुनौतीपूर्ण छैन । ती सबै चुनौती र अप्ठ्यारालाई पार लगाउँदै सदस्यको घाउमा मलम पट्टी लगाउने सहाराको सकारात्मक अभियान सबैका लागि प्रेरणादायी छ ।

प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]