जब म फुर्सद भए…
टिकाराम मंग्राती
काठमाडौं अन्तर्राष्ट्रिय विमान स्थलबाट असारको १९ गते ५ः५० मा जब म रोमानियाको लागि ब्याङ्गलोर उडे । त्यसपछि कतारको ट्राजिन्ट हुँदै रोमानिया पुग्नु थियो । म बिदेश जाने कुरा मेरा धेरै जना प्रिय साथीहरूलाई जानकारी थियो । म बिदेश जादैछु भन्दा पनि बिश्वास नगर्ने साथीहरूको ठुलो पङ्ति थियो । त्यो भन्दा बढि मलाई देश मै बसेको हेर्न चाहाने साथीहरू धेरै थिए । जो साथीहरू मलाई एयरपोर्टमा बिदा गर्न आउनु भयो, उहाँहरुलाई म हिड्ने कुरामा बिश्वास पनि थिएन । अझ सम्भव भएसम्म रोक्न चाहान्थे । तर तिनै साथीहरूले बिदाईको हात हल्लाउँदै शुभयात्रा भन्नुपर्ने अवस्था आयो ।
मैले पहिलै भनेको थिए । म एयरपोर्टबाट बिदा हुँदै गर्दा खादा र अविर लाउदिन । तर मैले भने जस्तो भएन, वातावरण बदलियो । नबदलियोस पनि कसरी ? म आफै त बद्लिए ! त्यसपछि सुरु भयो, खदा, अविर लाउने र राष्ट्रिय झण्डा ओडाउने काम । साथीहरूले पालैपालो ,सामुहिक आदि तस्वीरहरु लिनुभयो । मेरो प्रिय भाइ मनोजले एउटा डायरी र बुद्धि सागरको पुस्तक ‘एक्लो’ हातमा थमाउदै दाई एक्लो महसुस नगर्नुहोस् भनेर दिएको पढ्नु ल ! भन्नुभयो । त्यसपछि भाई राजेश नेपाली, बहिनी निता घतानी, दाईहरु बीरु घिमिरे, देबेन्द्र पोख्रेल लगायतले शुभकामना र खदासहित बिदाई गर्नुभयो । म भारी मन लिएर चेकजाँच कक्ष तिर अघि बडे ।
टिकटमा लेखिएको समय भन्दा करिब ४ घन्टापछि ५ः५० मा नेपाल एयर ब्यङ्ग्लोरको लागि उड्यो । अन्तर्राष्ट्रिय एयरपोर्टमा भएका हजारौंमध्ये हामी १४ जना थियौ । जस्को गन्तव्य एउटै थियो, रोमानिया , भास्लुई । अतः मैले एयरपोर्टमा प्लेन उडानको लामो समय प्रतीक्षा गरिरहँदा तस्वीर पोस्ट गर्ने कि नगर्ने ? भनेर सम्झे । मैले नगरे पनि साथीहरूले पोस्ट गरि हाल्नु हुन्छ । हिड्नु त छदैछ , मलाई यतिका समय साथ सहयोग गर्ने मेरो आदरणीय, प्रिय मान्छेहरुलाई थाहा दिने उद्देश्यले एउटा फेसबुकमा स्टाटस लेखे । त्यसपछि फोन र म्यासेजको एक किसिमको वर्षा नै सुरु भयो । मौसमको कारण जसरी प्लेनको बाटो अवरुद्ध भइरहेको थियो त्यसरी नै मेरो मोबाइलमा पनि म्याजेको बर्षा ले मेरो लक्ष्य नै अवरुद्ध गर्ला जस्तो भयो । बिस्तारै एयरपोर्टभित्र ठुलो आवाजमा सूचना आउन थालो ‘प्लिज नेपाल एयरबाट ब्याङ्गलोर जाने यात्रु महानुभावहरु गेट नम्बर ४ तर्फ ! लाइन लाग्नु होला ।’
त्यो बेलासम्ममा म पनि मानसिक रुपमा उड्न सक्ने भइसकेको थिए । घरपरिवारको अवस्था, हुर्किदै गरेको छोरा छोरीको जिम्मेवारी । ८०-९० बर्ष पुगेको बुवा आमाको ख्याल, घर बनाउदा र सानोतिनो ब्यापार ब्यवसाय गर्दाको ऋण । यि कुराले मेरा पखेटा लागि सकेको थियो । त्यसपछि लाइन लागे र उडे ।
करिब २ घन्टा २५ मिनेटको उडान पछि हामी ब्याङ्ग्लोर एयरपोर्ट पुग्यौं । अत्यन्तै भब्य र सुन्दर एयरपोर्ट । तर कुनै कुराले मन तान्नेवाला छैन । आफु भने सुन्दर देशको कुरुप चित्र बोकेर हिड्न बाध्य छ । त्यसपछि कतारको दोहा प्रस्थान गरियो । तातो हावा चल्ने मरुभुमिमा अदभूत बिकास र कृतिम सुन्दरता ।
कतार ,दोहा एयरपोर्टमा नेटमा कनेक्सन हुने इच्छा जाग्यो । अझ भनौ त्यो चमत्कारिक बिकासको संरचनाले तान्यो । त्यसपछि साथी मनोज लामिछाने ,सिन्धुपाल्चोक र मैले तस्वीर लियौं । मैले सामाजिक सञ्जाल खोले र हेरे । मैले काठमाडौं एयरपोर्टमा हुँदा गरेको पोस्टमा करिव ५०० कमेन्ट । म्यासेज र कल ट्राइ उस्तै । समाचारको शिर्षक आफु बनिसकेको देख्दा अझ बढी भाबुक बनायो । अहिले म रोमानियाको भास्लुइ सिटि आइपुगेको छु । यो करिब राजधानी बुखारिस्त देखि ४५० किमि टाडा पर्दोरहेछ । रोमानिया यूरोपको मध्यम स्तरको देश रहेछ । राजधानी बुकारिस्त हावैजहाजबाट अवतरण हुँदै गर्दा देखि यहाँ भस्लुइ सिटि आउन्जेल जे जति देखे, देश त्यसै बन्दो रहेनछ भन्ने महसुस भएको छ ।
एयरपोर्टबाट छुटे देखि यहाँ आउन्जेलको यात्रामा आँखाले भ्याएसम्म जमिनमा गहुँ ,मकै र सुर्यमुखि फुल लगायतका बाली देखे । त्यो पनि कतै भर्खर उम्रदै गरेको त्यहि बालि छ, त कतै पाकिसकेको । मान्छे र घर बिरलै स्थानमा देखियो । शहरहरु निश्चित स्थानमा । नेपाल जस्तै हावापानी भएर पनि न जमिन खाली छ ,नत मान्छेको बजार छ ! हामि कत्ति फुर्सदमा छौ ! जमिन बाँझो राखेर अरुको कुरा जोतिरहेको छौ । हाम्रो राजनीतिले, हाम्रो परिवर्तनले सोचेजस्तो परिणाम दिन सकेन ।
मैले मेरो एउटा चौतारी पोस्टको अन्तरवार्तामा भनेको थिए । म बाचुन्जेल सत्ता र शक्तिमा हुनपर्छ र भरसक मर्दा पनि कुर्सी मै मर्न पाउन पर्छ भन्ने आजको गलत राजनीतिक प्रवृत्तिको बिरोधी हो । अर्को कुरा राजनीति समाजलाई सेवा गर्ने साधन हो । यो आफुले समाजको सेवा गर्न सकुन्जेल गर्ने हो । म पार्टी कमिटीको सकृय जिम्मेवबाट मुक्त थिए । यो कुरा सत्य हो । सुरुमा मेरो पार्टी कामको इच्छा हुँदा हुदै जिम्मेवारी बिहीन भए । र जब म फुर्सद भए , रोकिएर हेरे, त्यस पछि मात्र थाहा भयो, म पारिवारिक, आर्थिक हिसाबले कमजोर भएको । । बिस्तारै मैले जनसंगठनबाट पनि बिदा लिए ।
मैले मेरो उर्वर समयमा आफ्नो चेतनाले भ्याएसम्म समाज रुपान्तरणको नेतृत्व गर्ने अवसर पाए । म यसैमा गर्व गर्छु । बद्लामा मैले के पाए, के पाइन यो मेरो महत्वको विषय होइन । तर मेरो यो संघर्ष पुर्ण राजनीति जीवनको निष्कर्ष : सबै नेता हुने, सबै पार्टीले घर–घरमा गएर सबै जनतालाई सदस्यता बनाउने । प्रतिस्पर्धा निर्वाचन जित्नको लागि मात्र गर्नपर्ने । कुनै नविन काम गर्न नपर्ने, उत्पादन, उद्योग, रोजगार सृजना गर्न नपर्ने कुराले देश बन्ने स्थित देखिदैन । तारा प्रसाद जोशी कैलालीको साथमा ।
भास्लुइ सिटि, रोमानिया युरोप