असार २२, २०८२ आईतबार

बिर्तामोडमा महिला उद्यमीहरुलाई मेसिन वितरण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि प्रविधि हस्तान्तरण गरेको छ । आज नगरपालिकामा आयोजना गरेको कार्यक्रमका बीच प्रविधि हस्तान्तरण गरेको हो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत प्रविधि हस्तान्तरण गरिएको सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याग सिलाउने ४ थान मेसिन, इन्टरलक मेसिन ४ थान, पिको मेसिन १ थान र हेवी सिलाई मेसिन ८ थान वितरण गरिएको छ । उद्यमशिलता तालिम लिएका महिलाहरुलाई व्यवसाय सञ्चालनमा स्थानीय तहको तर्फबाट साझेदारीमा सहयोग गरेको तामाङको भनाई छ ।

तालिमपछि व्यवसाय गर्न तत्पर महिला उद्यमीहरुलाई सहयोग गरिएको उनको भनाई छ । उद्यमी महिलाहरुको १ लाख ७ हजार ४८० रुपैयाँ र १ लाख ४० हजार ससर्तबाट र आन्तरिक स्रोतबाट १ लाख ६० हजार रुपैयाँको लागतमा प्रविधि हस्तान्तरण गरिएको हो । महिला उद्यमीहरुलाई ब्याग बनाउने ४५ दिन, सिलाई कटाईको दुई महिना तालिम दिइएको थियो ।

सो अवसरमा भुजिया बनाउने महिलाहरुलाई समेत इलेक्ट्रिक तराजु र प्याकेजिङ मेसिन प्रदान गरिएको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायतले सामग्री हस्तान्तरण गर्नुभएको हो ।
नगर प्रमुख प्रसाईले महिलाहरुको आर्थिक उपार्जनका लागि सहयोग गरेको बताउनुभयो । उहाँले सामान बाढ्नु मात्र ठुलो कुरा नभएको बताउदै त्यसलाई प्रयोगमा ल्याएर आयआर्जन गर्नु, उद्यमी बन्नु ठुलो कुरा भएको बताउनुभयो । नगरपालिकाले महिलाहरुलाई घरघरमा व्यवसायी बन्नका लागि सहयोग गर्दै आएकोले सीप र प्रविधिको अधिकतम सदुपयोग गर्न सूझाव दिनुभयो ।

यस्तै, उपप्रमुख संग्रौलाले स्थानीय सरकारले रोजगारी सिर्जना गर्नलाई सहयोग गरेको बताउनुभयो । उहाँले पालिकाले दिएको सामानको दुरुपयोग भए सामान जफत गरिने धारणा राख्नुभएको थियो । काम नगर्नेको सामान जफत हुनेछ, काम गर्नेलाई सहयोग हुनेछ, उहाँले भन्नुभयो ।

आर्थिक विकास समिति संयोजक संगिता शिवाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडा लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : असार २२, २०८२ आईतबार  १ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]