असार २२, २०८२ आईतबार

‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राससकी भण्डारी सम्मानित

विर्तामोड । नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित हुनुभएको छ ।

आज विर्तामोडमा आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहनुभएकी भण्डारीलाई विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगद रु एक लाखसहित पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको हो ।

सोही अवसरमा नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी चिरञ्जीवी घिमिरे नगद रु २५ हजारसहित सम्मानित हुनुभएको छ । नारी सञ्चारगृहकी अध्यक्ष रेजिना रोजनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मायामितु न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष केशव आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष स्वस्तिका आचार्य नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । सो कार्यक्रममा नारी सञ्चार गृह झापाको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको सङ्गठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ । संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवद्र्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ ।

प्रकाशित मिति : असार २२, २०८२ आईतबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]