एसईई परीक्षामा ४ जीपीए ल्याउने बिर्तामोडका विद्यार्थीलाई नगदसहित सम्मान
बिर्तामोड । बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ ।
नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई आइतवार दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सम्मानित विद्यार्थीहरूमा वडा नं. २ स्थित मोहनमाया माध्यमिक विद्यालयका येलिना तिम्सिना, अनुपमा निरौला, अनुराग लुईटेल र अश्विन लुईटेल, वडा नं. ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयकी विद्या दाहाल, वडा नं. १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेसनका अंकित कटुवाल र हृदय प्रसाद सिवाकोटी, वडा नं. ५ स्थित अनारमनी लिबर्टी स्कुलका सौरभ अग्रवाल र सरोज निरौला रहेका छन् ।
उनीहरूका साथै अभिभावकहरू र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई पनि नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले खादा र टीका लगाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले शिक्षकहरूको मेहनत र अभिभावकको सहयोग कै कारण विद्यालयहरू क्रमशः उत्कृष्ट बन्दै गइरहेको बताउनुभयो । उहाँले सामुदायिक होस् वा संस्थागत भेदभाव नगरी विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कक्षा ८ र एसईईको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले आगामी वर्षमा विद्यालयको शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउने प्रतिबद्धता जनाउँदै नगरपालिकालाई आवश्यक नीतिगत सहयोग गर्न आग्रह गर्नुभयो । सम्मानित विद्यार्थीहरूको तर्फबाट मोहनमाया माध्यमिक विद्यालयकी छात्रा येलिना तिम्सिनाले धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन शिक्षा शाखाकी अधिकृत जानुका रेग्मीले गर्नुभएको थियो भने लासाङ तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।