असार २२, २०८२ आईतबार

कचनकवलको अपाङ्गता पुनःस्थापना कार्यक्रमको समीक्षा

कचनकवल । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ का लागि सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहालले वर्षभरिका गतिविधि र उपलब्धिबारे कार्यपत्र प्रस्तुत गरिन् । कार्यपत्र अनुसार पालिकाले अपाङ्गता रोकथामका लागि नवविवाहित दम्पतीलाई शुभकामना कार्ड वितरण, स्वास्थ्यकर्मी तालिम, नवजात शिशुमा स्क्रिनिङ, जन्मदोष पहिचान, फोलिक एसिड वितरण, र विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ ।

पुनस्र्थापनातर्फ अपाङ्गता भएका व्यक्तिहरूको प्रोफाइल तयार पार्ने, सहायक सामग्री वितरण, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि, सीपमूलक तालिमजस्ता कार्यक्रममार्फत सामाजिक–आर्थिक सशक्तिकरणमा योगदान पुगेको बताइएको छ ।
कोशी प्रदेश सरकार, कचनकवल गाउँपालिका र करुणा फाउन्डेसनबीचको त्रिपक्षीय साझेदारीमा सञ्चालित यस कार्यक्रममार्फत कूल ८१ लाख ९८ हजार रूपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ४८ प्रतिशत खर्च भइसकेको जानकारी दिइएको छ । बाँकी रकम भौतिक प्रगतिका कार्यक्रमहरूमा खर्च गरिनेछ ।

अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ तथ्यांक संकलन, परिचयपत्र वितरण, स्वास्थ्य शिविर तथा घरमै शिक्षा पहुँचजस्ता सेवाहरू पनि प्रभावकारी रूपमा सञ्चालन भएका छन् । ११ महिनाकी आध्या खातुनको सफल शल्यक्रिया र ५ वर्षीया नैश्ता राजवंशीको विद्यालय भर्ना जस्ता सकारात्मक उदाहरणले कार्यक्रम प्रभावकारी रहेको पुष्टि भएको छ ।

यातायात अभाव, तालिमको परम्परागत ढाँचा, बजार व्यवस्थापन समस्यालाई मुख्य चुनौतीका रूपमा उल्लेख गर्दै, मागमा आधारित व्यवसाय प्रवद्र्धन र समन्वय समितिमार्फत समाधान पहल भइरहेको बताइएको छ । कार्यक्रमको सभाध्यक्षता उपाध्यक्ष तथा स्थानीय समन्वय समितिका संयोजक नवराज भट्टराईले गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेल, वडा अध्यक्षहरू लेखनाथ खत्री, चिन्तामणी खरेल, भरत राजवंशी, करुणा फाउण्डेसन नेपालकी पालिका संयोजक अञ्जना लामिछाने, शिक्षा शाखा प्रमुख मनिता बराल, विभिन्न विद्यालयका प्रधानाध्यापक, मिलिजुली समूहका अध्यक्षहरू र अपाङ्गता संघका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : असार २२, २०८२ आईतबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]