बैशाख १४, २०८१ शुक्रबार

वाक विद्वानप्रति शिक्षकको आक्रोस

कृष्णप्रसाद पाठक

शिक्षण पेशा एक इमान्दार र सम्मानित पेशा हो । यस्मा आवद्ध प्राय : शिक्षकहरु आफ्नो जिम्मेवारी र कर्तव्यप्रति अत्यन्त धेरै प्रतिबद्ध हुन्छन् । अहोरात्र आफ्नो कार्यक्षेत्रमा सकृय शिक्षकहरु सामाजिक सम्मानका भोका भए पनि त्यो स्थान न समाज न राष्ट्रले नै दिन सकेको छ । कतिपय अवस्थामा हामी शिक्षकहरु पनि चुकेका छौँ । तर पनि सवल मानसिकतासाथ कार्य गरिरहेकाछौँ । नाफा घाटाको गणितिय हिसाव कहिल्यै गरेनौँ ।


नयाँ नयाँ तरिकाबाट शिक्षण गर्न आधुनिक प्रविधिमा आफूलाई समाहित गराउँदैछौँ । विषयगत तथा पेशागत दक्षता हासिल गर्न तालिम गोष्टि तथा कार्यशालामा सहभागिता जनाइरहेका पनि छौँ । शिक्षकहरु परम्परागत शिक्षण सिकाइमा सुधार ल्याउँदै विद्यार्थी केन्द्रित शिक्षण गर्न अभ्यासरत छन् ।

विद्यालय तथा उच्च शिक्षण संस्थामा आउने विद्यार्थीहरु एकै परिवेशका हुदैनन् । भिन्न भाषा–भेष, रहनसहन, संस्कार–संस्कृति, परम्परा, धर्म, सम्प्रदाय, जातजातिबाट आएका विद्यार्थीहरुलाई समान रुपले शिक्षण सिकाइ गर्नु कम चुनौतिपूर्ण कार्य होइन । देख्दा सजिलो पेशा ठानिय पनि वास्तवमा आम व्यक्तिले सोचे जस्तो सजिलो पनि छैन । संयमता र शालिनता देखाउँदै निरन्तर शिक्षण गर्न आवद्ध शिक्षकहरुका वारेमा समय–समयमा अनर्गल प्रलाप गर्ने कार्य भैरहेकोछ ।

पञ्चायत व्यवस्था देखि दश बर्षे जनयुद्धको समयसम्म आइपुग्दा थुप्रै शिक्षकहरुको विभत्श र कायरतापूर्वक रुपले हत्या भएको छ । कतिले मानसिक तनाव र दवाव झेल्नु पर्ने कारणले पेशा नै त्याग्नु परेको तितो यथार्थ जग जाहेर छ । द्वन्दको बेलामा सबैभन्दा प्रताडित वर्ग नै शिक्षक हो । युद्धरत र राज्य पक्षको दोहोरो मारमा शिक्षक नै परेका थिए । यस्तो विषम परिस्थितिमा पनि आफ्नो कार्यक्षेत्रबाट पिठ फर्काएर भागेनन् शिक्षकहरु । द्वन्दको चरम अवस्थामा विद्यार्थी र विद्यालयको सुरक्षा गर्दै सदरमुकामको सुरक्षा घेराभन्दा टाढा विकट र असुरक्षित गाउँ र ठाउँमा डटेर खटेको एकमात्र वर्ग शिक्षक नै थियो ।

पटक–पटक शिक्षक र शिक्षण पेशालाई नै अपमान गर्दै स्वनामधारी विद्वान भनाउँदाहरुबाट अनर्गल प्रलाप गरेको पाइन्छ । राज्यले दिएका निर्देशनहरुलाई आत्मासाथ गर्नु शिक्षकको धर्म हो । आफूचाहिँ माँखो नमार्ने तर शिक्षकलाई सँधै गाली गर्दै आफ्नो कद छोटो बनाउने विद्वानका वेमौसमका कुतर्क र बाह्रमासे सुझावप्रति मेरो ध्यान तानिएको छ । विभिन्न पत्र–पत्रिका, भेला गोष्टी आदिमा आफ्ना तुच्छ र घिनौना लेख तथा अन्तरवार्ता छापेर आफूलाई शिक्षा क्षेत्रको प्रकाण्ड पण्डित सम्झिने लवस्तराका कारण शिक्षा क्षेत्र वर्वाद, वदनाम र लथालिङ्ग भएको छ ।
विश्व अहिले कोरोनाको कहरबाट गुज्रिरहेको छ । यो त्रासदी अवस्थाबाट हामी पनि अछुतो छैनौँ । गत चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दीले निरन्तरता पाइरहेको छ । खोप तथा औषधीेको अहिलेसम्म अत्तोपत्तो छैन । न त पीसीआर परीक्षण पर्याप्त गर्न सकिएको छ ! सरकार आफ्नै चालमा र हामी जनता भनाउँदाहरु बन्दाबन्दीलाई हर्षोल्लासको रुपमा लिइरहेका छौँ ।
यो त्रासदिपूर्ण अवस्थामा शिक्षक, विद्यार्थी र विद्यालयसँग सरोकार राखेर छलफल भएको कुरा सामाजिक सञ्जाल मार्फत थाहा भएको छ ।

शिक्षकले विद्यालयको पठन–पाठन रहरले बन्द गरेका होइनन् । विश्व लकडाउनको अवस्थामा छ । नेपालमा भने आफूलाई प्रा.डा.र शिक्षाविद लेख्ने केही महापण्डितहरुको अनर्गल राँडो रुवाइ देख्दा हग्नेलाई भन्दा देख्नेलाई लाज भने झै भएको छ । वेमौसमका कुतर्क कुवुद्धि निकाल्दै शैक्षिक क्षेत्रलाई भयावह र आतंकित बनाउने धेयमा महामहिमहरु हात धोएर लागेको देख्दा हातालाई भन्दा जाँतालाई सकसक हो कि जस्तो लाग्न थालेको छ

वार्षिक परीक्षा सकिए लगतैबाट सुरु भएको ीयअपमयधल का बेलामा पनि शिक्षकहरु घरैमा बसेर कपी परीक्षण, प्राप्ताङ्क संकलन, छलफल र नतिजा प्रकाशनको तयारी गर्दै व्यस्त रहे र बैशाखमा नतिजा प्रकाशन पछि गरिने कार्यमा निरन्तर खटेका थिए । आँखाले देखिने यी सबै कार्यप्रति नजरअन्दाज गर्ने प्रयास गरिएको छ ।

दश बर्षे जनयुद्ध अवधिभरी मरिन्छ कि भन्ने डरले थरथरी खुट्टा कमाएर कोठाभित्र सिमित महापण्डितहरु कोरोना कहरमा ढोकाका कापबाट पनि भाइरस छिर्छ कि भनी माक्स लगाउँदै र सेनिटाइजर छर्कदै धुमधुम्ती कोठाभित्र लुकेर बस्ने अनि शिक्षकहरुलाई घर घरमा पठाएर पढाउन लगाउनु पर्छ, शिक्षकले विद्यालय नखोलेकाले बालबच्चामा नकारात्मक असर परेको छ, अभिभावक चिन्तित बनेका छन्, सित्तैमा घर बसेर तलव खाइरहेका छन्, शिक्षक र प्राधापक अहिले सुतेर बसेकाछन् अझ मरेर बसेकाछन् जस्ता भ्रमका खेती लगाइरहेका छन् । यस्ता सस्ता कुरा उरालेर शिक्षकहरुको मनोबल कमजोर बनाउने र अपमान गर्ने अधिकार यी कामचोर ठेकेदारहरुलाई न संविधानले दिएको छ न २०२८ को .( नयाँ त आए पो ) शिक्षा नियमावलीले दिएको छ । त्यसोभए यो रुवाइ र बर्बराहटको नाटक मञ्चनको किन जरुरत ठानियो ?
नामको अगाडि प्रा.डा. वा शिक्षाविद लेख्ने केही अराजक भिडले दुरदराजका कुन कुन विद्यालय,विश्व विद्यालयमा बहाल रहदाको बखतमा वा आफ्नो व्यक्तिगत प्रयास र लगानीबाट आमूल पविर्तन ल्याए ? वहाँ महोदयहरुले जिम्मेवारी पाएका क्याम्पसमा कति दिन जिम्मेवार भएर कक्षा लिए ? कि बर्षौ बर्ष क्याम्पसको मुख नहेरी लाज पचाएर तलव मात्र खाए ? ति क्षेत्रमा कति योगदान दिए ? भरपर्दो कति जनशक्ति उत्पादन गरे ? त्यो जनशक्तिले देशको कुन क्षेत्रको विकासमा इटा थपे ? यी प्रश्नको फेहरिस्त राखेर सुझाव दिएको भए स्वीकार्य हुन सक्थ्यो किनकी गरेर देखाउनेको अनुभव स्वीकार्नु पर्छ ।

शिक्षाका यस्ता धमिरे वाक विद्वानहरुले शिक्षकलाई दुर्वचन बोल्ने कुचेष्ठा गर्नु हुदैन । राज्यमाथि आइ परेका हरेक अप्ठयाराहरुमा खुट्टा थरथरी कमाउदै सुरुवाल विगार्ने हदसम्मका लाज पचेकाले अर्ती उपदेश नदिएकै राम्रो हो ।

शिक्षकहरुलाई मान सम्मान दिन नसक्ने सरकार, पार्टीका नेता,स्थानीय सरकारप्रति पनि मेरो आक्रोस छ । वरियताक्रम, सेवा सुविधाका हकमा समेत शिक्षक शब्द उच्चारण नगर्ने शासकबाट थप के आश गर्न सकिन्छ होला र ! त्यस्मा पनि शिक्षकसँग आबद्ध पेशागत संस्थाहरु त झनै कान नै नसुन्ने र नदेख्ने भएकाछन् । यो यिअपमयधल का बेलामा विभिन्न कोणबाट शिक्षकमाथि भैरहेका आक्रमणका विरुद्धमा चुइँक्कसम्म नबोल्ने शिक्षकका पेशागत संस्थाप्रति पनि खेद प्रकट गर्छु ।

शिक्षकलाई इज्जत गर्न नसक्ने कसैलाई पनि शिक्षकको वेइज्जत गर्ने अधिकार छैन । प्रायः शिक्षकहरु कसैको निगाह र दया मायामा नियुक्त नभएर आफ्नो योग्यता र क्षमतामा विश्वास गरेर शिक्षण संस्थामा प्रवेश गरेका हुन् । त्यसैले यो अनर्गल प्रलाप गर्नुको सट्टा कार्य क्षेत्रमा जुटेर काम गरेर देखाउ होइन भने पागल जस्तै बर्बराउन बन्द गर ।

अब त शिक्षाविद भनाउदाका कटु शब्दहरुको प्रयोगमा शंका उत्पन्न भएकोछ । कतै जति धेरै शिक्षकको विरोधमा उफ्रियो त्यति नै धेरै पारिश्रमिक÷भत्ता पाउँछन् र उफ्रिएका हुन् कि ! नभए महामहिमहरुको के विगारेका छन् शिक्षकहरुले ? शिक्षक मर्दा श्रद्धा–सुमन व्यक्त गर्न त कहाँ हो कहाँ उल्टै मरेको शिक्षकलाई पनि छोडेनन् गाली गर्न । कति अराजक र अमानविय सोचको विकास भएछ शिक्षाविद भनाउँदाहरुमा । मलाई त लाग्न थाल्यो यिनीहरुले पनि महाराजले लगाएको पारदर्शी रेशमी कपडा लगाएर गाउँ चोक घुमे जस्तै गर्दैछन् वेसरमहरु !
हामी शिक्षकहरु विद्यालय खोलेर पठनपाठन गर्न गराउन तयार छौँ तर त्यसबाट उत्पन्न हुने विकराल अवस्थाको जिम्मेवारी यी वाक विद्वानहरुले लिन्छन् त ?

भाइरसबाट सिर्जित यो परिस्थितिका कारण प्रायः शिक्षकहरु चिन्तित छन् । प्रधानाध्यापकलाई फोन गरेर अब पठनपाठन कसरी सञ्चालन गर्ने, पढाई सबै वर्वात भयो, पाठ्यपुस्तक कसरी वितरण गर्ने चिन्ता व्यक्त गरिरहेकाछन् । भौतिक दुरी कायम राख्दै सकेसम्मको कार्य विद्यालयमा भैरहेकाछन् । अभिमान र घमण्डले धमिलिएका आँखाले अनि कहाँ देख्न सक्नु पीडा र चिन्ता ।

आफूले दिएका सल्लाह सुझावको पनि मूल्य असुल्नेहरुले शिक्षकले घर बसेरै सुविधा लिएकाछन् भन्ने दुस्प्रचार किन गर्नु ? स्याल बहुलाए पछि सहर पस्छ रे हो कि क्या हो !?
ल हामी शिक्षकहरु, महान विचारक विद्वानहरुको कुरा मान्न पनि तयार छौँ । जाउँ कोरोना संक्रमितको संख्या जहाँ बढी छ त्यही गएर पठनपाठन सुरु गरौँ तर महामहिमहरु अगाडि लाग्नु पर्यो हामी जस्तै खट्नु पर्यो । शिक्षक समस्यासँग डराएर भाग्दैन बरु सामना गर्छ त्यो हिम्मत र साहस छ महामहिमसँग ? कोठे केही विद्वानहरुलाई मेरो प्रश्न छ । हैन भने हामी हाम्रो जिम्मेवारी पूर्ण रुपले बहन गर्न सक्षम छौँ । हामीलाई तिम्रा बोक्रे सल्लाह सुझावको आवश्यकता छैन र हामी तिम्रा रैती पनि होइनौँ आदेश जस्तो देखिने कुतर्क पस्किनु पर्दैन । महाविर पुन, अनुराधा कोइराला, कुलमान घिसिङ जस्ता होनाहार नेपालीहरुले जस्तै कम बोलेर धेरै काम गरेर देखाउ तब हामी तिमीलाई शिक्षाविद भनेर सलाम ठोक्छौँ !

(लेखक: झापाको दुर्गा मा.वि. गरामनीका प्रधानाध्यापक हुनुहुन्छ ।)

प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]