बैशाख १४, २०८१ शुक्रबार

‘होटल क्वारेन्टाइन’मा आमाको काजकिरिया

काँकडभिट्टा – अर्जुनधारा–५ लक्ष्मीपुरमा आमा बितिन् । खबर पाएसँगै पश्चिम भारतको दामनमा रहेका छोराहरू नरेन्द्र थापा, नरबहादुर र बुहारी तारादेवीले नेपाल फर्किन हतारहतार जहाजको टिकट काटे ।

सिक्किममा रहेको कान्छा भाइ आमा बितेकै रात घर पुगे । पहिला त उनलाई पनि गाउँलेले घर छिर्न दिएका थिएनन् । तर, स्थानीय जनप्रतिनिधिको पहलमा चर्को विरोधका बावजुद आमाको किरिया बस्न पाए ।

भारतमा रहेका दुई दाजु र भाउजूलाई कान्छा भाइले फोनमा भने, ‘गाउँलेले गाउँ पस्न दिने अवस्था छैन, तपाईंहरू त्यतै बसेर काजकिरिया गर्नुहोला ।’ तर, जहाजको टिकट काटिसकेका कारण ‘क्यान्सिल’ भएन । नरेन्द्र, भाइ र बुहारी जे पर्ला भन्दै जहाज चढेर ३० गते भारतको बागडोराबाट काँकडभिट्टा आइपुगे ।

गाउँलेले विरोध गर्ने डर थियो । सँगै क्वारेन्टाइनमा बसेर आमाको काजकिरिया गर्ने अवस्थामा पनि थिएनन् । अन्ततः मेचीनगरका जनप्रतिनिधिहरूको सल्लाहमा काँकडभिट्टाकै रजत होटलमा क्वारेन्टाइन बनाएर बसे । त्यही होटलको एउटा साँघुरो कोठामा आमाको काजकिरिया गरिरहेका छन् । ‘भारतमै बसेर काजकिरिया गर्दा पनि हुने थियो’, भारतको एक औषधि कम्पनीमा कार्यरत नरेन्द्रले गुनासो पोखे, ‘प्लेनको टिकट काटिसकेका कारण आफ्नै देशमा आइपुग्दा पनि घर पुगेर आमाको किरिया गर्न पाइएन ।’

बिहान स्थानीय एक पुरोहित होटलमा आउँछन् । धार्मिक विधि गराउँछन् । नुहाइधुवाइपछि आफैं खाना पकाएर खान्छन् । ती पुरोहितले भने, ‘घरमा भाइले पिण्डदान गर्छन्, होटलमा उहाँहरूले अन्य विधि गर्नुहुन्छ ।’ नरेन्द्रसहित तीनै जनाको स्वाब परीक्षणका लागि लगिएको छ । नेगेटिभ आउने कुरामा उनी ढुक्क छन् । नरेन्द्रले रिपोर्ट नेगेटिभ आए १३ दिनको कामचाहिँ घरमै गर्ने वातावरण मिलाइदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार ४, २०७७ बिहीबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]