झापामा ‘होटल क्वारेन्टाइन’
काँकडभिट्टा – मेचीनगर ६ का विकास राई भारतको चेन्नाईबाट एक साताअघि घर फिरेका थिए । परिवारसहित आएका उनी सरकारले बनाएको क्वारेन्टाइनमा बसेनन् । घर पनि गएका छैनन् । उनी क्वारेन्टाइन र घर नगई ‘होटल क्वारेन्टाइन’मा बसेका छन् ।

सानो बच्चाका कारण क्वारेन्टाइन बस्न गाह्रो भयो’, स्थानीय रजत होटलले बनाएको क्वारेन्टाइनमा बसेका विकासले सुनाए,‘होटलको एउटा कोठा १४ दिनका लागि बुक गरेका छौं, आनन्द छ ।’
सरकारी क्वारेन्टाइनहरु कोरोना संक्रमणको केन्द्र बन्न थालेपछि विशेषतस् भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनको बदला विभिन्न बहानामा होटल बुक गर्दै बस्न थालेका छन् । भारतको वागडोगराबाट आएका अनुराग राना पनि तीन दिनदेखि होटलमै छन् । ‘क्वारेन्टाइन अव्यवस्थित छ, रोग फैलिन्छ भन्ने कुरा सुनेर होटलमै बसेको’, रानाले भने ।
सीमान्त सहर काँकडभिट्टाका ६ वटा होटलहरुले क्वारेन्टाइन बनाएरै भारतबाट आएकाहरु राखिरहेका छन् । होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मेचीनगर नगरपालिकाले समेत स्वीकृति दिएको छ । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठका अनुसार नगरपालिकाले स्थानीय रोयल आसाम, रजत, झापाली गेस्ट हाउस, कामना गेस्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न स्वीकृति दिएको हो ।
होटल क्वारेन्टाइनमा बस्नेहरुले होटलले तोकेको शूल्क तिर्नु पर्ने हुन्छ । एउटा कोठाको दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म होटलले लिने गरेका छन् । श्रेष्ठका अनुसार होटलहरुमा भारतबाट आएका २२ जना यात्रीहरु बसेका छन् ।
मेचीनगरका मेयर विमल आचार्यले कोरोना भाइरसको महामारीले गर्दा सीमा नाकामा आवत–जावत गर्न यात्रुहरुलाई सकस छ । त्यही भएर सरकारले तोकेको मापदण्डअनुसार होटललाई क्वारेन्टाइन पनि चलाउने स्वीकृति दिइएको जनाए । उनले भने,‘होटल क्वारेन्टाइनको व्यवस्थापन र अनुगमन जिम्मेवारी वडा कार्यालयलाई दिइएको छ ।’
वडा नम्वर ६ का वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार होटल क्वारेन्टाइनमा यात्रीको रेकर्ड राख्ने, भौतिक दूरी कायम गराउने, स्यानिटाइजर प्रयोग गर्ने, व्यवस्थापनलाई चुस्त बनाउने निर्देशन गरिएको जनाए ।