स्वास्थ्य बीमा बोर्डद्वारा बिएण्डसीको निरीक्षण, आइबारबाट बिमितहरुको उपचार गर्ने सहमति
बिर्तामोड । स्वास्थ्य बीमा बोर्ड प्रदेश १ को कार्यलयले बिएण्डसी अस्पतालको निरीक्षण गरेको छ । बिमितको उपचार रोकेको सूचनापछि प्रदेश कार्यालयका प्रमुख दुर्गा प्रसाद आचार्यको टोलीले आज अस्पतालको निरीक्षण गरेको हो ।
भुक्तानी बाँकी रहेको सूचना टाँसेर अस्पतालले सेवा रोकेको एकदिन पछि प्रदेशले निरीक्षण गरेको छ । अस्पताल पुगेको टोलीले सेवा सुचारु भएको जनाएको छ । प्रदेश प्रमुख आचार्यले बिएण्डसीले स्वास्थ्य बीमा गर्नेहरुको उपचार गरिरहेको जानकारी दिए । उनले उपचार निरन्तर गरिरहेको इजलाससित बताए । अस्पतालमा सेवा रोकेको देखिएन, सूचनाबारे उनले अनविज्ञता प्रकट गरे । उनका अनुसार आज शनिवार ओपीडी बन्द भएकाले सेवा बन्द रहेछ, भोलीबाट सेवा निरन्तर अघि बढ्छ ।

अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले अस्पताललाई दिन बाँकी रहेको भुक्तानी तत्कालै गर्ने सहमतिपछि भोलीबाट औषधिसहितको बिमितहरुको उपचार शुरु गर्ने जानकारी दिए । उनले उपचार नै नरोकेको बताए । औषधि अभाव भएको बताउँदै गिरीले भोलीबाट बिमितहरुको उपचार प्रक्रियाअघि बढ्ने जानकारी दिए ।
शुक्रवार व्यानरमा लेखिएको सूचनालाई प्रदेशको टोलीले आधिकारिक नमानेको बुझिएको छ । सूचना राखे पनि अस्पतालले समेत जिम्मेवार जवाफ दिएको छैन । व्यानरमा सेवा रोकेको भनेपनि अस्पताल प्रशासनले औषधि अभाव मात्र भएको तर उपचार सेवा नरोकेको जनाएको छ ।