चैत्र १६, २०८० शुक्रबार

रुकुम सोती घटना : २३ जना जेल चलान

सुर्खेत । जाजरकोट रानागाउँका नवराज विकसहित छ जना युवकको सामूहिक हत्याका आरोपी २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले बुधबार यस्तो आदेश गरेको हो ।

सोतीगाउँ सामूहिक हत्याको घटनामा संलग्नताका आरोपीमध्ये २३ जनालाई पुर्पक्षका क्रममा थुनामा पठाउन आदेश भएको स्रेस्तेदार कीर्तबहादुर बोहराले बताउनुभयो । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित डिल्ली मल्ल, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, हर्क मल्ल लगायतलाई थुनामा पठाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आरोपीमध्येका इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र जीतेन्द्र चन्दलाई साधारण तारेखमा छाड्ने आदेश भएको छ भने केटीका आमालाई एक लाख रुपियाँ धरौटीमा छाड्ने आदेश भएको छ । असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको थियो ।

जाहेरीवालाहरूको तर्फबाट पाँच जना सरकारी वकिल र २० जना कानुन व्यवसायीसहित २५ जना र प्रतिवादीका तर्फबाट सात जना कानुन व्यवसायीले बहस पैरवी गर्नुभएको थियो । यसअघि असार १ गते १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो ।

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँका एक किशोरीलाई भगाएर ल्याउन गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २४ वर्षीय नवराज विकसहित छ जना युवकलाई कुटपिट गरी भेरी नदीमा फालेका थिए । त्यस घटनामा ३४ जनाउपर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूतको मुद्दा दायर भएको थियो । त्यस मुद्दाका पाँच जना आरोपी अझै फरार छन् ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]