बैशाख १५, २०८१ शनिबार

हल्दिवारीमा बहुमतको दम्भ !

सम्पादकीय –

झापाको हल्दिवारी कामका हिसावले चर्चामा आइरहन्छ । कामले चर्चामा आइरहने हल्दिवारीले यो पटक गाउँसभालाई पनि चर्चामा ल्यायो । सभा चलिरहेकै बेला अध्यक्षसहित केहि सभा सदस्यले बहिस्कार नै गरे । त्यसको मुख्य कारण एउटा सडकको नामाकरण थियो । सडकको नाममा पक्ष विपक्ष हुनु स्वभाविक नै छ । तर, नामकै कारण सभालाई नै बहिस्कार गर्नु गलत थियो । एक पक्षले एटा नाम ल्यायो । अर्को पक्षले अर्को नाम । दुवै पक्षले नाम ल्याएपछि छलफलबाटै निकास जरुरी थियो । समस्यालाई भागेर भन्दा पनि छलफलबाट टुङ्गो लगाउनु बुद्धिमानी हुने थियो । गाउँसभामा संख्यात्मक अल्पमतमा रहेका अध्यक्षले भावनात्मक बहुमत बनाउन सक्नु पथ्र्याे । तर, त्यस्तो हुन सकेन ।

हल्दिवारीको बाचा, झापाभरी माछा कार्यक्रमले हल्दिवारीको उचाई बढेको थियो । स्थानीय तहमध्ये दशेभर राम्रै चर्चा कमाइरहेको हल्दिवारीले आफ्नो उचाई फेरि घटाएको छ । नेकपाको बहुमत छ । नेकपालाई बहुमतको दम्भ पक्कै छ । तर, अध्यक्षले अहिलेसम्म बहुमतको पेलानमा परेको र त्यसबाट गाउँपालिका प्रभावित भएको अभिव्यक्ति कतै दिएका थिएनन् । जब, बाटोको नामाकरणमा समस्या शुरु भयो तब अध्यक्षले सभा बाहिर निस्किएर बहुमतको कुरा उठाए । यदि अध्यक्षमाथि बहुमतकै कारण निस्तेज गर्ने काम भइरहेको छ भने नेकपाले त्यो कदमलाई सच्याउन अपरिहार्य छ ।

बुधबारको घटनालाई धेरै कोणबाट चर्चा गरिएको छ । राजनीतिक धारबाट टिकाटिप्पणी गरिएका छन् । हुलहुज्जत गरेर हल्दिवारीबासीको सम्पत्ति गाउँपालिकामा तोडफोड गर्ने काम भएको छ । तोडफोडले नेतृत्वमाथि प्रश्न उठाएको छ । गाउँपालिकाले राम्रै काम गर्दा त्यसको श्रेय बहुमतवालालाई जाने होइन । त्यसको श्रेय अध्यक्षसहित नेतृत्वमाथि नै जाने हो । सभामा भएको घटनाको भिडियो पनि बाहिर आएको छ । घटनामा संलग्न जो कोहि कारवाहीको दायरामा ल्याइनुपर्छ । बहुमतवालालाई छुट र अल्पमतवालालाई कारवाही गर्न हुदैन । दुवै पक्षले उश्रृङ्खल गतिविधिमा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।

बिर्तामोडबाट हल्दिवारीको सिसा फुटाउन जानेहरु कोको थिए ? त्यसको खोजी गाउँपालिकाले गर्नुपर्छ । अध्यक्षले भनेजस्तै, उनीमाथि हातपात भएको हो भने उन्मुक्ति दिन मिल्दैन । अब गाउँपालिकाभित्र झैझगडा गरेर होइन मेलमिलापको वातावरण तयार गरेर समस्या सुल्झाउन तिर ध्यान दिऊ । अल्पमतको पीडाले कोहि छट्पटाउनु हुदैन, बहुमतको दम्भले उत्पात गर्न मिल्दैन ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]