झापाका नौ स्थानीय तह बाढीको जोखिममा, डुबेर बालकको मृत्यु
झापा । झापाको कनकाई, कमल र बनियानीसहित नदीमा पानीको सतह बढ्न थालेको छ । झापाका नदी नालामा पानीको सतह बढेपछि जिल्लाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।

जिल्लाको शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका लगायत झापा, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गाँउपालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् । त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको उनले बताए ।
‘सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र बाढीको उच्च जोखिममा रहेको छ’, सभापती ढकालले भने । कनकाई, रतुवा, बिरिङ्ग मेची, कमल, बनियानी, टाङ्टिङलगायतका खोला तथा नदीबाट सतर्क रहन उनले झापा बासीलाई आग्रह गरको छन् ।
बाढी आएका बेला नदीको तटिय क्षेत्रमा नजान पनि उनले प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरेका छन् । पुर्वी पहाडी भेगमा निरन्तर बर्षा भएपछि झापाका नदीनालामा पानीको सतह बढेर बाढी आउने गरेको छ ।
जिल्ला विपत पूर्वतयारी प्रतिकार्य योजना अन्तर्गत बाढीबाट प्रभावित बनेकाको खोज, उद्धार तथा राहातका योजना तयार गरेर बिपद् व्यवस्थापन समितिमा पेस गरिएको सभापती ढकालले बताए । झापामा २८ वटा साना ठुला नदी भएपनि ८ वटा नदीमा आउने बाढीबाट अधिकतम जोगिनुपर्ने सभापती ढकालले बताएका छन् ।
खोज तथा उद्धार गर्नका लागि श्रोत साधनको क्षमताका बारेमा पनि समितिलाई विश्लेषण सहितको योजना पेस गरिएको छ । प्रभावित क्षेत्रका पालिकाले कम्तिमा १ सय परिवारका लागि गैह्र खाद्यका बस्तु तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।
बाढीको पूर्वानुमान अन्तर्गत मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक सतर्कता अपनाउनु पर्ने बताइएको छ । यसका लागि उद्धार टोली तयारी अवस्थामा रहेको उनले बताए ।
यस्तै, पानीमा डुबेर झापाको शिवसताक्षीमा तीन वर्षीय बालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ८ का मिलन विष्टका तीन वर्षीय छोराको शुक्रबार दिउँसो पानीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।